अन्य थपदेशप्रदेश-१मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

इलामवासीको सीमा सुरक्षादेखि बाँदर नियन्त्रण सम्म गृहमन्त्री समक्ष माग

Share to:

रासंसा/इलाम, चैत्र १८,

मुलुकमा इलामका बासिन्दाले सीमा सुरक्षादेखि बाँदरले किसानलाई दिइरहेको दुःखसम्मका गुनासा संघीय सरकारसँग पोखेका छन्। इलाम आएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग स्थानीयले भारतीय सीमा क्षेत्रमा भइरहेको दशगजा अतिक्रमण, किसानका समस्या र लागु औषध अनियन्त्रित हुँदै गएको भन्दै दर्जनौँ समस्या राखेका हुन्। इलाम नगरका प्रवक्ता नुतनदेव दुलालले कृषि र पर्यटन इलामको मेरुदण्ड भएपनि यहाँको गुणस्तरीय चिया र दूध विक्रीमा समस्या भइरहेको बताए। इलाम नगरपालिकाका मेयर केदार थापाले इलाम अहिले लागु औषधको भयावह जोखिममा फसिरहेको बताए। उनले लागु औषधको प्रयोग जटिल भइरहेको भन्दै नियन्त्रण आवश्यक रहेको जनाए। उनले भारत निर्यात हुने कृषिजन्य वस्तुलाई क्वारेन्टाइन बहानामा रोक्न नहुने भन्दै भारतबाट आयात भइरहेको गुणस्तरहीन कृषि उपज नियन्त्रण गर्न आग्रह गरे। ‘नगरपालिकाले चीनमा चिया बेच्न सहजताको प्रयास गरिरहेको छ,’ उनले भने, ‘गृहले नगरलाई आवश्यक सहयोग गरोस्।’ यहाँको चिया भारतले भारतकै उत्पादन भन्दै विश्व बजारमा लगिरहेको भन्दै उनले यसमा संघीय सरकारले ध्यान दिनुपर्ने बताए। महिला अगुवा रीना घिमिरेले सुन्दर इलाम जीर्ण मेची राजमार्गका कारण कुरूप भएको गुनासो गरिन्। ‘मेची राजमार्गको अवस्था जीर्ण छ,’ उनले भनिन्, ‘बाँदरलगायत जंगली जनावरको आतंकले किसान मारमा छन्, सरकारले हेर्नुपर्छ।’ स्थानीय हुकुम थेबेले सीमा क्षेत्रका प्रहरी चौकी भवन जीर्ण भएको बताए। थोरै संख्याका प्रहरी चौकीमा जनशक्ति अभाव भएको, सीमा क्षेत्रका नागरिक भारतीय बजारमा आश्रित हुनुपर्ने समस्या राखे। उनले एक बोरा चामल र एक किलो चिनी ल्याउन पनि सुरक्षाकर्मीबाटै झन्झट दिइने गरेको बताए। स्थानीय छिकिन तामाङले सम्पूर्ण उत्पीडित क्षेत्र/वर्गले न्याय पाउनुपर्ने भन्दै उत्पीडितले सहेकै कारण देशमा शान्ति भएको बताए। ‘एकले अर्काको सहअस्तित्व स्विकार्न सक्नुपर्छ,’ उनले भने, ‘हाम्रो संविधान अपुरो छ, संशोधन गर्नुपर्छ।’ स्थानीयको जिज्ञासामा उपप्रधान तथा गृहमन्त्री लामिछानेले साझा एजेन्डामा सबै एक हुनुपर्ने बताए। ‘सामाजिक न्याय, पूर्वाधार विकास, समृद्धिजस्ता मुद्दा साझा हुन्, यसमा दलीय खिचातानी हुन हुँदैन,’ उनले भने, ‘यति धेरै समस्या र माग लिएर हामी धेरै वर्षदेखि दौडिरहेका छौं। विगतमा कामै भएन कि प्राथमिकताअनुसार भएन भन्ने गम्भीर समीक्षा गरौँ।’ होटल व्यवसायी देवी पौड्यालले बाहिरबाट आउने पर्यटकलाई भारतीय रुपैयाँ २५ हजार मात्र ल्याउन पाउने नियम हटाउन माग गरे। ‘भारतीय पर्यटकले यहाँ आएर खर्च गर्छु भन्दा पनि नपाउने सरकारी नीतिले होटल व्यवसाय कसरी उँभो लाग्छ ?’ उनले भने, ‘काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटक आउने वातावरण बनोस्। कोभिडभन्दा पहिला खुला थियो। अचेल किन बन्द भएको हो ?’ उनले नागरिकले दुःख पाउने र तस्करले फाइदा लिने विगतको अभ्यास अब नसहने पनि बताए। ‘नागरिकको सुरक्षा र तस्करी नियन्त्रणमा हामी गम्भीर छौं,’ उनले भने, ‘आत्महत्या र लागु औषधको समस्या इलामको ठूलो समस्या छ, यसको समाधानबारे सुरक्षा निकायसँग छलफल भएको छ।’ उनले सीमा क्षेत्रको समस्याबारे पनि भारतीय राजदूतसँग छलफल भएको बताए।

Like