चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्दै
एजेन्सी,
चीनको दक्षिणी प्रान्त गुआङ्डोङको ग्वाङ्जाउमा आयोजित आईएफएफको २० वार्षिक बैठकका क्रममा जारी आईएफएफ २०२३ वैश्विक वित्त र विकास प्रतिवेदनअनुसार यो वर्ष वैश्विक विकास दर ३ दशमलव १ प्रतिशतमा अझ सुस्त हुने अनुमान छ। त्यस्तै सन् २०२४ मा पनि यस्तै कमजोर हुने सम्भावना छ। चालू वर्षमा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५.२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले २०२४ मा चीनको जीडीपी ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ। प्रतिवेदनमा अधिकांश मुलुकमा मौद्रिक कडाइको चक्र सन् २०२४ सम्ममा समाप्त हुने सम्भावना रहेको उल्लेख गरेको छ। यद्यपि मौद्रिक र वित्तीय कडाइ जारी रहने सम्भावना छ र यसबाट मागमा वृद्धि कम हुनेछ र वैश्विक सुधार सुस्त रहनेछ। त्यसैले आईएफएफले सन् २०२४ मा वैश्विक अर्थतन्त्र ३ दशमलव १ प्रतिशतको दरले बढ्ने अनुमान गरेको छ। यसमा विकसित अर्थतन्त्रहरूमा १ दशमलव ३ प्रतिशत र विकासशील अर्थतन्त्रहरूमा ४ दशमलव ३ प्रतिशतले वृद्धि हुनेछ। वैश्विक समुदायले अल्पकालीन र दीर्घकालीन दुवै चुनौतीहरूको सम्बोधन गर्न मिलेर काम गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ।