नेपालका सांसदहरुको १० दिने कार्यशाला बेइजिङमा सकियो
एजेन्सी,
चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआइबिओ)को आयोजनामा भएको कार्यशालामा नेपालको संघीय संसद्का १७ सदस्य र संघीय संसद सचिवालयका तीन कर्मचारी सहभागी थिए । संघीय संसद्का सदस्यहरुका लागि आयोजना गरिएको १० दिने कार्यशाला बिहीबार बेइजिङमा समापन भएको छ । समापनका अवसरमा भएको कार्यक्रममा एआइबिओका उपप्रमुख छेन रुइचुनले नेपालका कानून निर्माताहरुका लागि आयोजना गरिएको कार्यक्रम फलदायी भएको विश्वास व्यक्त गरे । ‘हामीले सुरुवात मात्र गरेका छौँ,’ उनको भनाइ थियो, ‘अनुभव आदान प्रदानका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौँ ।’ नेपाली प्रतिनिधि मण्डलका सदस्य एवं माओवादी केन्द्रका मुख्यसचेतक हितराज पाण्डेले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा प्राप्त गरेको सफलताले चीन विश्वकै लागि अवलोकनस्थल भएको उल्लेख गरे । उनले विगतमा भएका सहमति कार्यान्वयनमा जोड दिँदै नेपाल बिआरआइको हिस्सेदार हुन पाएकोमा खुसी व्यक्त गरे । सयौँपटक सुन्नुभन्दा एकपटक हेर्नु राम्रो भन्ने चिनियाँ भनाइ उद्धृत गर्दै उनले विकास निर्माणमा चीनले प्राप्त गरेको सफलता अन्य मुलुकका लागि पनि अनुकरणीय हुन सक्ने बताए । समापन कार्यक्रममा कांग्रेस सांसद रामनाथ अधिकारी, एमाले सांसद दामोदर पौडेल बैरागी, रास्वपाका प्रमुखसचेतक सन्तोष परियार, राप्रपा सांसद अनिशा नेपाली, एकीकृत समाजवादीका प्रमुखसचेतक मेटमणि चौधरी, जसपा सांसद प्रकाश अधिकारी तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले सम्बोधन गरेका थिए । २ पुसमा बेइजिङ आएको नेपाली संसदीय टोलीले चीनको च्याङ्सु र कुइयाङ प्रान्तको भ्रमण गरेको थियो । उनीहरुले दुवै प्रान्तका प्रान्तीय राष्ट्रिय जनकंग्रेसका उच्च अधिकारीसँग भेट गरेका सभामुखका सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिए । नेपाली संसदीय टोली शनिबार काठमाडौं फर्किँदैछ । उनीहरुले दुई मुलुकबीच मौलिक विशेषतायुक्त सम्बन्ध रहेको चर्चा गर्दै कुटनीतिक, व्यापारिक सम्बन्ध, विकास सहयोग तथा अनुभव आदान प्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।