कांग्रेस जागरणमा पनि गुटगत छाया

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २३,

मुलुकमा नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको डेढ वर्षपछि गत साउनमा पार्टी सभापति शेरबहादुर देउवाको १८बुँदे निर्देशनसहित केन्द्रीय प्रतिनिधिलाई जिल्ला–जिल्लामा पुग्न भनियो। पार्टी निर्देशन अनुसार कतिपय केन्द्रीय प्रतिनिधि जिल्ला–जिल्लामा पुगे। तर प्रदेशसभा र प्रतिनिधिसभाको बैठक जारी भएका कारण जिल्लाका अगुवा नेताहरू संघीय र प्रादेशिक राजधानीमै थिए। कांग्रेसले साउन २० गतेदेखि सञ्चालन गरेको १० दिने आन्तरिक विशेष अभियानअन्र्तगत केन्द्रीय प्रतिनिधि तोकिएका धेरैको कुरा यस्तै छ। उनीहरू भन्छन्, ‘जसले मिलाउनुपर्ने हो र जसलाई मिलाएर लैजानुपर्ने हो, दुवै जिल्ला र क्षेत्रमा नभएपछि अभियानले लक्ष्य हासिल गर्न खासै सकेन।’ कांग्रेसले सांसदलाई प्रतिनिधिसभा र प्रदेशसभा बैठक नछाड्न भनेको थियो। बाँकी नेता तथा कार्यकर्ता पनि बर्खाका कारण पार्टीले सञ्चालन गरेको आन्तरिक विशेष अभियानअन्तर्गत आआफ्नो जिल्ला पुग्न सकेनन्। जसले गर्दा आन्तरिक विशेष अभियानअन्तर्गत प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनतर्फका १६५ क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने योजना सफल भएन। जिल्लामा खटिएका नेताहरूले पार्टी संगठनको अवस्था, विधानअनुसारका संरचना गठन भए–नभएको, स्थानीय सरकार र पार्टीबीचको सम्बन्ध जस्ता विषयमा छलफल गरी संरचना निर्माणसहितका विषयमा सहजीकरण गर्ने जनाइएको थियो। भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूको अवस्थाबारे जानकारी लिने र छलफल गर्ने कुरा पनि १८ बुँदे निर्देशनमा थियो। प्रतिवेदन कार्यान्वयन गर्ने तहका नेताहरूले नै तल्लो तहसम्म गुट संरक्षण गर्दै आएको बताउँदै ती नेताले भने, ‘प्रतिवेदन कार्यान्वयन हुने होइन, फलानोले यस्तो लेखेर बुझाएछ भनेर जिल्लाका साथीलाई चिढ्याउने पक्षमा कोही छैन।’ केन्द्रीय प्रतिनिधिहरूलाई जिल्लाको अवस्थाबारे केन्द्रमा प्रतिवेदन बुझाउन पनि भनिएको थियो। ‘गुटले थिलथिलो भएको पार्टीमा कुनै पनि तहका संरचना पूरा भएकै छैनन्,’ जिल्ला पुगेर आएका एक केन्द्रीय प्रतिनिधिले भने, ‘केन्द्रमा पार्टीको अवस्था जस्तो छ, तल्लो तहमा त्यस्तै छ।’ कांग्रेसमा अहिले नयाँ र पुरानो पुस्ताबीच द्वन्द्व छ। केही गरौं, परिवर्तन गरौं भन्नेलाई पार्टीले उपयुक्त स्थान नदिँदा समस्या भएको छ। पार्टीले घोषणा गरेका अभियान रोकिँदा नराम्रो सन्देश जान्छ। गुटभन्दा माथि पार्टी र देश हो भन्ने मनन नभएसम्म अभियान अभियानमै सीमित हुने ती नेताको दाबी छ। साउन २० देखि ३० गतेसम्म आन्तरिक विशेष अभियान सञ्चालन गरेको कांग्रेसले भदौ १० देखि २४ गतेसम्म दोस्रो चरणको राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। तर कांग्रेसले भदौ ५ गते पत्रकार सम्मेलन गरी ‘समुदायमा कांग्रेस’ अभियान स्थगित गर्‍यो। आन्तरिक किचलो र गुटगत विवादले थिलथिलो भएको कांग्रेसले साउन २० देखि ३० गतेसम्म सञ्चालन गरेको अभियान प्रभावकारी हुन नसकेपछि दोस्रो चरणको अभियान स्थगित गरेको निकट स्रोतको दाबी छ। पहिलो चरणको अभियानमा पार्टी प्रवेश गर्नेसहितका लहर आउन नसकेको स्वीकार गर्दै केन्द्रीय सदस्य रामहरि खतिवडाले खेतीपातीको बेला भएकाले गाउँमा नेता भेटिने तर कार्यकर्ता नभेटिने अवस्था आएको बताए। निर्वाचनपछि लामो समयसम्म पार्टीका कार्यक्रमहरू नहुँदा संगठनमा शिथिलता देखिएको छ। तर कांग्रेले साउन २० देखि ३० गतेसम्म सञ्चिालित अभियानले पार्टीलाई चलायमान बनाएको दाबी गरेको छ। पार्टीबारे जथाभाबी, मनोमानी विचार, धारणा वा टिप्पणी राख्ने प्रवृत्ति बढ्दै गएको जनाउँदै कांग्रेसले भनेको छ, ‘यसले पार्टी पंक्तिमा निराशा फैलिएको थियो भने यो अभियानले यस्ता गतिविधिलाई व्यवस्थित गर्दै उत्साह भर्ने काम गरेको छ।’ कांग्रेसले पहिलो चरणको अभियान प्रभावकारी भएको दाबी गरे पनि कार्यकर्ता भने त्यस्तो ठान्दैनन्। दोस्रो चरणको अभियान सञ्चालन गरी कार्यकर्ताको उत्साह बढाउनुपर्नेमा स्थगित गरिएपछि कार्यकर्ता असन्तुष्ट छन्। हुन त कांग्रेसले विभिन्न अभियान घोषणा गर्ने र बिचमै छाड्ने गरेको यो पहिलोपटक भने होइन। यसअघि पनि पटकपटक अभियान सुरु गरेको कांग्रेसले आन्तरिक विवादका कारण बिचमै छाड्ने गरेको थियो। दस दिने अभियान उपयुक्त समयमा भएन। त्यसमा जनताको अपेक्षित आकर्षण पनि हुन सकेन। जनतालाई आकर्षण गर्ने आर्थिक, राजनीतिकसहितका कार्यक्रम लिएर पार्टीले अभियान चलाउनुपर्छ। कांग्रेसको १२औं महाधिवेशनपछि तत्कालीन उपसभापति रामचन्द्र पौडेल नेतृत्वको प्रशिक्षण प्रतिष्ठान विभागले बिपीको बाटोमा हिँड्नेसहितका अभियान घोषणा गरेको थियो। अभियानअन्तर्गतका कार्यक्रममा तत्कालीन सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवासहितको आलोचना भयो। गुटगत विवाद बढ्दै जाँदा अभियान बिचमै तुहिन पुग्यो। १३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए। उपसभापतिको जिम्मेवारीमा विमलेन्द्र निधि पुगे। २०७४ सालको आम निर्वाचनमा पार्टी पराजित भएपछि २०७५ वैशाखमा केन्द्रीय समितिको बैठकले निधि नेतृत्वको विभागले संगठन परिचालनका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। २०७६ सालमा निधि नेतृत्वको विभागले सञ्चालन गरेको अभियानले पनि पूर्णता पाएन। त्यसबेला कांग्रेसले १४ बुँदे उद्देश्यसहितको जागरण अभियान घोषणा गरेको थियो। त्यस्तै कांग्रेसले २०७९ सालको स्थानीय तह निर्वाचन लक्षित अभियान सञ्चालन गर्‍यो। स्थानीय निर्वाचनलक्षित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान २०७८ फागुन २० देखि चैत २० गतेसम्मका लागि घोषणा गरिएको थियो। त्यसपछि कांग्रेसले स्थानीय प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरेर २०७९ वैशाखदेखि मंसिरसम्म तीन चरणको अभियान घोषणा गर्‍यो। अभियानअन्तर्गत पहिलो चरणमा ७७ जिल्ला, दोस्रो चरणमा ३३० निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७५३ स्थानीय तहमा पुग्ने लक्ष्य कांग्रेसले राखेको थियो। तर उक्त कार्यक्रम पनि घोषणामै सीमित भयो।

Like