कहिले खुल्ला सुन तस्करीको मुख्य कारोबारी ?

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २६,

मुलुकमा सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान प्रतिवेदन बुझाउने समय नजिक आउँदा पनि लगानीकर्ता यकिन गर्न सकेको छैन। चीनतर्फका लगानीकर्ता चिनियाँ नागरिक नै हुन् भने पनि प्रमुख व्यक्ति अझै पत्ता लागिसकेको छैन। त्यस्तै भारततर्फ किन्ने समूह पनि पत्ता लागेको छैन। ‘हालसम्म पक्राउ परेकाहरू बिचौलिया र नेपालबाट सुन सप्लाई गर्नेहरू मात्रै रहेका छन्,’ सिआइबी स्रोतले भन्यो। ‘६० दिनभित्र अदालतमा मुद्दा टेकाइ सक्नुपर्ने कानुनी बाध्यता रहेको छ, जसले गर्दा अनुसन्धान प्रतिवेदन चाँडै बुझाउनुपर्ने बाध्यता रहेको हो,’ एआइजी बज्राचार्यले भनिन्। सरकारी वकिल कार्यालयले ताकेता गरेकाले सिआइबीले सकेसम्म मंगलबारै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ। संगठित अपराध र अन्तरदेशीय अपराधमा अनुसन्धान गरिरहेको सिआइबीले अनुसन्धानका लागि समय अपुग भएको र यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै एकदुई दिनमै प्रतिवेदन सरकारी वकिलको कार्यालय पठाउने भएको छ। सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले अनुसन्धान प्रतिवेदन तयार गरिहाल्नुपर्ने कानुनी बाध्यता रहेकाले एकदुई दिनभित्रै सरकारी वकिल कार्यालय पठाउने बताइन्। साउन ३ गते साँझ त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहिरबाट बरामद करिब ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म मुख्य कारोबारी पक्राउ गर्न सकेको छैन। सिआइबीले २०७९ सालको निर्वाचनअघिदेखि नै सुन तस्करी हुने गरेको जनाएको छ। २०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी इलेक्ट्रिक सिगरेट (भेप) भित्र ठूलो मात्रामा सुन लुकाएर र साउन ३ गते बरामद भएको सुन एकै कारोबारीको भएको तर त्यसको प्रमुख लगानीकर्ता भने फेला नपरेको जनाएको छ। ली हानसोङ फरार छन् भने दाओजिन वाङमध्ये को लगानीकर्ता को बिचौलिया हुन् भन्ने खुलेको छैन। साथै उनीहरू दुवैजना नेपालमा नभएको उनीहरूको विवरण चिनियाँ प्रहरीबाट प्राप्त नगरेकाले सिआइबी अन्योलमा रहेको छ। साथै करिब ६० किलो सुन तस्करीमा पक्राउ परेका याओ पुचेङ, ली वेन सुङ पनि सुन तस्करीको सञ्जालमा पहिलो घेराभित्रै रहेको तर उनीहरूको भूमिकाबारे केही पत्ता नलागेको सिआइबीले जनाएको छ। प्रहरीले ६० किलो सुन तस्करी प्रकरणसँग जोडेर होटल भियनाका मालिक एवं बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका भए पनि उनकी पत्नी अमला रोका भने अझै फरार छिन्। उनलाई प्रहरीले खोजिरहेको छ। त्यस्तै सो प्रकरणमा जोडिएका दुई भारतीय नागरिक पनि फरार रहेको सिआइबी स्रोतले जनाएको छ। ‘पक्राउ पर्नुपर्ने अमला रोका पनि पक्राउ परेकी छैनन्, दावा छिरिङ पक्राउ परेको भोलिपल्टदेखि नै उनी मोबाइल अफ गरेर फरार छिन्,’ सिआइबी स्रोतले भन्यो। भारतीय कनेक्सन र आशंकित व्यक्तिको खोजीका लागि भारत पुगेका डिएसपी धर्म भण्डारी सुमन खरेललाई लिएर फर्किए। खरेलकै बयानबाट बाराका सुनचाँदी व्यवसायी शिव सर्राफ पक्राउ परे। त्यतिबेला भन्सार विभागले ई–सिगरेट बरामद गरेर यात्रुलाई छाडेको थियो। सिआइबीले केही दिन मात्रै वाङ बस्ने सीतापाइलास्थित कोठामा छापा मारेको थियो। त्यहाँबाट सेफ बरामद गरेको भए पनि सुन तस्करीलाई पुष्टि हुने कागज भने फेला पारेको थिएन। ‘एउटा डिजिटल सेफ बरामद भएको छ बाँकी केही भेटिएन,’ सिआइबी स्रोतले भन्यो। ली ली हानसोङ र दाओजिन वाङबिच पुरानो सम्बन्ध भए पनि उनीहरूले के कसरी तस्करी गरिरहेका थिए भन्नेबारे भने भेप बरामदबाहेक केही खुलेको छैन। हङकङ प्रहरीसँग समन्वय गर्न गएका एसएसपी दिनेश आचार्य भने अनौपचारिक रूपमा केही चिनियाँ नागरिकको ट्र्याक रेकर्ड लिएर फर्केका छन्। साथै हङकङ भन्सार कार्यालयबाट मागेर आचार्यले ल्याएको विवरणमाथि पनि सिआइबीको प्राविधिक टोलीले अनुसन्धान गरिरहेको छ। ‘हङकङबाट केही क्लु त आयो तर तत्काल मानिस ल्याउन सकिने सम्भावना भने छैन,’ सिआइबीमा अनुसन्धान गरिरहेका एक अधिकृतले भने। ‘विमानस्थलबाट हराएको ९ किलो र बरामद भएको ६० किलो सुन एउटै समूहको भएको लिंक जोडिन्छ,’ ती अधिकृतले भने। लोडसेडिङको समयमा २४सै घन्टा डेडिकेटेड लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकले प्रिमियम महसुल तिर्नुपर्ने व्यवस्था गरिएको थियो। राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ गते सिआइबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो। हङकङबाट असार ३० गते काठमाडौं ल्याइएको सो सुन ‘रेडी ट्रेड प्रालि’ ले मगाएको थियो। हालसम्म रामकुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थुप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जिक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टियान मि, वेन तोङ, डिङ सेग्फा, ली–नेङकाइ, याओ पुचेङ, ली वेन सुङ, गणेश पौडेल, किशोर बस्नेत र सुमन खरेल, शिव सर्राफ तथा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरू वीरेन्द्र नेपाली र कमल परियार पक्राउ परेका छन्। त्यसबाहेक तस्करी प्रकरणमा नाम मुछिएका पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुनलाई पनि बयान लिइएको थियो। ९ किलो सुनमा जोडिएका र हाल सिआइबीको थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पनि बयान लिइसकेको छ। हाल सिआइबीे ३१ जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छक। जसमा चिनियाँ नागरिक, भन्सार कर्मचारी, भन्सार एजेन्ट, सुन व्यापारी तथा बिचौलीहरू छन्क।सुन तस्करीको केन्द्रमा चिनियाँ नागरिक भए पनि उनीहरूलाई नेपालमा क–कसले सघाएका थिए भन्नेमा प्रहरी अनुसन्धान अघि बढ्न सकेको छैन। पक्राउ परेका चिनियाँले केही नबताउँदा अनुसन्धानमा ढिलाइ भएको सिआइबी अधिकारीको भनाइ छ। चिनियाँ गिरोहलाई सघाउने नेपालीमध्ये किशोर बस्नेत र सुमन खरेल पक्राउ परेका छन्। दुवैलाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको हो। उनीहरूमाथि अनुसन्धान गर्दा बाराका सुन व्यापारी सर्राफ पक्राउ परेपछि उनी पनि सप्लायर्स भएको खुलेको थियो।

Like