चीनको यमन द्वन्द्व विस्तार हुन नदिन आह्वान
एजेन्सी,
हुथी विद्रोहीलाई लक्षित गरी अमेरिका र बेलायतले गरेको आक्रमणपछि चीनले यमन द्वन्द्वलाई विस्तार हुन नदिन सबै पक्षसँग आह्वान गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, ‘चीन रेड सीमा बढ्दो तनावप्रति चिन्तित छ। द्वन्द्व फैलन नदिन हामी सम्बन्धित पक्षलाई शान्त रहन र संयमित हुन आग्रह गर्दछौँ।’ इरानसमर्थित हुथी सेनाले हमासप्रति ऐक्यबद्धता जनाउँदै ‘रेड सी’को पानीजहाजमा हप्तौँदेखि गरेको विध्वंसकारी आक्रमणपछि शुक्रबार बिहान अमेरिका र बेलायतले विद्रोहीको कब्जामा रहेको यमनमा हवाई आक्रमण गरेका थिए। अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा युद्ध भड्किएपछि हुथी विद्रोहीले मुख्य अन्तर्राष्ट्रिय व्यापार मार्गमा रहेका इजरायलसँग सम्बन्धित पानीजहाजमा आक्रमणको संख्या बढाउँदै लगेको छ। माओले थपे, ‘सम्बन्धित पक्षहरूले अन्तर्राष्ट्रिय समुदायको साझा हितअनुरूप ‘रेड सी’को क्षेत्रीय सुरक्षा र स्थिरताको रक्षा गर्न रचनात्मक र जिम्मेवार भूमिका निर्वाह गर्न सक्दछन्। चीनले सबै पक्षलाई संयुक्त रूपमा अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षा कायम राख्न र गैरसैनिक जहाजलाई सताउने काम रोक्न जोगिन आग्रह गरेको छ, किनकि यो विश्वव्यापी अर्थव्यवस्था र व्यापारका लागि हानिकारक छ।’ बेइजिङले भनेको छ, ‘रेड सी क्षेत्र अन्तर्राष्ट्रिय रसद र ऊर्जा व्यापारका लागि महत्वपूर्ण मार्ग हो भन्ने कुरामा कुनै द्विविधा छैन र अन्तर्राष्ट्रिय समुदायको साझा हितअनुरूप रेड सीको क्षेत्रीय सुरक्षा र स्थिरताको रक्षा गर्न रचनात्मक र जिम्मेवार भूमिका निर्वाह गर्न आवश्यक छ।’ यमनको हुथी समूहले शुक्रबार अमेरिका र बेलायतबीच भएको हवाई आक्रमणमा आफ्ना पाँच लडाकु मारिएको र अन्य ६ जना घाइते भएको जनाएको छ। विद्रोही समूहको नियन्त्रणमा रहेका क्षेत्रमा ७३ स्थानमा हवाई आक्रमण गरिएको बताइएको छ।