Share to:

डीआराजी सुमन/गुल्मी, बैशाख ८,

मुलुकमा गर्मीयाम सुरू भएलगत्तै गुल्मीमा आगलागीका घटना बढिरहेका छन्। पछिल्लो समय जिल्लाभरका सामुदायिक र सरकारी वनमा आगलागीका घटना बढिरहेको प्रहरीले जनाएको छ। केही दिन अगाडि आगो निभाउने क्रममा लडेर १ जनाको मृत्यु समेत भएको थियो। त्यस्तै शुक्रबार साँझ गुल्मी दरबार गाउँपालिका- ४ बिरबासको एक सामुदायिक वनमा आगलागी भएको थियो। तर, सामुदायिक वनमा लागेको आगो अनियन्त्रित भइ विद्युतको सब स्टेसनसम्म पुग्दा करोडौंको क्षति भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ। मुसिकोट नगरपालिका वडानम्बर–१ तल्लो पौदी स्थित सर्बोदय माविको जग्गाको सल्लाघारीमा आगलागी भएको थियो। उक्त सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तिको मृत्यु भएको प्रहरीले जनाएको छ। आगोमा परेर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सब–स्टेसन परिसरमा रहेका तारहरु जलेर नष्ट भएको र जसमा करोड माथिको क्षति भएको अनुमान गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयसहित दमकल पुगेर आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) शंकर पोखरेलले जानकारी दिए। एकपटक निभाइसकेका ठाउँमा पनि पुनः आगलागी हुने गरेको प्रहरीले जनाएको छ। पाखो तथा खरबारीमा राम्रो घाँस पलाउने आशामा स्थानीयले आफैँ आगो लगाउने गरेका छन् भने खेतबारीमा बर्खेबाली लगाउनुअघि स्याउला,पात पतिङ्गर पोल्ने जस्ता गतिविधिका कारण आगलागी भइरहेको डीएसपी पोखरेलले बताए।

Like