नेपाल र सिंगापुर टी-२० विश्वकप छनोटमा भिड्दै
रासंसा/ काठमाण्डौ, कार्तिक १३,
विश्वमा सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित एसियाली क्षेत्रका आठवटा राष्ट्र सोमबारदेखि नेपालका दुईवटा रंगशालामा प्रतिस्पर्धा गर्दैछन् । यसैगरी सोमबार नै कीर्तिपुर मैदानमा मलेसिया र ओमानबिच तेस्रो खेल हुनेछ । त्यो खेल नेपाली समयअनुसार, दिउँसो १ः१५ बजे सुरु हुनेछ । सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङ्कङ र कुवेतबिच चौथो खेल खेलाइने छ । छनोट प्रतियोगिताको पहिलो दिन सोमबार चारवटा खेल हुनेछन् । कीर्तिपुर मैदानमा नेपाल र सिंगापुरबिच खेल हुनेछ । उक्त खेल नेपाली समयअनुसार, बिहान ९ बजे सुरु हुनेछ । सोही समयमा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ । आगामी टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी-२० विश्वकपमा छनोट हुनेछन् । आईसीसी टी-२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजना गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक राष्ट्र नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन् । समूह ‘बी’ मा भने बहराइन, हङ्कङ, कुवेत र यूएई रहेका छन् । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा आयोजना नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई), हङ्कङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुरको सहभागिता रहने छ । प्रतियोगिता खेलहरू कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा खेलाइने छ । प्रारम्भिक चरणमा आफ्नो समूहमा रहेका चारवटै टोलीले एकअर्कासँग एक-एक खेल खेल्नेछन् । त्यसपछि दुवै समूहबाट तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलमा सफलता हात पार्दै फाइनलमा पुग्ने दुवै टोली सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १९ गते कीर्तिपुर क्रिकेट मैदानमा खेलाइने छ । प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल कात्तिक १७ गते खेलिने छ । प्रतियोगितामा सहभागी हुन हङ्कङ र यूएईका टोली भने करिब दुई साताअघि नै नेपाल आएका थिए । टी-२० विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि नेपाल, यूएई र हङकङबिच त्रिकोणात्मक शृंखला खेलिएको थियो । यही त्रिकोणात्मक शृंखला खेल्न हङ्कङ र यूएईका टोली विश्वकप छनोट सुरु हुनुअघि नै नेपाल आएका थिए । प्रतियोगितामा सहभागी हुन अन्य टोली पनि नेपाल आइसकेका छन् । यतिबेला सहभागी आठवटै टोली छनोट प्रतियोगिताको फाइनलमा पुगेर आगामी टी-२० विश्वकपमा स्थान बनाउने योजना बनाउन ब्यस्त छन् । त्यो शृंखलाको उपाधि यूएईले जितेको थियो । अपराजित रहँदै फाइनलसम्म पुगेको नेपाललाई उपाधि भिडन्तमा यूएईले हराएको थियो । त्यसअघि प्रारम्भिक चरणको खेलमा नेपालले हङ्कङ र यूएईलाई दुई-दुई पटक हराएको थियो । प्रारम्भिक चरणमा यूएई र हङ्कङले भने एक-एक खेल जितेका थिए । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा सहभागी टोलीहरुमध्ये पछिल्लो आईसीसी टी-२० वरीयतामा पनि नेपाल सबैभन्दा माथि रहेको छ । पछिल्लो टी-२० वरीयतामा नेपाल १६औँ, यूएई १७औँ, ओमान २०औँ, हङ्कङ २१औँ, मलेसिया २५औँ, कुवेत २७औँ, बहराइन २८औँ र सिंगापुर ३६औँ स्थानमा आसिन छन् । छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको घोषणा गरिसकेको छ । घोषित टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनाष बोहरा, प्रजिस जीसी, बिवेक यादब, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन् । यसैगरी हङ्कङको टोलीमा निजाकत मोहम्मद खान (कप्तान), मोहम्मद अजिज खान, बाबर हायात, एहसान खान, अदित गोरावरा, आयुषमान राथ, आयुष सुक्ला, राग कपुर, यासिम मुर्तजा, जिसन अली, मोहम्मद घाजनफर, हारुन मोहम्मद अर्साद, नसरुल्ला राणा, मार्टिन कोएट्जी र स्कट स्टिफन छन् । यसैगरी बहराइनको टोलीमा उमर लिम्तियाज (कप्तान), अब्दुल मजिद अब्बासी, इमरान अली बट, सोहेल अहमद, हैदर अली, इमरान जाभेद अनवर, जुनैद अजिज, रिजवान बट, अली दाउद, अहमेर बिन नासिर, सरफराज अली, यासिन नाजिर, सथैया विरापाथिरन, सचिन कुमार र साई सार्थक रहेका छन् । यसैगरी कुवेताको टोलीमा मोहमद अस्लम (कप्तान), अली जहिर, उस्मानगानी इब्राहिम, विलाल ताहिर, यासिन इशाक, राजिव सन्दरुवान, मित भावसर, सिराज खान, परविन्दर कुमार, मिराज अहमद, सैयद मोनिब, निमिस लतिफ, क्लिन्टो भेलुकरण एन्टो, मोहमद सफिक र इलयास अहमद रहेका छन् । यसैगरी मलेसियाको टोलीमा अहमद फाइज मोहम्मद नुर, विरनदिप सिंह, सैयद अजिज सैयद मुबारक, विजय उन्नी, सुरेश उन्नी, मुहम्मद आमिर अजिम अब्दुल सुकोर, रिजवान हैदर, खिजार हायात दुरानी, अइनुल हाफिज मोहम्मद यातिम, पवनदिप सिंह, जगजित सिंह, अहमद जुबाइदी, स्याजरुल इद्रुस, हइकल मोहम्मद खाइर, सारविन मुनियान्दी, मुहम्मद आमिन जाक्वान मुहम्मद रिजुवान र मुहम्मद फित्रि मोहम्म साम रहेका छन् । यसैगरी सिंगापुरको टोलीमा अरित्रा दत्त (कप्तान), राहन रंगाराजन, सुरेन्द्रन चन्द्रमोहन, अनिश पराम, मनप्रित सिंह, जनक प्रकाश, अक्षय रुपक पुरी, थिलिप ओमामदुराई थिलप्पन, रमेश कालिमुथु, अनन्था कृष्णा, उत्सव रक्षित, आर्यन रसेल मेनन, अमृत्य कौल, आर्यविर चौधरी र हर्ष भारद्वाज रहेका छन् । यसैगरी ओमानको टोलीमा जिसन मक्सुद, आकिब इलियस सुलहेरी, कस्यपकुमार प्रजापती, सोएब खान, आयान मोहम्मद खान, मुहम्मद नदिम, मुहम्मद नसिम, बिलाल खान, अहमद फायाज बट, कलिमुल्लाह, सकिल अहमद, मेहरान खान, प्रथिक अथावाले, सन्दीप श्रीमानतुला र सिद्धार्थ प्रसाद बुक्कापतनम रहेका छन् । यसैगरी यूएईको टोलीमा मुहम्मद वसिम, आर्यान्श शर्मा, एलिसन सराफु, जुनैद सिद्धकी, बासिल हमिद, आसिफ खान, आयान खान, अली नासिर, कार्थिक मियाप्पन, सन्चित शर्मा, जाहुर खान, मुहम्मद जवादुल्लाह, निलान्श केशवानी, खादिल शाह र वृत्य अरविन्द रहेका छन् । टी-२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दैछन् । प्रतियोगिता सन् २०२४ को जुन ४ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा २० वटा टोलीको सहभागिता रहने छ । यसका अतिरिक्त अफगानिस्तान र बंगलादेश पनि वरीयताका आधारमा विश्वकपमा छनोट भइसकेका छन् । युरोपेली क्षेत्रको छनोट प्रतियोगिताबाट आयरल्यान्ड र स्कटल्यान्ड विश्वकपमा पुगेका छन् । पूर्वी एसिया प्रशान्त क्षेत्रबाट पपुवा न्युगिनी विश्वकपमा पुगेको छ । प्रतियोगिताका क्रममा कुल ५५ खेल खेलिने छ । प्रतियोगितामा सहभागिता जनाउने अधिकांश टोलीको टुंगो लागिसकेको छ । अमेरिका र वेस्ट इन्डिज आयोजकका रूपमा प्रतियोगितामा सहभागी हुनेछन् । यसैगरी अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका पनि विश्वकपमा छनोट भइसकेका छन् । यसैगरी अमेरिकी क्षेत्रको छनोट प्रतियोगिताबाट क्यानडाले विश्वकपमा स्थान पक्का गरिसकेको छ । अब एसियाली क्षेत्रबाट दुई र अफ्रिकी क्षेत्रबाट दुईवटा टोलीको टुंगो लाग्नेछ । नेपालमा सोमबार सुरु हुने छनोट प्रतियोगिताले एसियाली क्षेत्रको दुईवटा टोलीको टुंगो लगाउने छ ।
टी-२० विश्वकपमा छनोट हुने २० टोलीलाई चार समूहमा विभाजन गरिने छ । प्रत्येक समूहमा पाँचवटा टोली हुनेछन् । पहिलो चरणको समाप्तिपछि चारवटै समूहबाट दुई-दुईवटा टोली प्रतियोगिताको ‘सुपर आठ’ चरणमा प्रवेश गर्नेछन् । इङ्ल्यान्ड टी-२० विश्वकपको साविक विजेता हो । सन् २०२२ मा खेलिएको आठौँ विश्वकपको फाइनलमा इङ्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । इङ्ल्यान्ड र वेस्ट इन्डिजले हालसम्म दुई-दुई पटक टी-२० विश्वकपको उपाधि जितेका छन् । ‘सुपर आठ’ चरणमा पुग्ने आठवटा टोलीलाई पनि दुई-दुई समूहमा विभाजन गरिने छ । ‘सुपर आठ’ चरणको समाप्तिपछि दुवै समूहमा सबैभन्दा माथि रहने दुई-दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि सेमिफाइनल र फाइनल खेल खेलाइने छ । यसका अतिरिक्त भारत, अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले पनि एक-एक पटक टी-२० विश्वकपको उपाधि चुमिसकेका छन् । यसअघि नेपालले पनि एकपटक टी-२० विश्वकप खेलिसकेको छ । नेपालले सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो । त्यतिबेला नेपाली टोली प्रारम्भिक चरणबाटै घर फर्किएको थियो । नेपालसँगै सन् २०१४ मा यूएई र हङ्कङले पनि टी-२० विश्वकपमा ‘डेब्यू’ गरेका थिए । पहिलो खेलअघि आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले आफ्नो टोली सन्तुलित रहेको र छनोट प्रतियोगिताको लागि आफूहरू तयार रहेको बताएका छन् । ‘हाम्रो टोली विश्वकप छनोट खेल्न तयार छ । सन्दीप लामिछाने फर्किएपछि टोली सन्तुलित पनि भएको छ,’ उनले भने । उनले आफ्नो टोलीको ब्याटिङ र बलिङ दुवै राम्रो रहेको पनि बताए । नेपाली टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाईले पनि आफ्नो टोली प्रतियोगिताका लागि तयार रहेको बताए । उनले विश्वकपमा छनोट हुनु आफ्नो टोलीको एकमात्र लक्ष्य भएको पनि बताए । उनले सन्दीपको पुनरागमनले टोली थप सन्तुलित भएको प्रतिक्रिया पनि दिए । कप्तान रोहितले प्रभावशाली स्पिनर सन्दीप लामिछानेको पुनरागमनले पनि नेपाली टोली सन्तुलित भएको प्रतिक्रिया दिए । यसअघि खेलिएको त्रिकोणात्मक टी-२० शृङ्खलामा सन्दीप अनुपस्थित रहेका थिए । तर, विश्वकप छनोटका लागि घोषित टोलीमा सन्दीपलाई पनि समावेश गरिएको छ । ‘यतिबेला हाम्रो एकमात्र लक्ष्य टी-२० विश्वकपमा छनोट हुनु हो । हाम्रो टोली सन्तुलित पनि छ । लगातार विभिन्न प्रतियोगिता खेलेकाले खेलाडीको आत्मविश्वास पनि बढेको छ । हामी जितप्रति आशावादी छौँ । सन्दीपको आगमनले टोली थप सन्तुलित पनि बनेको छ,’ उनले भने । प्रशिक्षक देसाईले प्रतियोगितामा सहभागी सबै टोली उत्तिकै बलियो भएको प्रतिक्रिया दिँदै आफूहरूले कसैलाई पनि कमजोर सम्झनै भुल नगरेको बताए । ‘हामी सबैलाई थाहा छ, टी-२० भनेको फास्ट खेल हो । त्यसैले क्षणभरमै परिस्थिति फेरिन सक्छ । तर, हाम्रा सबै खेलाडी अनुभवी र अभ्यस्त छन् । हामी सबैको ध्यान अहिले विश्वकप छनोटमै केन्द्रित छ,’ उनले भनेका छन् ।
