प्रधानमन्त्रीद्वारा सहकारी विवादमा परेका गृहमन्त्रीको प्रतिरक्षा

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ६,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी विवादमा गृहमन्त्री रवि लामिछानेलाई ‘क्लिन–चिट’ दिएका छन् । सहकारी पीडितले पोखरा प्रहरीमा उजुरी र आफूलाई ज्ञापनपत्र दिए पनि लामिछाने निर्दोष रहेको दाहालको भनाइ छ । जसको विषयमा पोखरामा ज्ञापनपत्र बुझ्नुभयो भनेर स्मरण गराएपछि दाहालले भने, ‘ज्ञापनपत्र उहाँहरूले ल्याउनुभयो । मैले बुझें । यो स्वाभाविक भयो । रवि लामिछानेको बारेमा जो चर्चा छ, त्यो कहींकतै प्रमाणित छैन । त्यस्तो आधार पनि छैन । एउटा उजुरी पोखरामा परेको छ । उजुरी परेकै आधारमा मन्त्री बन्न नहुने, मन्त्री छाड्नुपर्ने हुँदैन । उजुरी जसका बारेमा पनि जहाँ पनि पर्न सक्छ ।’ कान्तिपुर टेलिभिजनबाट सोमबार प्रसारित ‘फायर साइड’ कार्यक्रममा पत्रकार रूपेश श्रेष्ठले सामयिक राजनीतिबारे प्रधानमन्त्री दाहालसँग संवाद गरेका थिए । उतिबेला विवादमा आएका मन्त्रीलाई हटाउन चाहनुहुन्थ्यो तर मन्त्रिपरिषद् विस्तार गर्दा फेरि पनि किन विवादित मन्त्रीहरू ल्याउनुभयो नि भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालको प्रतिप्रश्न थियो– ‘को हुनुहुन्छ र विवादित मन्त्री ?’ सहकारी ठगीका विषयमा जसका बारेमा आम रूपमा यो मान्छे दोषी भने प्रश्न उठाइरहेका छन् । त्यही व्यक्ति गृहमन्त्रीको पदमा रहँदा यो विषयमा अनुसन्धान सही तरिकाले अगाडि बढ्छ र त्यसले निकाल्ने प्रतिवेदन सही हुन्छ भन्ने कुरामा अलि असहज हुँदैन भन्ने प्रश्नमा दाहालको भनाइ छ, ‘मैले अनुसन्धानकर्मीसँग बुझेको छु । त्यसअनुसार रविको दोष छ भनेर मलाई भनिएको छैन । यो विषय मैले संसद्मा पनि राख्छु ।’ फायर साइडकै पछिल्लो एपिसोडमा जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्रीले एउटा प्रसंगमा काठमाडौं महानगरका मेयर बालेन शाहको फेसबुक स्टाटसका आधारमा पक्राउ गर्नुपर्छ भनेर गोप्य बैठक राखेको दाबी गरेका थिए । यस सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले भने, ‘बालेनजीले चुनाव जित्दा बगैंचामा फुलेको एउटा फूल हो भनेको थिएँ । जतिबेला उहाँले सिंहदरबार जलाइदिन्छु जस्ता अभिव्यक्ति दिएपछि यो ठीक छैन भनेर हामीले छलफल गरेकै हो । तर पक्राउ गरिहाल्ने निर्णय गरेको होइन । के गर्नुपर्छ भनेर छलफल भएकै हो ।’ गृहमन्त्रीबाट लामिछाने हट्नुपर्छ भन्ने कांग्रेसको अभिव्यक्तिले नैतिकताको ठूलै खडेरी परेछ भन्ने आफूलाई महसुस भएको उनले बताए । ‘कांग्रेसले रवि लामिछाने आफूतिर आउने भए प्रधानमन्त्री बनाउन तयार हुने, आएन भनेपछि गृहमन्त्री छाड्नुपर्छ भन्ने के राजनीति भयो ? के नैतिकता भयो ?’ उनले प्रश्न गरे । सुन तस्करीमा पनि सबै प्रकरण सम्बन्धित निकायलाई ‘गो अहेड’ भनेको प्रधानमन्त्रीको भनाइ छ । ‘आयोगले बुझाएको प्रतिवेदन हेरेको छु । प्रतिवेदनअनुसार कारबाही हुन्छ । जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइन्छ । केही दिनपछि प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा छु । यसमा यो–त्यो भन्ने मेरो केही पनि छैन । दोषी कोही पनि नछुटुन्, कोही निर्दोष नपरुन् भन्ने कुरामा म प्रतिबद्ध छु । मैले सम्बन्धित निकायलाई ‘गो अहेड’ भनिसकेको छु’ उनले भने । काठमाडौं महानगरको मेयर जस्तो मान्छेले सिंहदरबार जलाइदिन्छु भन्नु गलत भएको भन्दै दाहालले भने, ‘तर सीके राउतजी अहिले अर्कै छोरमा हुनुहुन्छ । उहाँले बालेन र प्रचण्डका बीचमा कसरी झगडा पारौं भनेर सोच्नुभयो होला । मैले बालेनलाई अहिले पनि लोकतान्त्रिक बगैंचाको फूल मानेको छु ।’ आर्थिक समृद्धि र सुशासनको पक्षमा काम गर्न नयाँ गठबन्धन बनेको र पोहोरको भन्दा अहिले मैले आफूलाई बलियो ठानेको पनि दाहालले बताएका छन् । ‘सरकारको अवधि कति जान्छ त म भन्न सक्दिनँ । राजनीतिक घटनाक्रम कसरी जान्छ त्यसले निर्धारण गर्ला । तर काम गर्न पहिलेको गठबन्धनभन्दा अहिलेको गठबन्धनमा सुविधा छ’ उनले भने, ‘हिजो म यताबाट प्रधानमन्त्री हुन ठिक्क परेको मान्छे, अर्को ठाउँमा गएर प्रधानमन्त्री हुँदा दिएर खाने प्रधानमन्त्री जस्तो भयो । निरीह प्रधानमन्त्री भएँ कि क्या हो त भन्ने मनोविज्ञान थियो । अहिले सहज छ ।’ भ्रष्टाचार मुद्दामा थुनामा रहेका व्यक्तिसँग मुख्य सचिव (वैकुण्ठ अर्याल) ले सन्दिग्ध आर्थिक लेनदेन गरेको विषयमा सप्रमाण समाचार आए पनि कारबाही नभएको विषयमा प्रधानमन्त्रीको भनाइ थियो, ‘खास कुरा के हो भनेर मैले मुख्यसचिवसँग पनि छलफल गरिरहेकै छु । तर पत्रिकामा आउँदैमा केही गरिहाल्नुपर्छ भन्ने बाध्यता हुँदैन । नैतिक रूपमा कसैले बुझ्यो भने त एउटा कुरा भयो । तर, जसले यो मुद्दालाई हेरिरहेको छ, त्यसले मुद्दाका रूपमा दर्ता नगरेसम्म उसलाई हटाउने कुरा प्रक्रिया नपुग्दा अप्ठेरो हुन्छ । त्यसो भए कि त सबैलाई हटाउँदै हिँड्नुपर्‍यो ।’ यसपालि एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा भनेको अभिव्यक्तिलाई पनि प्रधानमन्त्री दाहालले जोड दिएर उद्धृृत गरे । ‘केपीजीले पनि अहिले प्रचण्डले जोखिम उठाएर देशका लागि, विकासका लागि गर्नुभयो, भन्नुभयो । त्यसले मलाई म दिएर खाने होइन, केही गरेर देखाउने खालको प्रधानमन्त्री बनें भन्ने महसुस गरेको छु’ उनले भने । तर कांग्रेसले शान्ति सम्झौताको मर्मविपरीत जनयुद्धबारे नीतिगत प्रस्ताव पेस गर्नु गलत भएको उनको भनाइ छ । ‘गिरिजाप्रसाद कोइराला भएको भए यस्तो वक्तव्य दिने कुरालाई छुट दिनुहुन्थ्यो होला त ? भन्ने प्रश्न छ । यो संविधानको भावनाविपरीत छ । गठबन्धनबारे उहाँहरूले भनेको कुरा पनि गलत छ । हामीले नै गठबन्धन गरेर ठूलो भएको पार्टीले अहिले नै गठबन्धन गर्दैनौं, अबदेखि एक्लै लड्छौं भन्नु किन आवश्यक थियो ? त्यो गलत छ ।’ जनतामा आशा जगाएको नयाँ दल (रास्वपा) केही गर्नैपर्ने बाध्यतामा रहेको, उसले महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिएकाले नयाँ मन्त्रीहरू पनि काममा अग्रसर भएको उनको भनाइ छ । ‘उहाँ लाग्नुभएको छ । मैले जानुहोस्, प्रधानमन्त्रीका रूपमा मेरो साथ छ भनेको छु’ दाहालले भने । कांग्रेस महासमिति बैठकमा छलफल गरेको विषयमा प्रधानमन्त्री र माओवादीले आपत्ति जनाउन कसरी पाउँछ भनेर उठेको प्रश्नमा दाहालले भने, ‘कांग्रेस आफ्नो विचार राख्न स्वतन्त्र छ । हिन्दु राष्ट्र बनाउन अगाडि बढ्न पनि सक्छ । तर, त्यसबारे धारणा राख्न माओवादी लगायतका अन्य राजनीतिक दल पनि स्वतन्त्र छन् भन्ने बुझ्न पर्‍यो । म संविधानले जनतालाई दिएको अधिकारको पक्षमा छु । त्यसमा प्रश्न उठाउने प्रति मेरो आपत्ति छ ।’ गठबन्धन कांग्रेसलाई एक वचन पनि नसोधेको भन्ने विषयमा पनि उनले असहमति जनाए । ‘मैले एक वर्ष पुगेदेखि मन्त्रिपरिषद् पुनर्गठन नगर्ने हो भने सरकार चल्दैन भनेर पटकपटक भनेको छु । यो उहाँहरूलाई थाहा नभएको हो र ? त्यति पनि नबुझ्ने हुन्छ । त्यो घोषणा अघिल्लो दिनसम्म शेरबहादुर देउवा, भोलिपल्ट पूर्णबहादुर खड्का र कृष्ण सिटौलासँग भेटघाटै गरेको छु । त्यसैले भनेनन् भन्ने कुरा सत्य हो ।

Like