थापालाई राजनीतिक दाउपेचबिच विश्वासको मत
रासंसा/मोरङ, भाद्र ५,
मुलुकमा प्रमुख विपक्षी दल एमालेले गरेको राजनीतिक दाउपेचलाई समेत माथ खुवाउँदै सत्ता पक्षले बैठकको अध्यक्षता गरेका प्रदेशसमा सदस्यसमेतलाई चलाखीपूर्वक मत हाल्न लगाएर मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको घोषणा गरिएको हो ।
सत्ता पक्ष र विपक्षको अनेक राजनीतिक दाउपेचबिच कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गरेको घोषणा गरिएको छ । मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको घोषणा गरिए पनि अध्यक्षता गर्ने व्यक्तिले दिएको मतको वैधानिकता’ अब फेरि पनि प्रश्न उठ्नेछ । यस’ फेरि अदालतमा मुद्दा पर्ने सम्भावना छ । यसअघि तत्कालीन सभामुखको समेत हस्ताक्षरमा थापालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसउपर परेको रिटमा सर्वाेच्च अदालतले थापाको नियुक्ति संविधानसम्मत नभएको ठहर गरेको थियो । बैठकको अध्यक्षता गरेका मन्सुरीले प्रदेशसभा सदस्य गीता तिम्सिनाले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि उनै तिम्सिनालाई अध्यक्षता गर्न आदेश दिए । त्यसपछि उनै मन्सुुरीले विश्वासको मत दिए । यसरी बहुमत पु¥याइएको हो । सत्ता पक्षले यसरी विश्वासको मत पु¥याउन खोजेपछि एमालेले विरोध गर्दै नाराबाजी गरेको थियो । ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ । सत्ता गठबन्धनसँग यो संख्या छ । तर, विश्वासको मत लिन सोमबार बसेको प्रदेशसभा बैठकको हिसाब गर्ने हो भने उसलाई १ मत नपुग्ने देखिन्छ । कारण हो, बैठकको अध्यक्षता गरेका प्रदेशसभा सदस्य इस्राइल मन्सुरी सत्ता पक्षकै हुनु । उनी कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य हुन् । थापालाई कांग्रेसका २९ (सभाध्यक्षसहित), माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका १ गरी ४७ प्रदेशसभा सदस्यको समर्थन रहेको थियो । विपक्षमा भने नेकपा एमालेका ४० र राप्रपाका ६ सांसद छन् । यद्यपि, ९३ सांसदमध्ये ७७ सांसद मात्र उपस्थित थिए । विपक्षमा भने ३० मत खसेको थियो । उपसभामुख दनुवारले बैठकको अध्यक्षता गर्ने दिन बिरामी भएको सूचना दिएर बैठक सञ्चालनका लागि मन्सुरीलाई अधिकार प्रत्यायोजन गरेकी थिइन् । एमालेबाट उपसभामुख बनेकी सिर्जना दनुवारले सत्ता गठबन्धनका तर्फको मत बहुमत पुग्न नदिने नीतिअनुसार बैठक छलेपछि कांग्रेसका मन्सुरीले बैठकको अध्यक्षता गरेका थिए । मन्सुरीको मत नपाउने हो भने थापाले विश्वासको मत पाउने थिएनन् । त्यसैले उनले पनि थापालाई विश्वासको मत दिएका हुन् । उपसभामुख दनुवार बैठकमा अनुपस्थित भएको अवस्थामा प्रदेशसभा बैठक सञ्चालन अध्यक्षमण्डलले गनुपर्ने थियो । प्रदेशसभा सञ्चालन नियमावली, २०७४ (पहिलो संशोधन) अनुसार सभामुख र उपसभामुखले सभा सञ्चालन गर्ने ‘संवैधानिक नियम’ भए पनि उनीहरूको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयनसम्बन्धी व्यवस्था छ । नियमावलीको नियम ११ को उपनियम १ मा सो व्यवस्था छ । प्रदेशसभामा ज्येष्ठ सदस्यहरूमा एमालेका ७२ वर्षीय रोहितबहादुर कार्की, राप्रपाका प्रमुख सचेतक ६९ वर्षीय अमरबहादुर विष्ट, एमालेका ६८ वर्षीया मालतीकुमार लिम्बु, ६८ वर्षीय रामप्रसाद मेहता, ६८ वर्षीय खड्गबहादुर बस्नेत, ६७ वर्षीया तारादेवी ढकाल, ६६ वर्षीय किशोरचन्द्र दुलाल, राप्रपाका ६६ वर्षीय गोपालबहादुर विश्वकर्मा, एमालेका ६५ वर्षीय ज्ञानेन्द्र सुवेदी र कांग्रेसका ६४ वर्षीय अमृतकुमार अर्याल छन् । यसअघि मुख्यमन्त्री थापाले प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री बनाएका थिए । प्रदेशसभा सञ्चालनका लागि सभामुख, उपसभामुखलाई सहयोग गर्न गठन भएको चार सदस्यीय अध्यक्षमण्डलमा एमालेकी मालती सुब्बा सबैभन्दा ज्येष्ठ थिइन् । तर, उनले आइतबार नै प्रदेशसभा बैठकमा अनुपस्थित हुने जानकारी गराएकी थिइन् । मुख्यमन्त्री उद्धव थापामाथि भने असंवैधानिक रूपमा सभाध्यक्षलाई प्रयोग गर्दै विश्वासको मत लिएको आरोप लागेको छ । जवाफमा उनले प्रदेशसभाको औचित्य दर्शाउनका लागि यो निर्णय लिएको प्रतिक्रिया दिएका छन् । विश्वासको मत पाएको घोषणापछि मुख्यमन्त्री थापाले भने, ‘प्रदेशसभा चाहिन्छ भनेर नै यो निर्णयमा पुगेको हो, यो निर्णयबिना अर्को विकल्प के छ ? प्रदेशलाई सरकारविहीनता राख्ने हो त ? गणित त्यस्तै थियो ।’ संविधानको धारा १६८(४) बमोजिम मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न माग गरेका थिए । असंवैधानिक काम भएको विषयमा पत्रकारले प्रश्न गर्दा थापाले अब अदालतले निर्णय दिने बताए । ‘संविधानको र संसदको कुरामा फेरि पनि उहाँहरू (विपक्षी दल) अदालत जानुहुन्छ, सर्वोच्चले व्याख्या गर्ला,’ मुख्यमन्त्री थापाले भने । १ भदौमा प्रदेशसभामा ३ भदौका लागि विश्वासको मत लिन सूची दर्ता गराए पनि उपसभामुख दनुवारले ४ भदौ सोमबारका लागि समय तोकेकी थिइन् । गत १६ साउनमा दोस्रोपटक मुख्यमन्त्री भएका थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको थियो । आफैंले बोलाएको प्रदेशसभा बैठकमा उपसभामुख दनुवार भने बिरामीको कारण देखाउँदै सोमबार बिहान ७ बजेको यति एयरलाइन्सको उडानबाट काठमाडौं लागेकी थिइन् । आफैंले बोलाएको बैठकमा अनुपस्थित हुनु संसदीय मर्यादाविपरीत कार्य हो । प्रदेशसभा बैठक राप्रपाले भने बहिष्कार गरेको छ । राप्रपाका प्रमुख सचेतक अम्बरबहादुर विष्टले आफ्ना सबै सांसदलाई बैठकमा अनुपस्थित हुन निर्देशन दिइएअनुरूप बैठक बहिष्कार गरेको बताए । पार्टी केन्द्रले नै बैठकमा अनुपस्थित हुन निर्देशन दिएको उनको स्वीकारोक्ति छ । उनी काठमाडौं लागेलगत्तै सत्ता गठबन्धनको बैठक बसेर विश्वासको मत लिने, नलिने भन्ने’bout छलफल गरिएको थियो । उपसभामखुले नै बोलाएको बैठकमा विश्वासको मत लिनुपर्ने निर्णय गरेसँगै दिउँसो प्रदेशसभा बैठक बसेको थियो । जसअनुसार कांग्रेसका मन्सुरीले अध्यक्षता गरेका थिए । कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको सरकार ढलेपछि पछिल्लोपटक गत २१ असारमा सरकार गठन भएको थियो । त्यसबेला सभामुख रहेका बाबुराम गौतमसमेतको हस्ताक्षरसहित उनै थापा मुख्यमन्त्री बनेका थिए । तर, सर्वोच्च अदालतले नियुक्ति बदर गरेको थियो । अध्यक्षमण्डलका मन्सुरीले बहुमतसहित मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको जानकारी गराउँदै आगामी ६ भदौसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराए । नियुक्ति बदर भए पनि पुनः उनै थापा मुख्यमन्त्रीमा दोहोरिए । सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर थापा बहुमतसहितको मुख्यमन्त्री बने । सभामुखबाट राजीनामा दिएका गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाइयो । सोमबारको प्रदेशसभा बैठकमा दलहरू एकअर्काप्रति आरोप प्रत्यारोपमा जुटेका छन् । पूर्वमुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र राईले उपपसभामुखको भूमिका शंकास्पद रहेको बताए । विश्वासको मतका लागि आफैं समय तोक्ने काम उपसभामुखले पहिलोपटक गरेको र आफैंले बोलाएको बैठकमा सहभागी नहुनुले शंकास्पद भूमिका रहेको उनले बताए । आङ्बोले घरायसी समस्यामा परेको भन्दै बिदा लिएका एमाले सांसदहरू एनजिओको कार्यक्रममा सहभागी हुनुले अत्यन्त लज्जाबोध काम गरेको बताएका थिए भने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने वातावरणमा एमालेले किन भाँजो हालेको भनी आरोप लगाए । ‘सांसदहरूलाई रातारात बिरामी बनाएर किन दुःख दिएको ?’ आङ्बोले एमाले सांसदहरूलाई लक्षित गर्दै भने, ‘आफू नेतृत्वमा हुँदा सहमतीय सरकार चाहिने, अरूको नेतृत्वमा बहुमत हुने बेलामा गंगालाल अस्पतालमा लगेर सांसदलाई सुताइदिने ?’ नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले उपसभामुखको स्वास्थ्य अवस्थामाथि अनुचित लाञ्छना लगाएको आरोप लगाए । उपसभामुखले आफू प्रदेशसभामा बस्न नसके पनि सभा सञ्चालनको वातावरण बनाएको उनको भनाइ छ । ‘उपसभामुखको स्वास्थ्य अवस्थामाथि अनुचित लाञ्छना लगाइयो, उहाँ गंगालाल हृदयरोग केन्द्रमा उपचार गराइरहेको कुरा हामीले फेसबुकमा देखेका छौं,’ प्रमुख सचेतक भण्डारीले भने, ‘कसैको स्वास्थ्य संवेदनशीलतामा हलुका टिप्पणी गर्नुहुँदैन ।’ नेपाली कांग्रेस प्रदेशसभाका उपनेता हिमाल कार्कीले सहमतीय आधारमा प्रदेश सरकारलाई साथ दिनुपर्ने बताएका थिए । उनले भने, ‘नेकपा एमाले मुलुकको जिम्मेवार दल हो, प्रतिपक्षमा राप्रपा छ, उसलाई पनि जिम्मेवार भएर प्रदेशको उन्नति र विकासका लागि, दलीय सहमतिका साथ अगाडि बढ्न आग्रह गर्न चाहन्छु ।’ कोशी प्रदेशमा सभामुखले राजीनामा दिएको २० दिन बित्यो । तर, हालसम्म पनि नयाँ सभामुख चयनको प्रक्रिया अगाडि बढाइएको छैन । यसले गर्दा पनि दलहरू सत्ता स्वार्थ केन्द्रित मात्रै देखिएका छन् । यसअघि राप्रपा प्रदेशसभा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सत्तारूढ गठबन्धनबाट सभामुख लिनका लागि औपचारिक प्रस्ताव नआएको बताएका थिए । सिटौलाले केही दिनअघि भनेका थिए, ‘सभामुखको गरिमालाई किस्तीमा हालेर बजारमा बिक्रीमा राख्नुभएको छ, जसलाई सबैले सम्मान गर्छन्, त्यो (सभामुख पदको) गरिमालाई, महत्वलाई घटाउनुभएको छ ।’ नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राप्रपासँग कुल ४७ सिट मात्रै रहेका कारण र सत्तामा रहेकाले सभामुख बनाउने सोचमा छैनन् । उता, नेकपा एमाले र राप्रपाले पनि सभामुख चयनको प्रक्रिया अगाडि बढाएका छैनन् । यसरी हेर्दा दलहरू स्वार्थ केन्द्रित मात्रै भएको जानकारहरू बताउँछन् ।