आज महाशिवरात्री पर्व २०८०, सिलाच:ह्रे, नारी दिवस, नेपाली सेना दिवस, प्रदोष व्रत भब्यताकासाथ मनाइदै
रासंसा/काठमाण्डौ, फाल्गुण २५,
वर्ष दिनभरि १२ वटा शिवरात्रि रहन्छन् जसमा चन्द्र मासको चौधौँ दिन अर्थात् नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्रि भनिन्छ, यस अर्थमा वर्ष दिनभरि १२ वटा शिवरात्रि रहनेमा हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रिको आध्यात्मिक अनि सांस्कृतिक महत्त्व अतुलनीय छ । यस रात वैज्ञानिक रूपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरूमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ । शायद यसै कारणले होला यस दिन प्रकृति लेनै मानिसलाई आध्यात्मिक पक्षतर्फ तान्ने विश्वास गरिन्छ । यसै आध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई पनि आज रातभरि जाग्राम बसेर शिवरात्रि मनाइने सांस्कृतिक चलनलाई वैज्ञानिक रूपमा व्याख्या गरिएको पाइन्छ । आजको दिन शिवको वरिपरि घुमेको छ , शिव ती भगवान् जसको आकार छैन, जसलाई आदि र अन्तले विभाजन गर्न सक्दैन, जसको रिसको विध्वंसले संसारका सम्पूर्ण अवयवहरूलाई छिन्नभिन्न गरिदिन सक्छ, ती शिवको विशेष अनि प्रिय दिन हो आज । शिव अर्थात् त्यो तत्त्व जुन छ पनि र छैन पनि, आजको आधुनिक विज्ञानले सम्पूर्ण कुराहरू जुन श्रोतबाट आउँछ त्यसैमा विलीन हुन्छन् भनी अणु अनि परमाणु अवयवहरूको प्रमाण खोजिरहँदा भएर पनि नभएका यी भगवान् शिवको अस्तित्वले संसार अनि सृष्टिलाई एउटा दृष्टान्त दिईनै रहेको छ । विज्ञानले धेरै अध्यनपछी संसारका हरेक कुराहरू अनि जीवहरू ब्रह्माण्डका तत्त्वरूपी शक्तिबाट बन्ने र तिनैमा विलीन हुने निष्कर्षमा पुगेको छ, यस ब्रह्माण्डका एउटा शक्तिका अनेक स्वरूपहरूमा हावा, पानी, आगो, आकाश अनि माटो रहेको पञ्चतत्वका रुपमा व्याख्या गरिन्छ । यिनै तत्त्वहरूबाट हामी सबै निर्मित छौँ, ब्रह्माण्डका यी सम्पूर्ण स्वरूपको एउटै श्रोत भगवान् शिव हामी सामु अनेक स्वरूपमा छन् ।
अझ नेपाल त झन् इतिहासले पनि आफ्नो दस्ताबेजमा समेट्न नसकेको आराध्य देव पशुपतिनाथको देश, विभिन्न पुराण अनि धार्मिक दस्ताबेजमा उल्लेख गरिएको श्लेष्मान्तक वनजस्तो पवित्र चरनभूमी, कैलाशको शीतल छाया परेको भूमि अनि हिन्दुहरूको आस्थाको भूमि । आज पशुपतिनाथमा विशेष घुइँचो रहन्छ, आज पशुपतिनाथको जनसागरलाई एउटा धार्मिक कुम्भको रूपमा व्याख्या गर्न सकिन्छ । साधुहरूको व्यापक उपस्थिति रहन्छ आज पशुपतिमा, विभिन्न कुरामा सिद्धता हासिल गरेका अनि यो हामी बसिरहेको समाजभन्दा परको अध्यात्म अनि संन्यास जीवन व्यतीत गरिरहेका साधुहरू भारत अनि नेपालका विभिन्न भागहरूबाट पशुपतिनाथ दर्शन, भ्रमण कालागि आउने गर्दछन् । फर्कने बेला उनीहरूलाई पशुपति विकास कोषले दक्षिणा अनि भेटी सहित औपचारिक बिदा दिने चलन पनि छ । यो हावा, सुख्खा यो फाल्गुनको महिनामा उडेका झरेका पातहरू, पलाएका पालुवादेखि छरिएको विजले माटोमा अङ्कुरण गर्ने स्वरूपसम्ममा त्यो निराकार शिवतत्वको उपस्थिति छ । धर्म अनुसार नाम फरक होला, व्याख्या फरक होला तर शिवतत्वका सृजनाका रुपमा हामी रहेका छौँ । के बालक के वृद्ध अनि के वयस्क ? आज नारी पुरुष, स्वदेशी विदेशी आदि सबैको घुँईचोले शिवालयहरू भरिएका हुन्छन्, हामी मध्य धेरैले शिवलाई गाँजा भाङ धतुरो आदि सेवन गर्ने एउटा अचम्मको भगवानपात्रका रूपमा अपव्याख्या या अल्पसङ्ख्या गरिरहेका हुन सक्छौँ तर शिवका यी सम्पूर्ण बानीभित्र सृष्टि अनि समाजको गहिराई लुकेको छ । शिव तिनै हुन् जसले विष पिएर नीलकण्ठ भएर गोसाईंकुण्ड पर्वतमा पुगे, शिव तिनै करुणामयी पात्र हुन् जसले पत्नी सतीदेवीको असामयिक मृत्युको वियोगमा पत्नीको मृत शरीरलाई अङ्गालो मारेर अश्रुका धारा बगाउँदै लामो समयसम्म ब्रह्माण्ड यात्रा गरेका थिए, त्यही यात्राका क्रममा गल्दै गएको सतीदेवीको शरीरका अङ्गहरू जहाँ जहाँ विसर्जन भए त्यहाँ त्यहाँ शक्ति पीठहरूको उत्पत्ति हुँदै गयो । आज तिनै शिवको विवाह वार्षिकी अनि साधकहरुका लागि भने आज शिव भगवान् पर्वतको रूप धारण गरेर अचल, अमर अनि अजर आशुतोष हुनुभएको दिन हो तसर्थ शिवरात्रिको रातलाई अचल अनि निर्भय रात्रीका रुपमा पनि लिइन्छ । योगी अनि साधकहरुका लागि शिव भगवान् नभईकन एउटा आदि गुरु हुन् जसले योग शिक्षा सप्तऋृषिहरुलाई औपचारिक अनि दस्तावेजका रुपमा हस्तान्तरण गरेका थिए, तिनै योग अनि अभ्यासहरू आज संसारभरि स्वास्थ्य रहन कालागि धेरैले अनुसरण गर्ने गर्दछन् । यी प्रात कालका नायक अनि आदिकालदेखिका आदि गुरु शिवप्रति समर्पित आजको दिनमा सबैको कल्याण होस् ! संसारमा सबै कुरा शिवतत्वबाटै आउँछ अनि त्यसै तत्त्वमा मिसिन्छ, धन, जन या तन त्यागेर भन्दा पनि सच्चा मान्छे हुन अहम् त्यागेर त्यागी बन्न सकौँ । गाँजा भाङ अनि धतुरोको सेवनले शिव बनाउँदैन, शिवतत्वको आत्मसाथ गरौँ, यो शिवरात्रिमा रिस, राग अनि अहङ्कारको त्याग गरौँ अनि जीवनको साँचो पथतर्फ लम्कदै जाँऔ । यस वर्ष त कोरोनाले थिलथिलो पारेको मानव सभ्यता र समाजलाई शिवतत्वको धेरै नै आवश्यकता छ ।
सिलाच:ह्रे
नेपाल सम्वतको शिला महिना अत्यन्त पवित्र मानिन्छ, यस वर्षको शिला महिनाको पुजा मा यहाँहरू सबैलाई स्वागत छ । बाग्मती किनारको सभ्यताका रूपमा नेवा सभ्यता र समाजलाई लिन सकिन्छ । शिवरात्रिका दिन नेवा समुदायले शिलाचह्रे मनाउने र पूजा गर्ने गर्दछन् । टोलका मान्छेहरू बाटोमा भेला भएर आज बाटामा चल्ने बटुवा र गाडीहरूसँग केही शुल्क लिने चलन छ । यसरी लिएको शुल्कबाट साँझमा मठ मन्दिरमा पूजा गर्ने र प्रसाद वितरण गर्ने चलन छ ।
अन्तर्राष्ट्रिय नारी दिवस
सन् १९१० मा भएको महिलावादी आन्दोलन, अझ भनौँ अमेरिका मा त्यसवखत भएको महिला समानता अभियानको पुनरावलोकन गरौँ । न्यु योर्क सहरमा सन् १९०८ मा १५ हजार महिलाले आफूहरूमाथि भएको असमानता जस्तै कि काम गर्ने समय थोरै हुनुपर्ने, समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै नारी दिवसको सुरुवात भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो। पहिलो पटक सन् १९११ मा मनाइएको अन्तर्राष्ट्रिय महिला दिवस त्यसवर्ष अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डमा मनाइएको थियो। त्यसको १०० वर्ष पछि सन् २०११ मा नारी दिवसको शततक उत्सव मनाइयो र वर्ष २०२४ चाहिँ त्यसैले यो वर्ष हामी ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छौँ। यद्यपि यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले चाहिँ सन् १९७५ मा आधिकारिक मान्यता दिएको थियो । महिला दिवसको मार्च ८ तारिखमा मिति पर्ने कारण चाहिँ अलिक रोचक छ । खासमा महिला आन्दोलन सुरु भएको मिति त्यति बेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतबार थियो। यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो र त्यस कारणले हरेक वर्ष मार्च ८ मा नै महिला दिवस मनाइन्छ ।
सन् २०२४ को नारी दिवसको नारा चाहिँ ‘Inspire inclusion’ अर्थात् लैगिंक् समावेशितालाई प्रेरित गरौँ भन्ने अर्थ लाग्छ । समानतालाई ईक्वालिटी भन्दै पैरवी गरिएको पछिल्ला वर्षहरूमा निकै समानताका लहर चर्चा गरिन्थ्यो भने अब नारी पुरुषको समान हिस्सेदारीको पैरवी गर्न थालिएको छ । नारी र पुरुषले समान ऊर्जा र हिस्साका साथ अघि बढ्ने वातावरणका लागि विश्व समुदायको यस पहल साकार रहोस् ।
नेपाली सेना दिवस
देशको रक्षार्थ रहेका सेनाले आफ्नो अदम्य साहस र कूटनैतिक कौशल सप्तरीको तिलाठी देखि सुस्ता अनि कालापानी सम्म देखाउन सकुन् । सेना सदैव एउटा गैर राजनैतिक अनि पारदर्शी र अनुशासित संस्था हो, यसमा आँच नआओस् । रासन, आसन अनि शासन सर्वत्र सेनाको आड भरोसा नेपाली रहिरहोस् । नरेन्द्रदेवका पालामा उत्तरी राष्ट्रका अनुरोधमा दक्षिणमा आक्रमण गर्न ७००० घोडसवार, ३५०० प्रारम्भिक दस्ता खडा गरेको पाइन्छ । प्राचिनकालमा सैन्य दस्ताहरू देशको बिचमा राख्ने चलन थियो भने मध्यकालमा सेनाहरू लाई विभिन्न उच्च भागमा भएका किल्ला अनि सिमाना हिसाबले संवेदनशील ठाउँमा राख्न थालिएको हो । किल्लाका कमान्डर लाई क्वान्थ नायक भनिन्थ्यो जो अत्यन्त शक्तिशाली हुने गर्दथे, उनैको नेतृत्वमा सैनिकहरू खटाइएका हुन्थ्यो ।मध्ययूगिन समय ताका कर्णाली क्षेत्रका खस् मल्ल वंशहरूलाई काठमाडौँका मल्लहरूले सहजै हराएको इतिहास छ , कर्णालीका खस् मल्लहरू सँग पनि सैन्य दस्ता अत्यन्त मजबुत भएको तथापि काठमाडौँ मल्लहरूको रणनीतिक अनि आधुनिक रण कौशल अघि उनीहरू सहजै हारेका थिए । यस समयमा नेपाल विभिन्न राजा रजौटाहरूमा बाँडिएको थियो, सेनाहरू राजा, युवराज, ओमरावस, क्वान्थ नायक लगायतका हातमा अनि कुनै एक निर्दिष्ट शक्तिको निर्देशनमा मात्र थिएनन् । काठमाडौँ र डोटी लगायतमा त भारतीय सेनाहरूको पनि केही साथ र सहयोग पनि रहेको पाइएको थियो । तर जब १७ औँ शताब्दीमा युरोपबाट एसिया र अफ्रिकामा उपनिवेशवाद को लर्को सुरु भयो तब विदेशी सेना अनि घुस पैठी लगायत राज्यहरूमा स्वतन्त्रताको प्रतिरक्षाका लागि ठुलो चुनौती खडा भयो । पूर्वीय सीमा बाट बहने मेची खोला र पश्चिमी सीमाबाट बहने महाकाली यस देशका सीमाहरू हुन् । नेपालको इतिहासको लिखित सुरुवात भने ईशापूर्वको ३५० वर्षअघिबाट भएको पाइन्छ । पौराणिक समयमा गोपाल, महिसपाल, किराँत, लिच्छवी लगायतका बशंले शासन गरेका यस ठाउँमा राज्यहरू माथि आक्रमण गर्ने, कब्जा गर्ने अनि आफ्नो राज्यको सीमा बिस्तार गर्ने जस्ता कुराहरू समय समयमा भइरहन्थे । रेकर्डहरू केलाउने हो भने नेपालको आफ्नै सेना खडा गरिएको सन् ३५० पछिका इतिहासहरू भेटिन्छ । उति वेला तिब्बत र भारत दुवैतर्फमा राज्यहरूमा आआफ्नै सेना खडा भइसकेका थिए। लिच्छवि बशंको शासन ताका सेनाको संस्थागत प्रयास नेपाली भूमिमा सुरु भएको इतिहास भेटिन्छ । राजाहरू मानदेव, शिवदेव, नरेन्द्रदेव र अंशुवर्मा का प्राचीन शोध र तथ्यहरू लगायत शिलालेखमा यी कुराहरू उल्लेख छ । यस भन्दा अघिबाट नै सेनाको अभ्यास भएको हुनपर्दछ तथापि तथ्यहरू यिनै राजाका पालाका भएकाले यहाँबाट सैनिक अभ्यास सुरुवात भएको मानिएको छ । इस्ट इन्डिया कम्पनीले भारतका अधिकांश ठाँउहरु कब्जा गर्दै गर्दा यता नेपालका राजारजौटाहरु लाई नेपालीपनाको एकै आधारमा पृथ्वी नारायण शाहले एकीकृत गर्दै आएका हुन् । नेपाली सेनाको सुरुवात र संस्थागत अभ्यासको लागि यसै एकीकरण प्रक्रिया नै एउटा महत्त्वपूर्ण बिन्दु मानिन्छ । गोर्खाका सेना बाहेक पनि एकीकरणमा सहयोग गर्न पृथ्वी नारायण शाहले भारतीय भूमिसँग नाता गाँसेर युद्धका सामान अनि हतियार मगाएको देखिन्छ, नेपाली सेनाको रणकौशलता का सुरुवाती दिनहरू त्यही वाट सुरु भएको हो । ब्रिटिसहरूले गोर्खाली सेनाका विरुद्धमा विभिन्न युद्धहरू लडेका ब्रिटिसहरूले गोर्खाली फौजको अदम्य साहस देखेर पछि आफ्ना सैन्य दस्तामा नेपाली फौज भर्ती लिन थाल्यो । तर नाम भने गोर्खा नै रह्यो, यस कारणले पनि नेपाली सेनालाई विदेशमा गोर्खाका नाममा चिनिन्छ । गोर्खाबाट सुरु भएको एकीकरणको आगो र धागो आजसम्म पनि नेपाली सेनाले ज्वलन्त बनाएर हिँडेको छ । सन् १७४४ बाट आजसम्म पनि नेपाली सेनाले अबिछिन्न राष्ट्र प्रेम अनि साहस प्रदर्शन गरिरहेको छ । विश्वयुद्ध देखि गृहयुद्धसम्म देशलाई अफ्ठेरो परेको बेला सेनाको सक्रियता देखिएको छ । भूकम्प होस् या कुनै दुर्घटना या अन्य प्राकृतिक प्रकोप, सेना हरेक ठाउँमा पुगिदिन्छ । बाटोघाटो, खेलमैदान, परेड, राष्ट्रिय शान देखि वैदेशिक शान्ति सैनिकका रूपमा नेपाली सेना सर्वत्र चर्चामा छ । सन् २००२ देखि सन् २००७ सम्म नेपाली सेनाले आफ्नो सख्याँ ५० हजार वाट ९५ हजार बनाएको हो । माओवादी दस्ता वाट पनि सेनामा समायोजन गरिएको छ ।
हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाइन्छ र यस क्रमको सुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ । काठमाडौँ आसपासमा केही हप्ता अगावै आकाशमा सेनाका हेलिकप्टरका लर्को र हवाई परेड अभ्यास देखिन थालिएको हुन्छ । आजका दिन टुँडिखेलमा सेनाले विशेष कार्यक्रम र परेड प्रदर्शन गर्दछ । उच्च ओहोदाका सैन्य अधिकारी अनि राष्ट्राध्यक्ष सम्मको उपस्थिति हुने यस कार्यक्रम हेर्न सर्वसाधारणको भीड लाग्ने गर्दछ ।
प्रदोष व्रत
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने । त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ। पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।