संविधान निर्माणमा नेम्वाङले गरेको भूमिका अविस्मरणीय छ – महासचिव पोखरेल
रासंसा/काठमाण्डौ, भाद्र ३०,
मुलुकमा नेकपा (एमाले)का महासचिव शकंर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएका छन्।
‘एमालेले राष्ट्रलाई जोड्ने कुरामा जुन प्रकारले सफलता हासिल गर्यो, त्यसको श्रेय सुवासचन्द्र नेम्वाङको पनि रहेको छ। माओवादी शान्ति प्रक्रियामा आएपछि संविधान निर्माण र कार्यान्वयनमा नेम्वाङले खेलेको भूमिका अविस्मरणीय छ,’ उनले भने। ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शोकसभामा उनले नेम्वाङको निधनको खबर पत्याउनै नसकिएको बताए। नेम्वाङप्रति देखिएको सद्भाव र उनको अवसानपछि देखिएको सहानुभूतिले उनले सार्थक जीवन जिएको महासचिव पोखरेलले बताए। संविधानसभाबाट संविधान जारी गराउने विषयमा नेम्वाङले महत्वपूर्ण योगदान पुर्याएको उनले बताए। नेम्वाङ संसदीय मामिलाको सबैभन्दा बढी मर्म बुझेको व्यक्ति भएको उल्लेख गर्दै नेम्वाङ एमालेको नेतामात्र होइन संवैधानिक र कानुनी सल्लाहकारका रूपमा पनि रहेको उनले बताए। नेम्वाङप्रति सम्मान गर्ने हो भने उनको भावना बुझ्नुपर्नेमा उनले जोड दिए। सभामा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित, डा विजय सुब्बालगायत नेताहरुले नेम्वाङको योगदानलाई बिर्सन नसकिने बताएका थिए।