वामदेव गौतमको भनाई नयाँ सत्तासमीकरणले नेकपा विभाजन गर्दा भएको गल्ती सच्यायो
रासंसा/काठमाण्डौ, फाल्गुण २३,
मुलुकमा नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले सोमबार निर्माण भएको नयाँ सत्तागठबन्धनको समर्थन गरेका छन्। नेता गौतमले ०७७ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन गर्नु एउटा भूल थियो भन्ने कुरा नयाँ सत्तासमीकरणले पुष्टि गरेको पनि सो विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले आज विज्ञप्ति प्रकाशन गरी अहिलेको नयाँ सत्तागठबन्धनले सही राजनीतिक दिशा लिएको भन्दै समर्थन गरेका हुन्। सोमबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको नयाँ सत्तासमीकरण बनेको छ। उनले यो सत्तासमीकरणबाट सत्तास्वाद लिन जे पनि गर्ने प्रवृत्तिको अन्त्य हुने र अब वास्तविक राजनीतिक प्रतिस्पर्धामा जनता खुसी भएर सामेल हुने अपेक्षा गरिएको पनि विज्ञप्तिमा जनाएका छन्। एमालेका पूर्वउपाध्यक्ष नेता गौतम नेकपा विभाजनपछि कुनै पार्टीमा संलग्न नरही वाम एकताको अभियानमा लागेका छन्। उनी हाल राष्ट्रिय सभाका सदस्य हुन्।