अन्य थपखेलकुदमुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

नेपाललाई पाकिस्तानविरुद्ध सन् २००२ को इतिहास दोहोर्‍याउने अवसर

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २२,

यु-१९ एसिया कपमा नेपालले भोलि (शुक्रबार) टेस्ट राष्ट्र पाकिस्तानविरुद्ध खेल्दैछ। दुबईको आइसीसी एकेडेमीमा हुने खेलमा नेपालले टेस्ट राष्ट्रलाई हराउँदै उपाधि जित्ने लक्ष्य बोकेको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले प्रतियोगिताका लागि टिमले राम्रो तयारी गरेको बताएका छन्। युएई प्रस्थान गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक टमाटाले अफगानिस्तान, भारत, पाकिस्तानलाई हराउनु चुनौती भए पनि राम्रो खेल खेलेर जित्ने लक्ष्य बोकेको बताए। नेपाल सम्मिलित समूहमा पाकिस्तानसँगै भारत र अफगानिस्तान रहेका छन्। नेपालले शक्तिशाली मानिएका तीनवटै टेस्ट राष्ट्रलाई हराउने लक्ष्य लिएको छ। टिमका कप्तानसमेत रहेका देव खनालले एसिया कपका लागि राम्रो तयारी गरेको बताए। ‘टेस्ट राष्ट्रविरुद्ध खेल्न हामीले राम्रो तयारी गरेका छौं। हाम्रो टिम पनि राम्रो नतीजा ल्याउन उत्साहित छ,’ उनले भने। गत कात्तिकमा सम्पन्न एसीसी यु-१९ प्रिमियर कपमा कप्तान खनालले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले युएई र इरानविरुद्ध शतकीय पारी खेलेका थिए। यु-१९ एसिया कप खेल्न नेपालले १४ सदस्यीय टोली घोषणा गरेको थियो। देव खनालको कप्तानीमा युवा अलराउन्डर गुल्शन झासहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, हेमन्त धामी, दीपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रांगु थापा मगर, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन्। त्यस्तै राष्ट्रिय टोलीमा अलराउन्डरका रूपमा उत्कृष्ट प्रदर्शन गर्दै आएका गुल्शन झा पनि यु-१९ टोलीमा सहभागी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप खेल्न झालाई युवा टोलीमा समावेश गरेको हो। राष्ट्रिय टोलीबाट एसिया कप खेलिसकेका उनले टेस्ट राष्ट्र टोलीलाई हराउने ठूलो अवसर रहेको बताए। ‘नेपालको समग्र क्रिकेटले राम्रो प्रदर्शन गरिरहेको अवस्थामा आफूहरूको लक्ष्य जितमा हुनेछ। त्यसका लागि म उत्साहित छु। सतप्रशित खेल्ने कोसिस गर्नेछु,’ उनले भने। नेपालले शुक्रबार पाकिस्तान, आइतबार अफगानिस्तान र मंगलबार भारतसँग खेल्नेछ। दुबै समूहका उत्कष्ट दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। समूह बीमा युएई, बंगलादेश, श्रीलंका र जापान रहेका छन्। युवा टोली र पाकिस्तानबीच हालसम्म पाँच खेल भएका छन्। सन् २०१६ को यु-१९ विश्वकपमा नेपालले पाकिस्तानसँग दुई खेलमा पराजित भएको थियो। जसमा एउटा अभ्यास खेल रहेको थियो। त्यस्तै सन् २०१२ र २०१३ को एसिया कपमा समेत नेपाल पाकिस्तानसँग पराजित भएको थियो। नेपाललाई सन् २००२ को इतिहास दोहोर्‍याउने अवसर यसपटक रहनेछ। नेपााले सन् २००२ मा भने पाकिस्तानविरुद्ध ऐतिहासिक जित दर्ता गरेको थियो। विनोद दासको कप्तानीमा उत्रिएको नेपाली टोलीले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो। नेपालका लागि सर्वाधिक ४२ रन बनाएका विजय चालिसे म्यान अफ दी म्याच घोषित भएका थिए। तीन ओभर बलिङका गरेका उनले २ रन खर्चेर एक विकेटसमेत लिएका थिए। पाकिस्तानलाई रोक्न शक्ति गौचन र सन्जम रेग्मीले ३-३ विकेट लिएका थिए।

Like