अन्य थपदेशप्रदेश-६ [कर्णाली]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

पश्चिम नेपालमा विनासकारी महाभूकम्प

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १९,

मुलुकमा जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पबाट १५७ जनाको ज्यान गएको छ । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका हजारौं घर भत्किएका छन् । स्थानीय प्रशासन र जनप्रतिनिधिहरूका अनुसार जाजरकोट तथा रुकुम पश्चिमका धेरैमा घरमा क्षति पुगेको छ । कैयौं घर बस्नै नमिल्नेगरी भत्किएका छन् । आठ वर्षअघि २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पनि ठुलो धनजनको क्षति भएको थियो । त्यसपछि पनि भूकम्प गइरहे । तर जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले अहिले ठुलो क्षति भएको छ । भूकम्पविद्हरूका अनुसार ६.४ रेक्टर स्केललाई मझौला खालको भूकम्प मानिन्छ । भूकम्पविद्रले ४ रेक्टर स्केलभन्दा कमलाई सानो, ४ देखि ६.९ रेक्टर स्केलसम्मलाई मझौला र ७ रेक्टर स्केलभन्दा माथिलाई विनासकारी भूकम्प भनेर पहिचान गरेका छन् । मझौला भूकम्पले सामान्यतयाः घर चर्कनेसम्मको क्षति पुर्‍याउने बताइन्छ । मानवीय क्षति भने निकै कम मात्रै हुन सक्ने अनुमान गरिन्छ । तर जाजरकोटमा गएको मझौला खालको भूकम्पबाट भने अनुमानविपरीत जनधनको क्षति भएको छ । मझौला भूकम्पबाट ठुलो क्षति पुग्नुले नेपालको पश्चिम नेपाल भूकम्पीय जोखिममा रहेको प्रष्ट भएको छ । यसले पश्चिम क्षेत्रमा भूकम्पीय जोखिमको ऐना देखाएको टिप्पणी भूकम्पविद्ले गरेका छन् । ‘यसले राज्यलाई आफ्नो भूगोलमा भूकम्पीय जोखिम कति छ भन्ने प्रष्ट ऐना देखाएको छ,’ भूकम्पविद् डा. मुकुन्द भट्टराई भन्छन्, ‘मझौला भूकम्पले त यत्रो क्षति पुग्यो भने विनासकारीले कत्तिको क्षति होला । यो तथ्य राज्यले बुझ्नुपर्छ ।’ बारेकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६.४ रेक्टर स्केलको भूकम्पको गएको थियो । यो परकम्प नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । शुक्रबार राति ११ः४७ बजेपछि १२ः ०८ बजे ४.५, १२: २९ बजे ४.२ र १२:३५ बजे ४.३ रेक्टर स्केलका परकम्प गएका थिए । शनिबार साँझसम्म सयौं परकम्प गइसकेका छन् । भट्टराईको जस्तै धारणा वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीको पनि छ । ‘यो भूकम्पले हाम्रा घर तथा भौतिक संरचना कति कमजोर छन् भन्ने तथ्य पनि उजागर पारेको छ,’ उनले भने, ‘कमजोर संरचनाले सानासाना भूकम्पको धक्का पनि थेग्न सक्दैनन् । अहिले भएको यही हो ।’ जाजरकोट भूकम्पले पश्चिमी क्षेत्र, त्यसमा पनि जाजरकोट र रुकुम पश्चिमको सामाजिक तथा आर्थिक स्तर पनि छ्याङ पारेको भूगर्भविद् इन्द्र लम्साल बताउँछन् । त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापकसमेत रहेका उनी भन्छन्, ‘गरिबीमा रहेका परिवारले घर बनाउँदा ओतमात्रै पुग्ने बनाउँछन् । यसरी बनाइएका घर भूकम्पको सानो धक्कासमेत सहन नसकेर भत्केका हुन् ।’ पश्चिम क्षेत्रमा भूकम्पको जोखिम कायमै छ । भूकम्पविद्हरूका अनुसार गोरखादेखि पश्चिमको क्षेत्रमा भूकम्पको जोखिम कति छ भन्ने यो ‘ट्रेलर’ मात्रै हो । यस्तै ट्रेलर गत असोज १६ गते बझाङमा गएको ६.३ रेक्टर स्केलको भूकम्प र गत वर्षको कात्तिक २२ गते डोटीमा गएको ६.६ रेक्टर स्केलको भूकम्पले देखाइसकेका छन् । बझाङ भूकम्पबाट बझाङमा एकजनाको मृत्यु भएको थियो । बझाङ र बाजुरामा सयौं घर भत्किएका थिए भने दसौं हजार घरमा क्षति पुगेको थियो । यस्तै ६ जनाका ज्यान लिएको डोटी भूकम्पले डोटी र अछामका सयौं घरमा क्षति पुगेको थियो । जानकारहरूका अनुसार नेपालको पश्चिम क्षेत्रम भौगर्भिक शक्ति र संरचना दुवै कारणले अत्यधिक जोखिम छ । उसै पनि पश्चिम नेपालमा करिब ५७५ वर्षदेखि विनासकारी भूकम्प गएको छैन । १५०५ सालमा मुस्ताङ आसपास केन्द्रबिन्दु भएर ८.५ देखि ८.७ रेक्टर स्केलसम्मको भूकम्प गएको थियो । त्यसयता पश्चिम क्षेत्रमा ठुलो भूकम्प गएको छैन । यसरी मझौला भूकम्पबाट भएको क्षतिले ठूलो भूकम्पबाट हुने क्षति निकै डरलाग्दो हुने देखिएको भूकम्पविद् बताउँछन् । भूकम्पीय जोखिम भूगर्भमा सञ्चित शक्ति र मानिसले बनाएका संरचनाले निर्धारण गर्ने विज्ञ बताउँछन् । ‘पहिलो जोखिम भनेको स्वयं भूकम्पको शक्ति र तीव्रता हो । जति धेरै भूगर्भमा शक्ति सञ्चित छ, त्यति नै बढी शक्तिशाली भूकम्प आउने हो । शक्तिशाली भूकम्पले पुर्‍याउने क्षतिको जोखिम ठुलै स्केलमा हुन्छ,’ भूकम्पविद् भट्टराई भन्छन्, ‘दोस्रो जोखिम हामीले बस्न वा अन्य प्रयोजनका लागि बनाएका संरचना हुन् । हाम्रा संरचना कमजोर भए भूकम्प आउँदा ढलेर मानवीय क्षति हुन्छ ।’ यसरी लामो समयसम्म ठुलो भूकम्प नजानुको अर्थ भूकम्पीय जोखिम छैन भन्ने बुझ्न नहुने भूगर्भविद् एवं युनिभर्सिटी अफ एरिजोना (अमेरिका) का प्रोफेसर डा. टंकप्रसाद ओझा बताउँछन् । उनले नेपालको पश्चिम क्षेत्रको भौगर्भिक अध्ययन गरिरहेका छन् । उनका अनुसार पाँच करोड ५० लाख वर्ष पहिला इन्डियन प्लेट र एसियन प्लेट एकआपसमा ठोक्किदाँ नेपालको हिमाल निर्माण भएको हो । ‘दुई प्लेटको टकराव निरन्तर चलिरहन्छ । यसैले यो क्षेत्र निकै अस्थिर मानिन्छ,’ उनले भने, ‘त्यो टकरावको शक्ति भूगर्भमा सञ्चित भइरहन्छ । त्यो शक्ति बाहिर निस्कँदा भूकम्प आउने हो ।’ ‘पश्चिममा लामो समयसम्म ठुलो भूकम्प गएको छैन । यसले ठूलै शक्ति सञ्चित रहेको अनुमान गर्न सकिन्छ,’ अधिकारी भन्छन्, ‘अहिलेका साना र मझौला भूकम्पले सञ्चित शक्ति घटाएको विश्वास गर्न गाह्रो छ ।’ उनका अनुसार भूगर्भमा सञ्चित भएको शक्ति घटाउन एक रेक्टर स्केलले ३२ गुणाको फरक पर्छ । ‘उदाहरणका लागि ८ रेक्टर स्केल बराबरको शक्ति सञ्चित भएको छ भने ७ रेक्टर स्केलका ३२ वटा भूकम्पले मात्र त्यो शक्ति कम गर्न सक्छ । त्यो शक्ति हटाउन ६ रेक्टर स्केलका १०२४ वटा भूकम्प जानुपर्छ,’ उनले भने । यसमा वरिष्ठ भूकम्पविद् अधिकारी पनि सहमत छन् । ‘लामो समयसम्म ठुलो भूकम्प नजाँदा भौगर्भिक शक्ति सञ्चित भइरहेको हुन्छ । त्यो शक्ति भूकम्प बनेर बाहिर आउने हो,’ उनले भने, ‘नेपालको पश्चिम क्षेत्रमा जतिबेला पनि भूकम्पको खतरा छ ।’ पछिल्लो समय साना तथा मझौला भूकम्प गइरहँदा पनि भूगर्भमा शक्तिको सञ्चय अत्यधिक रहेको बुझ्न सकिने अधिकारी बताउँछन् । यी भूकम्पले भूगर्भमा सञ्चित शक्ति कति कम भएको छ भन्न नसकिने उनले बताए । ‘पूर्वी क्षेत्रमा १९९० सालमा भूकम्प गयो । त्यसले धेरै क्षति पु¥यायो । त्यसपछि नयाँ घर बन्दा केही सावधानी अपनाइयो । २०७२ सालमा फेरि भूकम्प जाँदा लगभग पुराना घर सकिए, पहिलेभन्दा कम क्षति भयो । अहिले नयाँ घर निकै सावधानीपूर्वक बनाइँदैछ । यसले अब त्यत्तिकै ठुलो भूकम्प आउँदा अझै कम क्षति हुन्छ,’ अधिकारी भन्छन्, ‘पश्चिम क्षेत्रमा त्यस्तो भएन । पुराना घर संरचना आफैं जोखिममा छन्, त्यसमाथि अझै असुरक्षित घर बनाउने क्रम रोकिएको छैन । यस्तो लापरबाही अब गर्न हुन्न ।’ आफू बझाङ जाँदा ढुंगामाथि ढुंगामात्रै राखेर बाहिरबाट प्लास्टर गरेर चारपाँच तलासम्मका घर बनाएको देखेको उनले बताए । ‘चेतनाको अभावमा यस्तो गरिएको हो । यस्ता संरचना भएका ठाउँमा भूकम्प जाँदा जोखिम बढी हुन्छ,’ उनले भने ।

Like