अन्य थपअपराधअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

अध्यागमनले ‘फेक डकुमेन्ट’ प्रकरणबारे थाल्यो छानबिन

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २,

मुलुकमा फेक डकुमेन्टको सहारामा नेपाली युवतीलाई ओमान पुर्‍याइनुका साथै ती युवती बलात्कारको शिकार भएको सार्वजनिक भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आन्तरिक छानबिन थालेको छ । अध्यागमन कार्यालयले रातोपाटीमा शुक्रबार ‘‘फेक डकुमेन्ट’को सहारामा नेपाली युवतीलाई ओमान पुर्‍याएर बलात्कार’ शीर्षकमा समाचार प्रकाशित गरेसँगै चासो राख्दै आन्तरिक छानबिन गर्ने बताएको हो । अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले यसबारे आफूहरूले छानबिन गर्ने भन्दै प्रस्थान अनुमति दिँदा कुनै कर्मचारीले बदमासी नै गरेको पुष्टि भएमा कारबाही हुने जानकारी गराए । ‘यहाँ हुने गलत क्रियाकलापलाई पूर्णतः बन्द गरिनुपर्छ र नागरिकलाई सहज ढङ्गले जान दिनुपर्छ भन्ने हो’, उनले भने, ‘कसैले गलत क्रियाकलाप गरेको रहेछ भने कारबाहीको भागीदार हुन्छ ।’ हमालले प्रस्थानअनुमतिसम्बन्धी पुरानो कार्यविधि पनि संशोधन गरेर समयसापेक्ष बनाउन लागिपरेको भन्दै गलत क्रियाकलापलाई पूर्णतः बन्द गर्न लागिपरेको पनि दाबी गरे । अध्यागमन कार्यालयले गत कात्तिक १० गते ओमान उड्ने महिलालाई कुन अधिकृतले प्रस्थान अनुमति दिएका हुन् भन्नेबाट छानबिन थालेको बताइएको छ । गत कात्तिक १० गते राधिका तामाङ (नाम परिवर्तन) फेक श्रम स्वीकृतिसहितको कागजातका आधारमा संयुक्त अरब इमिरेट्स (यूएई) हुँदै ओमान पुगेकी थिइन् । उनी दलालहरूको सेटिङमार्फत ओमान पुगे पनि त्यहाँ नेपाली नागरिक नवीन राईबाट बलात्कृत भएकी थिइन् । राई अहिले ओमान प्रहरीबाट पक्राउ परेका छन् भने युवती नेपाली दूतावास ओमानको संरक्षणमा छिन् । पछिल्लो समय मानव तस्करहरूले भिजिट भिसामा यूएईसहितका देशमा लैजाने र त्यहाँबाट तेस्रो देशमा पठाउने गरेको तीव्र गुनासो सुनिँदै आएको छ । यस्तो कार्यमा विमानस्थलका कर्मचारीको समेत मिलेमतो हुने गरेको आरोप लाग्दै आएको छ । ओमानमा बलात्कृत नेपाली युवती पनि दुबईको भिजिट भिसाका साथै ओमानको पनि अर्को भिसा र नक्कली श्रम स्वीकृतिको सहारामा पुगेको आशंका गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ओमानका अध्यक्ष बिकल झाले फर्जी डकुमेन्ट हुँदा समेत प्रवेश दिइनुले अध्यागमनको कायैशैलीमाथि गम्भीर प्रश्न उठेको बताए । झा लगायतका ओमानमा कार्यरत अभियन्ताहरूले श्रम स्वीकृतिमा समेत मिलेमतो हुन सक्ने भन्दै छानबिन हुनुपर्ने माग गरेका छन् ।

Like