मुलुक नै १० नेपालीको मृत्युमा शोकमा, उद्धारमा सरकार सक्रिय, मृतकका परिवारलाई १० लाख राहत

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २३,

इजरायलको हमासको आक्रमणमा परी इजरायल पुगेका १० नेपालीको मृत्यु भएपछि मुलुक राष्ट्रिय शोकमा डुबेको छ। विदेशी भूमिमा रहेका नेपालीले बिनाकारण मृत्युवरण गर्नुपरेपछि मृतकका आफन्त मात्र नभएर सबै नेपाली शोकमा डुबेका हुन्। सोमबार साँझ आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले असोज २३ गते मंगलबार राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो। सरकारले दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० जना नेपालीको दुःखद निधनमा राष्ट्रिय शोक घोषणा गरेको छ। मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय पनि गरेको छ। सो रकम अर्थ मन्त्रालयले गृहमार्फत निकासा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको हो। सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थानमा राख्न त्यहाँको सरकारसँग परराष्ट्रमन्त्री एनपी साउदले कुराकानी गरिसकेको तथा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि त्यहाँका नेपालीसँग कुराकानी गरिरहेको जानकारी दिएकी छिन्। ‘आउन चाहने नेपालीलाई यथाशक्य चाँडो नेपाल ल्याइनेछ,’ मन्त्री शर्माले भनिन्। ‘नेपाल फर्कन चाहने नेपालीलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्रान्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय भएको छ,’ उनले भनिन्। अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्कन चाहे नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका विमानमार्फत यथाशीघ्र ल्याउने व्यवस्था गर्ने, नेपालीको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ (तीन) महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने र इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरूको सुरक्षित रूपमा उद्धार गर्न समन्वय र सहजीकरण गर्ने निर्णय पनि भएको सञ्चारमन्त्री शर्माले जानकारी दिइन्। मन्त्रिपरिषद् बैठकपछि इजरायलमा नेपाली मारिएको घटनाको जानकारी दिन प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएका थिए। उनले सो बैठकमा इजरायलमा भएका नेपाली र सरकारले गरेको निर्णयबारे जानकारी गराएका थिए। यसैगरी परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी घटनामा निधन भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउने निर्णय गरेको छ। इजरायलस्थित नेपाली दूतावासमार्फत त्यहाँको सरकारसँगको समन्वय र सहयोगमा मन्त्रालयले घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीव्रता दिन एवं घाइतेहरूको तत्काल उपचारको प्रबन्ध मिलाउने निर्णय पनि गरेको छ। इजरायलमा रहेका नेपालीको उद्धारका लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकी तथा अन्य मित्रराष्ट्र समेतको सहयोग लिने तथा यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्री सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैमा सरकारले आह्वान गरेको छ। स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण संकलन गरी अनलाइन प्रणालीमार्फत तत्काल परराष्ट्र मन्त्रालयमा पठाउन इजरायलस्थित नेपाली दूतावासलाई मन्त्रालयले अनुरोध गरेको छ। फर्कन चाहने इजरायलका नेपालीलाई अनलाइन प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न पनि अनुरोध गरिएको छ।

Like