शोकमा छ मृतक युवाको कर्णाली प्रदेश

Share to:

रासंसा/दैलेख, पौष १६,

मुलुकमा ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखको महाबु गाउँपालिका–६ का सुजन रावतको मृत्यु भएपछि कर्णालीमा ‘युवा विद्रोह’ चर्किन थालेको छ। आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाहको पनि मृत्यु भएको थियो। उक्त घटनापछि कर्णालीमा युवाले विद्रोह सुरु गरेका छन्। दैलेखमा शनिबारदेखि आम युवा विद्यार्थी विद्रोह सुरु भएको छ। शनिबार जिल्ला सदरमुकाममा सरकारविरुद्ध सडकमा उत्रिएका युवा विद्यार्थीले ‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै सरकारविरुद्ध आन्दोलन गरेका थिए। उनीहरूले शान्ति सुरक्षा कायम गर्नुपर्ने, देशमै रोजगारी सिर्जना गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई यो युगअनुसारको आधारभूत आवश्यकता पूर्ति गर्नुपर्ने माग राखेका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा दिनुपर्ने उनीहरूको माग छ। युवा विद्यार्थीले राखेको माग पूरा नभएसम्म आन्दोलन जारी रहने दैलेखकी प्रतीमा क्षेत्रीले बताइन्। शनिबारदेखि नै कर्णालीको राजधानी वीरेन्द्रनगर, मृतक सुजनको गृह जिल्ला दैलेख तनावग्रस्त बनेको छ। आशा गरिएका युवक राजधानीमा मारिएपछि कर्णालीका युवा लगायतलाई त्यसको पीडा र आक्रोश विद्रोहमा देख्न सकिन्छ। सुजन रावत र वीरेन्द्र शाहको न्यायका निम्ति आमयुवाहरू सडकमा उत्रिएको युवा विशालकुमार योगीले बताए। माग सम्बोधन नभएसम्म निरन्तर संघर्षमा रहने उनले बताए। युवाहरूले आइतबार दैलेखमा झन्डै दुई घण्टा सम्पूर्ण यातायातका साधन बन्द गराएका थिए। कर्णालीको राजधानी वीरेन्द्रनगरमा पनि सरकारविरुद्ध आन्दोलन सुरु भएको छ। देशभित्र रोजगारी नपाउँदा वैदेशिक रोजगारीको अवसरको खोजीमा काठमाडौंसम्म पुगेका युवाहरूमाथि सरकारले मृत्युको सजाय दिएको युवाहरू बताउँछन्। दैलेखका युवा नवीन योगीले सरकारले युवाहरूले अघि सारेको माग पूरा नगरेसम्म चरणबद्ध रूपमा आन्दोलनहरू गरिने बताए। रोजगारीका लागि विदेश जान्छुभन्दा पनि राज्यकै कारण युवाहरूको ज्यान गएको उनको भनाइ छ। कर्णालीका विभिन्न जिल्लाका युवाहरूले वीरेन्द्रनगरमा आन्दोलन थालेका हुन्। उनीहरूले टायर बाल्नेदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरिरहेका छन्। ‘युवा विद्रोह’ को नाम दिएर आन्दोलन सुरु गरेका युवाहरूले आइतबार सुर्खेतमा सरकारी सवारी साधन पूर्णरूपमा बन्द गराए। गृहमन्त्री र भौतिक मन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन स्थगित नहुने योगी बताउँछन्। ‘युवाहरूले सांकेतिक रूपमा मात्रै विद्रोहको सुरुवात गरेका छन्, यो सरकारले आफू बिरामी भएको नाटक गरिरहे हामी चर्को विद्रोह गर्न बाध्य हुने छौं,’ उनले भने, ‘मृत्यु भएका दुई जनालाई सहिद घोषणा गर्नुपर्छ।’ प्रहरीको बल प्रयोगबाट ज्यान गुमाएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहलाई सहिद घोषणा गर्न सरकारसँग माग गरिएको छ। दुई युवाका आफन्त तथा दैलेख र अछामका प्रतिनिधिसभा सांसदहरूको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर यस्तो माग गरेका हुन्। अर्का युवा महेन्द्रकुमार थापाले युवाले रोजगारी माग्दा सरकारले मृत्यु दिएको बताउँछन्। युवा विद्रोहमा उत्रिएकी दैलेखकी रेखा थापाले सुजन रावत र वीरेन्द्र शाहले न्याय नपाएसम्म आन्दोलन नरोकिने बताउँछिन्। दैलेखको महाबु गाउँपालिकाका उपाध्यक्ष मन्जु कुमारी शर्मा पाण्डेले बालकुमारी घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरिन्। रोजगारीको प्रक्रियामा सहभागी हुन् पाउँ भनी गरिएको आन्दोलनमा मृत्युवरण गरेका दुई युवालाई सहिद घोषणा गर्न माग गरेको सुजनका मामा टेकबहादुर कटुवालले बताए। उनका अनुसार बालकुमारी घटना छानबिन गर्न गठित समिति खारेज गरी स्वतन्त्र र निष्पक्ष न्यायिक छानबिन समिति गठन गर्न माग गरिएको छ। यस्तै मृतकका परिवारलाई उचित क्षतिपूर्ति, मृतकका परिवारबाट एक जनालाई रोजगारीको ग्यारेन्टी, आन्दोलनमा घाइते भएकाहरूको उपचारको व्यवस्था, आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई निसर्त रिहाइलगायतका मागहरू मृतक युवाका आफन्तहरूले अघि सारेका छन्।

Like