नयाँ गठबन्धनलाई २०८४ सालसम्मै लैजाने पहल
रासंसा/काठमाण्डौ, फाल्गुण २५,
मुलुकमा नयाँ पुनर्गठित सरकारका एक दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व दिन नयाँ गठबन्धनलाई २०८४ सालसम्म लैजाने बताएका छन् । गठबन्धनलाई आगामी चार वर्ष टिकाउने तयारीका साथ सरकारमा सहभागी भएको उल्लेख गरे । माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेृत्वमा सरकारमा सहभागी भएपछि पहिलो पटक बसेको केन्द्रीय सचिवालय बैठकमा ओलीले कांग्रेससहितका गठबन्धन केही समय अघिदेखि नै टुटाउने प्रयास सफल भएको उल्लेख गर्दै नयाँ गठबन्धनलाई आगामी चार वर्ष टिकाउने तयारीका साथ सरकारमा सहभागी भएको उल्लेख गरे । ‘गठबन्धन सरकारलाई चार वर्ष टिकाउने तयारीका साथ सरकारमा सहभागी भएको छ । हामी सरकारमा मन्त्रालय लिन उदार भएर सहभागी भएका छौं,’ ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘हामीले गठबन्धन भत्काउन प्रयास गरिरहेका बेला कांग्रेससित प्रधानमन्त्री प्रचण्डको दूरी बढ्यो । त्यसपछि हामी नयाँ गठबन्धन बनाउन सफल भयौ । हामी मुलुकलाई स्थायित्व दिने अघि बढनुपर्छ ।’ हाल दाहालको नेतृत्वमा सरकारमा गएको उल्लेख गर्दै एमालेले सरकारको नेतृत्व गर्नेबारे मौन रहे । एमाले, माओवादीका नेताहरुले दुई पार्टीबीच नयाँ समीकरण बनेदेखि सरकारको नेतृत्व आधाआधा कार्यकाल गर्ने समझादरु भएको बताउँछन् तर त्यो समझदारीबारे ओली र दाहालले सार्वजनिक रुपमा बोलेका छैनन् ।