डा. शेखर कोइरालाको भनाई प्रधानमन्त्री नै रवि जोगाउने प्रपञ्चमा लागे
रासंसा/काठमाण्डौ, चैत्र ८,
मुलुकमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा गृहमन्त्रीका विषयमा बोलेका कुरामा कुने सत्यता नभएको बताएका छन्। ‘कांग्रेसलाई दोष दिएर माओवादीले बनाएको यो नयाँ गठबन्धनले कुन धारमा टेकेर के के गर्छ त्यो हेर्दै जाँउ न, केही समयमा यो आफै नाङ्गिने छ’ नेता कोइरालाले भने। गृहमन्त्री रवि लामिछानेलाई जोगाउने प्रपञ्चमा लागी प्रधानमन्त्रीले झुटो कुरा सदनमा गरेको नेता कोइरालाले बताएका हुन। नेपाली कांग्रेसका स्व.नेता गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवसको अवसरमा बुधबार बुटवलमा जिपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवन शिलान्यास गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन। राजनीतिमा नैतिकताको खडेरी परेको भन्दै उनले गृहमन्त्री लामिछानेले राजीनामा दिनु पर्नेमा जोड दिए। विवादमा तानिएपछि यसअघि धेरै नेताहरुले पद त्यागेको स्मरण गर्दै उनले गृहमन्त्रीबाट राजीनामा दिएर सहकारी घोटालाको अनुसन्धानलाई सघाउनु पर्ने बताए। नेता कोइरालाले प्रधानमन्त्री दाहालले टिआरसीलाई राजनीतिक लेनदेनको विषय बनाएको आरोप पनि लगाए। सत्ताको मोलमोलाइले टिआरसी नटुङ्गिने भन्दै उनले पीडितलाई नजरअन्दाज गर्न नसकिने र अन्तर्राष्ट्रिय समुदायले उठाएका सवालको पनि सम्बोधन गरिनु पर्नेमा जाेड दिए। नेता कोइरालाले कृष्णबहादुर महरा पक्राउ परेकै दिन सुनकाण्डका अन्य दोषीलाई धरौटीमा छाडिनु रहस्यमय रहेको पनि बताए।
