जाजरकोट भूकम्पस्थल कठिन, त्रिपालको बसाइले ज्यान लिन सक्ने सम्भावना
टिकाराम सिङ/जाजरकोट, मार्ग १५,
मुलुकमा कार्तिक १७ गते मध्यराति भूकम्प आउँदा घरमा उनीसहित श्रीमती र नातिनी (माइलो छोराकी छोरी) रहेछन् । कच्ची घर, टिनले छाएको छाना । भाग्यवस उनीहरु बच्च सफल भए, त्यो दिन । १५ जनाको परिवार रहेका उनका छोराहरु छुट्टिएर बसेका छन् । उनीहरु पनि भूकम्प पीडित नै हुन् र केही पर त्रिपाल टाँगेर बस्दै आएका छन् । भूकम्पले घरको भित्रीभाग पूरै चिराचिरा परेको छ । घर देखाउँदै उनले भने, ‘घर बस्न मिल्ने छैन, भित्रको त आधा भाग नै भत्किएको छ । तर, ऐलानी जमिनमा भएकाले कोही केही भन्छन्, कोही केही ! हामीलाई त रुनु न हाँस्नु भएको छ ।’ पाल कसले दिएको हो भन्ने पनि उनलाई थाहा छैन । आर्थिक अवस्था न्यून रहेका उनलाई घर कसरी बनाउने भन्ने चिन्ता छ । चिसोकै कारण उनकी श्रीमती बिरामी छिन् । राहतका नाममा अहिलेसम्म अविलालले पाएको भनेको एउटा मात्र त्रिपाल हो । त्यही त्रिपालमा श्रीमती, नातिनीसहित बस्दै आएका छन् उनी । ‘घरभित्रै बस्दा त जाडोको समयमा चिसो कटाउन गाह्रो हुन्छ, यो पालमा त निकै कठिन भयो, माथि शीतको थोप्ला पर्यो कि तल आइहाल्छ,’ उनले भने, ‘यहाँ त चिसोले मर्ने हो कि भन्ने चिन्ता लाग्न लाग्यो ।’ ‘चिसोले भित्र सुत्न सकिँदैन, त्रिपालभन्दा अगाडि आगो बालेर बस्छौँ,’ उनले भने, ‘बैरागलाग्दा छन्, के गर्ने हजुर..!’ राहतका नाममा अहिलेसम्म अविलालले पाएको भनेको एउटा मात्र त्रिपाल हो । त्यही त्रिपालमा श्रीमती, नातिनीसहित बस्दै आएका छन् उनी । ‘घरभित्रै बस्दा त जाडोको समयमा चिसो कटाउन गाह्रो हुन्छ, यो पालमा त निकै कठिन भयो, माथि शीतको थोप्ला पर्यो कि तल आइहाल्छ,’ उनले भने, ‘यहाँ त चिसोले मर्ने हो कि भन्ने चिन्ता लाग्न लाग्यो ।’ चिसोले श्रीमतीको पेट सुन्निने र दुख्ने भइरहेको उनले सुनाए । ठुलै बिरामी हुँदा कहाँ गएर उपचार गर्ने भन्ने चिन्ता अविलाललाई छ । अस्थायी आवास निर्माणका लागि ५० हजार रकम दिने भनिए पनि अहिलेसम्म नपाएको उनले बताए । नगरपालिकाको नजिकै भए पनि यो बस्तीका भत्किएका सबै घर पन्छाउने काम अझै भएको छैन भने अस्थायी आवास कहिले निर्माण हुने हो भन्ने ठेगान छैन । अविलाल बसिरहेको ठाउँमा २५ भन्दा बढी घरधुरीका मानिस सडकका दुई किनारामा त्रिपालमुनि बस्दै आएका छन् । भेरी नगरपालिकाको कार्यालय अगाडि नेतादेखि कर्मचारीहरु त्रिपालकै छेउछाउमा रहेका चिया अड्डामा चियाको चुस्कीसँगै गफ गरिरहेका हुन्छन् । तर, त्यही ठाउँमा रहेका भूकम्प पीडितहरु भने कष्टकर दैनिकी बिताइरहेका छन् । कक्षा १२ मा अध्ययनरत दीपा विष्ट त्रिपाललाई अड्याउनका लागि काठका किलो ठोक्दै थिइन् । त्यससँगै खाना बनाउने उनको योजना थियो । अन्य दुई बहिनी, एक भाइ र आमाका साथ उनी यही त्रिपालमा बस्न थालेको महिना दिन पुग्न लाग्यो । उनी भन्छिन्, ‘भूकम्पले घर बस्न मिल्ने खालको छैन, त्रिपालको चिसोले ममी बिरामी हुनुहुन्छ, अस्पतालतिर जानु भएको छ, आउनुभएको छैन ।’ त्रिपालमा बस्दै आएका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विद्यार्थीहरुलाई निकै समस्या छ । उनकी आमा लक्ष्मी विष्टलाई चिसोका कारण खोकी लाग्ने र अन्य स्वास्थ्य समस्या देखा परेको छ । ‘भूकम्पबाट त जसोतसो बाँचियो, चिसोले ज्यान लिने हो कि भन्ने चिन्ता बढेको छ,’ दीपा भन्छिन् । त्रिपालको बसाइ निकै कठिन भइरहेको हुँदा चाँडो अस्थायी आवास निर्माण गर्ने वातावरण मिलाइदिनुपर्ने उनको माग छ । दीपाका बुबाको केही वर्षअघि निधन भएकाले लक्ष्मीले नै छोराछोरीलाई जेनतेन हुर्काउँदै, पढाउँदै आएकी छन् । दीपा भन्छिन्, ‘बुबा हुनुहुन्न, आमा एक्लैले निकै संघर्षका साथ हामीलाई हुकाईरहनुभएको थियो, घरमा क्षति भएपछि नयाँ घर बनाउने हाम्रो हैसियत छैन, कमाई गर्ने कोही छैन, भाइ सानो छ ।’ त्रिपालमा बत्ती छैन । पढ्नलेख्न समस्या भइरहेको छ । ‘पढ्न–लेख्ने बत्ती छैन । एउटा मोबाइल थियो, मोबाइल चार्ज गर्न पनि समस्या, कठ्याङ्ग्रिदो चिसो, त्यसमा बत्ती पनि छैन, पढाइ लेखाइमा निकै असर भइरहेको छ,’ उनी भन्छिन्, ‘शारीरिक र मानसिक रुपमा बालबालिकाहरुलाई असर भइरहको छ ।’ ‘एकसरो पालले यहाँ चिसो नै छेक्दैन, खाना मेसमा गएर खान्छु,’ उनले भने । उनलाई अहिले पानी समेत दिने कोही छैन । उनी मिस्त्री पनि हुन् । ०७२ को भूकम्पपछि पुनर्निर्माणमा धादिङ गएर घर निर्माण गरेको स्मरण पनि उनले सुनाए । ‘त्यो बेला भूकम्प पीडितहरुको घर बनाएँ, अहिले भूकम्पले मलाई नै त्रिपालमा पुर्यायो,’ उनी भन्छन् । ५७ वर्षीय टेकबहारदुर पुन बैसाखीको सहारामा मात्र हिँड्न सक्छन् । उनको बायाँ खुट्टाले काम गर्दैन । पालमा एक्लै भेटिएका उनका छोरा काठमाडौँतिर प्रहरीमा कार्यरत रहेछन् । श्रीमती पनि केही समय अघि छोरो भेट्न गइन् । त्यसयता उनी एक्लै छन् । यो ठाउँका क्षतिग्रस्त घरहरु ऐलानी जग्गामा बनेका थिए । ऐलानी जग्गामा बनेका घरहरुको विषयमा केन्द्र सरकारले बनाएको कार्यविधिमा केही उल्लेख छैन । वडाले मुचुल्का बनाए पनि अनुदान पाउने नपाउने विषयमा कुनै पत्तो छैन । अरु केही चाहिएन, बस्ने बासको मात्र व्यवस्था भइदियोस् भन्ने यहाँका भूकम्प पीडितहरुको माग छ । गणेख खत्रीको घर पूर्ण रुपमा ध्वस्त भएको छ । उनी भन्छन्, ‘अहिलेसम्म अस्थायी आवास निर्माणको लागि न राज्यले केही भनेको छ, न रकम नै पाएका छन् । खातामा हाल्दिने भनेर खाता खोल्ने काम भइरहेको छ ।’ अस्थायी टहरा निर्माणका लागि पाउनुपर्ने पहिलो किस्ता समेत उनीहरुले पाएका छैनन् । राजनीतिक दलका नेता, कार्यकर्ताहरु र सुरक्षाकर्मीले केही घर पन्छाउने काममा सघाए पनि सबैको पन्छाएनन् । घर पन्छाउने क्रम चलिरहेको छ । अन्यत्र दलहरुले अस्थायी आवास बनाइरहे पनि यहाँ भने बनाएको देखिएन । कि राज्यले घर निर्माणका लागि रकम दिएर पूर्ण अधिकार आफूहरुलाई दिनुपर्ने, नभए राज्यले नै चाँडो पुनर्निर्माणको लागि पहल गरिदिनुपर्ने माग उनीहरुको छ । निर्देशिका अनुसार लगत संकलनको काममा ढिला हुँदा अस्थायी आवासका लागि पाउनुपर्ने पहिलो किस्ता समेत नपाएको पीडितहरुको भनाइ छ । वडाध्यक्ष लिला बहादुर शाह पीडितको लगत संकलन भइरहेको बताउँछन् । ऐलानी जमिनको विषयमा निर्देशिकाले पनि केही नबोलेकाले रकम दिने नदिनेबारे अन्यौल रहेको उनको भनाइ छ । निर्देशिका अनुसार वडाले गर्नुपर्ने काम सबै भइरहेको उनले बताए ।
