अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

‘लङमार्च’को मूल सन्देश के हो ? एमालेको संकल्प यात्रा

Share to:

रासंसा/काठमाण्डौ, पौष ०१,

मुलुकमा संसदको दोस्रो ठुलो दल नेकपा एमालेले पश्चिम नेपालको बैतडी जिल्लास्थित झुलाघाटबाट सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आइतबार पाँचथरको चिवाभन्ज्याङ (१८७९ किलोमिटर) पुरा गरेर औपचारिक रूपमा समापन भएको छ । प्रदेश १ लाई कोशी नामकरणको विरोधमा पहिचान पक्षधरहरूको अवरोधको सामना गर्दै अघि बढेको एमाले यात्रामार्फत कुनै पनि विमतिहरू वार्ता र छलफलबाटै सम्बोधन गर्न सकिने सन्देश समेत दिन सफल भएको छ । यात्राका क्रममा धनकुटाको लेगुवामा एक व्यक्तिले ओलीलाई आक्रमण प्रयास गर्दा समेत यात्रा रोकिएन । बरु उनले पहिचान पक्षधरहरूलाई बन्द र हिंसाको बाटो छाडेर वार्ता र छलफलबाट समस्याको निकास खोज्न सकिने भन्दै नबहकिन आग्रह गरे । मंसिर १४ गते झुलाघाटमा यात्राको शुभारम्भ गर्दा राष्ट्रिय झन्डा फहराएर सुरु भएको एमाले संकल्प यात्रा पाँचथरको चिवाभन्ज्याङमा समापन गर्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेरै यात्राको समापन भएको घोषणा गरे । प्राविधिक रूपमा झन्डोत्तोलन गरेर यात्रा समापन भए पनि यस यात्राले राजनीतिक सन्देश पनि दिन सफल भएको एमाले नेताहरूको भनाइ छ । भारतीय सिमाना सिक्किमसँग पूर्वी सीमा जोडिने चिवाभन्ज्याङमा आयोजित समारोहलाई संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष ओलीले १८ दिनको मध्य पहाडी पुष्पलाल लोकमार्ग केन्द्रित यात्राले देशमा विद्यमान अनेक समस्या समाधान गर्न एमाले सक्षम छ भन्ने सन्देश प्रवाह गरेको दाबी गरे । कोशी प्रदेश प्रवेश गरेपछि विभिन्न जिल्लामा भएका सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पहिचान पक्षधरहरूलाई संवादबाट समस्याको समाधान खोज्न पटक पटक आग्रह गरे । यात्राका स्थानीयहरूले दिएका सुझावलाई ग्रहण गरेका ओली र एमाले नेतृत्वले प्राप्त सुझाव र समस्याहरूलाई समीक्षा गर्दै समाधानका लागि पार्टीले प्रयास गर्ने प्रतिबद्धता समेत जनाए । नेपालको राजनीतिक इतिहासमा अहिलेसम्मकै लामो यात्रामा निस्किएका ओलीलाई यात्रा अवधिभर सिङ्गो एमाले नेता र कार्यकर्ताहरूले साथ दिए । झुलाघाटदेखि निरन्तर अभियानको यात्रामा लम्केका ७१ बर्से ओली आफ्नो स्वास्थ्य अवस्था र जीर्ण शरीरको प्रवाह नगरी १७ औँ दिनमा पाँचथर सदरमुकाम फिदिममा बास बस्न पुगेका थिए । यात्राको अन्तिम दिन आइतबार भने अस्वस्थताको कारण देखाउँदै ओली फिदिमबाट हेलिकोप्टरमार्फत चिवाभञ्जाङ पुगेका थिए । अधिकांश सभाहरूमा गठबन्धन सरकारको कार्यशैली र जनअपेक्षाबारे चर्चा गरेका पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले विकास निर्माण र शान्ति सुरक्षा प्रदान गर्न वर्तमान सरकार असफल भइसकेको टिप्पणी गरेका थिए । जबकि ओली नेतृत्वको यात्रा टोलीलाई अवरोध गर्न सडक अवरुद्ध देखि बन्द आव्हान समेत गरिएको थियो । यात्राका क्रममा भएका सभाहरूमा ओलीका अधिकांश सम्बोधनहरूमा एमाले देशको राष्ट्रिय शक्ति भएकाले आगामी २०८४ पछि एमाले एक्लैले बहुमत ल्याएर मात्रै देश र जनताको सम्मृद्धिको सपना साकार पारेरै छाड्ने भन्दै एमालेलाई बहुमत दिन जनतालाई आग्रह गरे । यात्राका क्रममा एमालेले मध्य पहाडी लोकमार्गले छुने २६ वटा जिल्लाहरूमा ३० वटा ठुला सभा र एक सय भन्दा बढी जनभेटघाटसहित अन्तरक्रिया र संवाद गरेको थियो । अध्यक्ष ओलीको टोलीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित थियो । मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले नेतृत्वको टोली यात्रामा निस्किएको हो । १८ दिने यात्राका क्रममा अध्यक्ष ओलीले कतै माछा तार्ने र कतै खैँजडी भजन गाउने र नाच्ने गरेका भिडियो र तस्बिरहरू सार्वजनिक भए, गरे । ‘सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय’ यात्राको मूल नारा रहेको यात्रामा प्रत्येक दिन कुनै न कुनै नयाँ सन्देश आफ्नै फेसबुक पेजमार्फत सार्वजनिक गरिरहेका हुन्थे ओली । ओली आफ्नो जन्म घरमा पत्नी राधिका शाक्यको तस्बिरको पोज लिनेदेखि जन्म गाउँमा आफ्ना बालसखाहरुसँग विगतका रमाइला क्षणहरू स्मरण गर्न पुगे । संकल्प यात्राकै क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जन्मदिनको शुभकामना दिन भ्याए । प्रचण्डको जन्मदिनका दिन यात्राका खोटाङको दिक्तेल पुगेका ओलीले फोन गरेर आफ्ना राजनीतिक समकक्षी प्रचण्डलाई फोन गरेर जन्म दिनको शुभकामना दिएका हुन् । ‘इन्द्रावती र भोटेकोशी नदीको सङ्गमस्थल दोलालबाट माछाको लागि प्रख्यात छ । यहाँको व्यापार व्यवसायबारे थोरै कुराकानी भयो । माछा खान आउनेहरू यहाँ धेरै भेटिन्छन् । यात्राको क्रममा हामी दोलालबाट ओर्लियौँ, मैले माछा तारेर साथीहरूलाई खुवाएँ’, दोलालघाटमा आफैले माछा तारेको तस्बिर पोस्ट गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका थिए । त्यसपछि उनले सिन्धुलीको खुर्टोटमा पुगेर स्थानीयहरूसँगै स्थानीय सांस्कृतिक नाच खैँजडी भजन गाउने र नाच्ने समेत गरे । ‘हाम्रो यात्रा एक ठाउँबाट अर्को ठाउँ पुग्दा फरक सांस्कृतिक प्रस्तुति देख्न सकिन्थ्यो। साँच्चै नेपालले धेरैथरी संस्कृतिको संरक्षण गरेको छ, यो हाम्रो राष्ट्रिय एकताको बल हो । आज सिन्धुलीको खुर्कोटमा स्थानीय नृत्य,’भन्दै ओलीले तस्बिरसहित पोस्ट गरेका थिए । ‘आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्‍यो । दिनभर व्यस्त थिएँ । साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो । उहाँको आज जन्मदिन, जन्म दिनको शुभकामना !’, ओलीले सामाजिक सञ्जालमा प्रचण्डसहितको तस्बिर राखेर लेखेका थिए । डडेलधुरालाई सुन्दर भन्दै उनले सामाजिक सञ्जालमा देउवालाई टेलिफोन गरेको भिडियो पोस्ट गर्दै भने, ‘मेरा मित्र शेरबहादुर देउवाको गृह जिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो । उहाँले आफू काठमाडौँमा भए पनि डडेलधुरामा स्वागत छ भन्नु भयो । धन्यवाद शेरबहादुरजी !’ प्रचण्डसँग मात्रै होइन ओलीले कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि डडेलधुरामा हुँदा टेलिफोन गरेर हालखबर सोधखोज गर्न भ्याए । ‘सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय’ भनिएको यात्राले मध्य पहाडी नागरिकलाई एउटै मालामा उन्न सफल भएको एमाले नेताहरूको बुझाई छ । पार्टीको अधिवेशन अथवा चुनावी सभा लक्षित कार्यक्रम बाहेक अरू बेला हत्तपत्त ठुला नेता नपुग्ने बैतडी, डडेलधुरा, डोटी, अछाम, दैलेख, जाजरकोट, पूर्व रुकुम, बागलुङ, पर्वत, कास्की, लमजुङ, गोरखा, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र पाँचथरलाई एमालेले आफ्नो यात्राको रुट बनाएको थियो अभियानमा पुरै समय बिताएका एमाले केन्द्रीय सचिव समेत रहेका नेता गोकर्ण विष्टले यात्राले मध्य पहाडमा बसोबास गरिरहेका साधारण जनताका समस्या बुझ्न सहयोग गरेको बताए । ‘खासगरी पहाडबाट तराईमा बसोबास गर्न सर्ने क्रम तीव्र छ । यसलाई रोक्न मध्य पहाडको विकासमा के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ भन्ने कुरामा अनुभव दिलाएको छ’, विष्टले भने, ‘यसका साथसाथै सामाजिक सद्भाव र एकतालाई बलियो बनाउने, जनताका गुनासा सुनेर सम्बोधन गर्दै देश र जनतालाई समृद्ध बनाउने काममा सहयोग पुग्ने विश्वास गरिएको छ ।’ उनले नेकपा एमालेका अध्यक्ष ओलीको नेतृत्वको सम्पूर्ण टोली यात्रामा हिँडेकाले पनि मध्य पहाडको विकासका सन्दर्भमा धेरै कुरामा सहयोग पुग्ने भन्दै यात्राले सबै जनतामा देशको माया र देशको राष्ट्रिय एकतालाई बलियो बनाउने भावना जगाएको दाबी गरे ।

Like