भारतीय विदेश मन्त्री एस. जयशंकर काठमाण्डौ आइपुगे
रासंसा/काठमाण्डौ, पौष १९,
मुलुकमा भारतीय विदेश मन्त्री एस. जयशंकर काठमाडौं आइपुगेका छन्। नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान अवतरण गरेका हुन्। उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए। दिउँसो १ बजे जयशंकर होटल याक एण्ड यतिमा आयोजना हुने नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्।बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री साउद र भारतको तर्फबाट विदेशमन्त्री जयशंकरले नेतृत्व गर्नेछन्। आजै विदेशमन्त्री जयशंकरले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन्। उनी ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन्। राष्ट्रपतिसँगको भेटवार्तापश्चात मध्यान्ह १२ बजे पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भेटघाट गर्ने कार्यतालिका छ। बैठकपश्चात नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुनेछ। नेपाल–भारत विद्युत् खरिद सम्झौता (पीपीए) हुने निश्चित भएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए। परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी जयशंकरको उपस्थितिमा ऊर्जा सचिव गोपाल सिग्देल र समकक्षी पंकज अग्रवालले दीर्घकालीन पीपीएमा हस्ताक्षर गर्दैछन्। बैठकपश्चात परराष्ट्र मन्त्रालयले याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा सहभागी हुनेछन्। त्यसपश्चात विदेशमन्त्री जयशंकरले कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटघाट गर्ने कार्यतालिका रहेको छ। दीर्घकालीन पीपीए भए २५ वर्षका लागि नेपालले भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बेच्न पाउनेछ। अहिले भारतले करिब ५२२ मेगावाटको विद्युत् निर्यातको स्वीकृति दिएको छ, जुन हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ। विदेशमन्त्री जयशंकर शुक्रबार शुक्रबार बिहान ८ बजे पशुपतिनाथ मन्दिरमा पूजा गर्ने र मध्यान्ह १२ बजे भारत फर्किने बताइएको छ।
