१९ सिटमा ५२ प्रतिस्पर्धी हँदै राष्ट्रिय सभा निर्वाचन आज
रासंसा/काठमाण्डौ, माघ ११,
मुलुकमा राष्ट्रिय सभा सदस्यको निर्वाचन आज बिहीबार हुँदै छ । मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ । निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । १९ सिटका लागि निर्वाचन हँुदै छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, निर्वाचनका लागि कुल २ हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोशीमा कुल ३६७ मतदाता रहेका छन् । त्यस्तै, मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५ मतदाता छन् । कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा २० सांसदको पदावधि २० फागुनमा सकिँदै छ । २० मध्ये एक सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित र १९ निर्वाचित हुन् । राष्ट्रिय सभा निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष रहने व्यवस्था छ । निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा आफ्नो परिचय खुल्ने प्रमाण कागजात लिएर मतदान गर्न सक्ने आयोगले जनाएको छ । यस निर्वाचनमा प्रदेशसभाका सदस्यका निम्ति सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ । आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, निर्वाचन मण्डलका सदस्य प्रदेशसभाको सदस्य तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा निर्वाचन अधिकृतबाट उपलब्ध गराइएको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रमध्ये एक परिचयपत्रका आधारमा मतदान गर्न पाइने आयोगले जनाएको छ । आयोगका अनुसार सातै प्रदेशका विभिन्न समूहका लागि ५२ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवार रहेका छन् । बाग्मती प्रदेशमा महिला समूहका लागि चार राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि चार राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट जम्मा १५ उम्मेदवार रहेका छन् । आयोगका प्रवक्ता पौडेलका अनुसार कोशी प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट जम्मा पाँच, मधेस प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट पाँच उम्मेदवार रहेका छन् । गण्डकी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट आठ उम्मेदवार, लुम्बिनी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट सात उम्मेदवारको रहेका छन् । कर्णाली प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट ६ उम्मेदवार, सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट ६ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । उम्मेदवारी दिनेमा सबैभन्दा बढी नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट १९ जना छन् । त्यस्तै, नेपाली कांग्रेसबाट १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ९, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट ६, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट ४, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट २, जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट १ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, जनमत पार्टी २ जना राष्ट्रिय सभामा उम्मेदवार उठाएको छ । कोशी प्रदेशमा दुई सिटका लागि निर्वाचन हुँदै छ । कोशीमा महिला समूहतर्फ एमालेका रुकमिणी कोइराला र माओवादी केन्द्रका चम्पादेवी कार्कीबीच प्रतिस्पर्धा हुनेछ । कोइराला र कार्कीको मात्रै यसमा उम्मेदवारी परेको छ । कोशी प्रदेशमै अन्य समूहतर्फ एमालेका परशुराम अधिकारी, कांग्रेसका कृष्णप्रसाद सिटौला, राप्रपाका उद्धव पौडेल गरी तीन जनाको उम्मेदवार छन् । एमाले, राप्रपा, नेमकिपा र जनमत पार्टीले एक्लाएक्लै राष्ट्रियसभामा लड्ने भएका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाले भने गठबन्धन गरेका छन् । सत्तारूढ गठबन्धनमा जनमत पार्टी भए पनि उसले मधेस प्रदेशको अन्य समूह र लुम्बिनी प्रदेशको अन्य समूहतर्फ दुई उम्मेदवार उठाएको छ । उता कोशी प्रदेशमा एमाले र राप्रपाबीच गठबन्धन भएको छ । मधेस प्रदेशमा एक महिला र एक अन्य समूह गरी दुई सिटका लागि निर्वाचन हँुदै छ । मधेस प्रदेशमा महिला समूहतर्फ एमालेका उषादेवी थरुनी र जसपाका पूजा चौधरी प्रतिस्पर्धामा छन् । यसैगरी, मधेस प्रदेशको अन्य समूहतर्फ एमालेका कुमारी विजेता झा, कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनमत पार्टीका रामशंकर महासेठ गरी तीन जनाबीच प्रतिस्पर्धा छ । बाग्मती प्रदेशमा दलित समूहतर्फ एमालेका ध्रुवराज विश्वकर्मा, एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा, नेमकिपाका संगिता नेपाली उम्मेदवार रहेका छन् । बाग्मती प्रदेशको अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदायको समूहतर्फ चार उम्मेदवार रहेका छन् । एमालेबाट विवेक देवकोटा, माओवादी केन्द्रबाट श्रीकृष्णप्रसाद अधिकारी, राप्रपाबाट भरतमणि भट्ट र नेमकिपाबाट हिमालयश्वर लाल मूलबीच प्रतिस्पर्धा छ । बाग्मती प्रदेशमा महिला, दलित, अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहका चार सिटका लागि निर्वाचन हुँदै छ । बाग्मतीमा महिला समूहतर्फ एमालेका रोचकुमारी चौलागाई, कांग्रेसका विष्णुदेवी पुडासैनी, राप्रपाका बालकुमारी डल्लाकोटी र नेमकिपाका कृष्णलक्ष्मी दुवालबीच प्रतिस्पर्धा रहेको छ । यसैगरी, बाग्मती प्रदेशको अन्य समूहतर्फ चार जना एमालेबाट त्रिलोचन निर्मल पौडेल, कांग्रेसबाट जितजंग बस्नेत, राप्रपाबाट हेमजंग गुरुङ र नेमकिपाबाट श्रीकृष्ण महर्जनबीच प्रतिस्पर्धा छ । यसैगरी, गण्डकी प्रदेशमा अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ एमालेका हेमन्द्र शेरचन, कांग्रेसका पदमबहादुर परियार र अन्य समूहतर्फ एमालेका चक्रबहादुर पराजुली, कांग्रेसका किरणबाबु श्रेष्ठ र राप्रपाका रोमबहादुर भण्डारीबीच प्रतिस्पर्धा हुँदै छ । गण्डकी प्रदेशमा महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय, अन्य गरी तीन सिटका लागि निर्वाचन हुँदै छ । गण्डकीमा महिलातर्फ एमालेका सम्झना देवकोटा, माओवादी केन्द्रका मनरुपा शर्मा, राप्रपाका गौमाया श्रेष्ठ उम्मेदवार रहेका छन् । लुम्बिनी प्रदेशमा महिला र अन्य समूह गरी दुई सिटका लागि निर्वाचन हँुदै छ । महिलातर्फ एमालेका तुलसाकुमारी केसी, कांग्रेसका विष्णुकुमारी सापकोटा र राप्रपाका विजयालक्ष्मी सिंह गरी तीन जना रहेका छन् । यसैगरी, लुम्बिनी प्रदेशको अन्य समूहतर्फ एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्री, माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी, राप्रपाका निरन्जनकुमार थापा र जनतम पार्टीका बालगोविन्द चौधरी रहेका छन् । सुदूरपश्चिम प्रदेशमा महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य गरी तीन समूहका तीन सिटका लागि निर्वाचन हँुदै छ । सुदूरपश्चिम प्रदेशमा महिलातर्फ एमालेका सावित्रादेवी घिमिरे र माओवादी केन्द्रका रेनुचन्द उम्मेदवार रहेका छन् । कर्णाली प्रदेशमा महिला, दलित र अन्य समूह गरी तीन सिटका लागि निर्वाचन हुँदै छ । महिला समूहतर्फ एमालेका विमलाकुमारी शाही र एकीकृत समाजवादीका सावित्री मल्ल, दलित समूहतर्फ एमालेका हिक्मत विक र माओवादी केन्द्रका बिष्णुबहादुर विश्वकर्मा उम्मेदवार रहेका छन् । कर्णाली प्रदेशमा अन्य समूहतर्फ एमालेका डिल्लीप्रसाद भट्ट र कांग्रेसका कृष्णबहादुर रोकायबीच प्रतिस्पर्धा भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ एमालेका रामचन्द्र जोशी र कांग्रेसका नारायणदत्त भट्ट र अन्य समूहतर्फ एमालेका ईश्वरीप्रसाद खरेल र कांग्रेसका बलदेव बोहाराबीच प्रतिस्पर्धा छ ।