रुस-युक्रेन युद्धमा थप १५ नेपालीको मृत्यु परिवारका सदस्यको ‘डीएनए’ नमुना पठाइदिन रुसको ताकेता

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ७,

मुलुकमा रुसी सेनामा भर्ती भएका थप १५ नेपालीको मृत्यु भएको छ । मृत्यु भएका ती नेपाली नागरिकको शव पहिचान र ‘जेनेटिक टेस्टिङ’ का लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन रुसले नेपाल सरकारलाई आग्रह गरेको छ । मृत्यु भएका ती १५ जना पाँच महिनायता परिवारको सम्पर्कमा थिएनन् । रुस सरकारले फागुन २३ मा नेपाल दूतावासलाई पत्र पठाउँदै डीएनए नमुना पठाइदिन अनुरोध गरेको हो । ‘रुसी सेनामा कार्यरत नेपाली नागरिक भनिएकाको शवको पहिचानका लागि निज परिवारका सदस्यहरूलाई सम्पर्क गरी निजको आइडेन्टिफिकेसन मार्क एवं जेनेटिक टेस्टिङका लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना उपलब्ध गराइदिन रुसी परराष्ट्र मन्त्रालयको पत्रमार्फत अनुरोध भएको छ,’ मस्कोस्थित नेपाली दूतावासद्वारा कन्सुलर विभागमा पठाइएको पत्रमा उल्लेख छ । रुस सरकारले आधिकारिक मृत्यु प्रमाणपत्र जारी नगरेसम्म परराष्ट्र मन्त्रालयले मृत्यु हुने नेपालीको पहिचान पुष्टि गर्ने गरेको छैन । परराष्ट्रले यसअघि १७ जनाको मात्र मृत्युको आधिकारिक पुष्टि गरेको छ । पहिचान नभएका यी १५ सहित रुस–युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या ३२ पुगेको छ । डीएनए परीक्षणका लागि १५ परिवारका सदस्यलाई कन्सुलर विभागले सम्पर्क गरिसकेको छ । रुसले तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुन मगर र अभिषेक बुढा, बाँकेका चन्द्रबहादुर बीसी, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बीसी, खोटाङका क्षितिज बस्नेत, प्यूठानका सोमेश सुनुवार र विकास राई, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङका परिवारको डीएनए नमुना पठाइदिन पत्र प्राप्त भएको हो । रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न गएकामध्ये कम्तीमा ९६ जना परिवारको सम्पर्कमा छैनन् । उनीहरूका परिवारले खोजीका लागि भन्दै कन्सुलर विभागमा निवेदन दिइसकेका थिए । डीएनए नमुना पठाइदिन पत्र पठाइएकामध्ये दाङका जितबहादुर पुन मगर र ओखलढुंगाका खोमबहादुर भुजेलका परिवारले कुशको शव बनाई दाहसंस्कार गरिसकेका छन् । रुसले शव पहिचानका लागि डीएनए माग गरेकाको सूचीमा रहेका मकवानपुरका विजयबहादुर थोकर पाँच महिनादेखि परिवारको सम्पर्कमा थिएनन् । श्रीमती हरिमायाका अनुसार विजयसँग पछिल्लो पटक कात्तिक ६ मा सम्पर्क भएको थियो । ‘रेड जोनमा जानुअघि म एक हप्ता सम्पर्कमा नआउन सक्छु भन्नुभएको थियो,’ हरिमायाले भनिन्, ‘अहिले एक्कासि डीएनएको नमुना पठाउनुपर्ने भयो भनेर कन्सुलर विभागबाट फोन आएको छ ।’ काठमाडौंमा घर बनाउने काम गर्दै आइरहेका थोकर ८ लाख रुपैयाँ खर्च गरेर रुस पुगेका थिए । क्षितिजकै टोलीमा रहेका धनुषाका विमलकुमार गजमेरको परिवारसँग पनि रुसले डीएनए नमुना मागेको छ । यो टोलीमा ७ नेपाली र दुई इजिप्सियन गरी ९ जनाको टोली रेड जोन पुगेका थिए । विमलकुमारका दाजु पवनका अनुसार दुईबीच असोज २४ मा अन्तिम संवाद भएको थियो । त्यस्तै, भदौ २८ मा रुस पुगेका सतातेल, खोटाङका ३४ वर्षीय क्षितिज बस्नेतसँग श्रीमती अञ्जलीको अन्तिम सम्पर्क कात्तिक २ मा भएको थियो । चार वर्षदेखि दुबईमा सेक्युरिटी गार्ड रहेका क्षितिज यूएईबाटै रुस गएका थिए । ‘युक्रेनको लुहान्स जानुअघि कात्तिक २ बिहान ८ः४७ मा म्यासेज पठाउनुभएको रहेछ । हामी एक–डेढ महिना जंगलमा हुन्छौँ भन्नुभएको थियो,’ उनले भने, ‘त्यसपछि सम्पर्कमै आउनुभएन ।’ गैरआवासीय नेपाली संघ रुसका अध्यक्ष केशव तिमल्सिनाका अनुसार रुस–युक्रेन युद्धमा मारिएकाको शव रोस्तोभ सहरमा संकलन भइरहेको छ । ‘रोस्तोभमा ल्याएपछि पहिचान गर्न डीएनए परीक्षण हुन्छ,’ तिमल्सिनाले भने, ‘रुसी सेनाले रुसको जुनसुकै ठाउँसम्म शव लगिदिन्छ । यदि परिवारले नेपालमा नै ल्याउन इच्छुक भए अनुमति छ । तर, रुसबाट आफ्नो घरसम्म लैजाने खर्च परिवार आफैंले व्यहोर्नुपर्छ ।’ रुसी सेनामा रहेका नेपालीका अनुसार कम्तीमा ७ सय नेपालीलाई रुस–युक्रेन बोर्डरमा खटाइएको छ । रेड जोनमा कति नेपाली मारिए र कति घाइते भए भन्ने यकिन विवरण नेपाल सरकारसँग छैन । रेड जोनमा खटिएर सम्पर्कमा आएका जसले पनि आफ्ना अगाडि साथीहरू मारिएको विवरण भने दिइरहेका छन् । रुसी सेनामा भर्ना भएका नेपालीको स्वदेश फिर्ता र उद्धार समयमै हुन नसक्दा बेपत्ता हुने र मृत्यु हुने संख्या बढिरहेको छ । सरकारले रुसी पक्षसँग नियमित संवाद जारी राखे पनि नेपालीले रुसी सेनासँग गरेको करार रद्द गर्न सकेको छैन । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार प्रतिनिधि सभामा बोल्दै रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको बताएका थिए । नेपाल सरकारले तेस्रो पटक रुसलाई कूटनीति नोट पठाइसकेको छ । कूटनीतिक नोटको जवाफ नदिएको रुसलाई नेपालले फेरि रुसी सेनामा भर्ती भएका नेपालीको अवस्था, क्षतिपूर्ति र उनीहरूलाई फिर्ता ल्याउने सन्दर्भ उल्लेख गर्दै पत्राचार गरेको हो । तर रुसका तर्फबाट नेपालको माग सम्बोधन भएको छैन । रुसी सेनामा भर्ती भएकाहरूको जीवन सुरक्षाका लागि सचेतना अभियानकी संयोजक कृति भण्डारीले २७२ जना लामो समयदेखि परिवारको सम्पर्क नभएको बताइन् । भण्डारीले रुसमा भर्ती भएकाका परिवारलाई समयमा सूचना उपलब्ध गराउनुका साथै परिवारसँगको सहजीकरण गर्न सरकारी निकायले बेवास्ता गरिरहेको गुनासो गरिन् । ‘हामीले रुसी सेनामा जोडिएका परिवारसँग सिधा सहजीकरण गर्न परराष्ट्र मन्त्रालयलाई एउटा संयन्त्र बनाइदिन भनेका भन्यै छौँ,’ उनले कान्तिपुरसँग भनिन्, ‘पीडित परिवारलाई कसैले रेस्पोन्स गर्दैन । मानसिक पीडामा रहेका पीडितहरू यता र उता कुदिराख्नुपर्छ । जुन तहमा सरकार गम्भीर हुनुपर्थ्यो, त्यो हामीले पाएनौँ ।’
रुसले पठाएको सूची
१. टीकाबहादुर राना मगर, तेह्रथुम, २. जितबहादुर पुन मगर, दाङ, ३. अभिषेक बुढा, दाङ,
४. चन्द्रबहादुर बीसी, बाँके, ५. घनश्याम शाही, मोरङ, ६. प्रेमबहादुर कठायत, अछाम, ७. खोमबहादुर भुजेल, ओखलढुंगा, ८. विमलकुमार गजमेर, धनुषा, ९. प्रेमप्रकाश न्यौपाने, नवलपरासी, १०. भीमबहादुर बीसी, नवलपरासी, ११. क्षितिज बस्नेत, खोटाङ, १२. सोमेश सुनुवार, प्यूठान, १३ विकास राई, प्यूठान, १४. विजयबहादुर थोकर, मकवानपुर, १५. जितेन्द्रबहादुर घिसिङ, मकवानपुर

Like