महानवमी पशुबली नदिनेले आज यसरी मनाउँदैछन्

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक ६,

मुलुकमा आज दुर्गा पक्षको नवौँदिन महानवमी पर्व मनाइँदै छ। आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरिन्छ। अष्टमीका दिन पशुबलि नदिने र शाकाहारीहरूले महानवमीका दिनमा कुभिण्डो, घिरौला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने चलन छ। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ। महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाउने परम्परा छ। मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार, महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ। नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजाकोठा वा दसैँघरमा विधिपूर्वक पूजा आराधना गरिन्छ। महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ।

Like