गठबन्धनको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको सातै प्रदेशमा प्रतिनिधि पठाउने निर्णय
रासंसा/काठमाण्डौ, माघ ०६,
मुलुकमा राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समिति सातै प्रदेशमा जाने भएको छ। निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न गठित समितिको शनिबार बसेको बैठकले राष्ट्रिय सभा चुनावको प्रचार प्रसारका लागि प्रदेशस्तरमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको हो। राष्ट्रिय सभा निर्वाचन २०८० का सन्दर्भमा सात वटै प्रदेशका उम्मेदवारहरुसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरियो।’ बैठकपश्चात जारी विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रिय सभा निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न विभिन्न प्रदेशमा यस समितिबाट जाने निर्णय गरियो।’ समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा पार्टीका उम्मेदवारहरुसँग छलफल गरेपछि समन्वय समितिको टोलीले प्रदेशस्तरमा जाने निर्णय गरेको सचिव केशवराज जोशीले जानकारी दिए । नेपालको संविधानमा राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ। आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यका १९ पदमा निर्वाचन हुँदैछ। राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन्।