पूर्वसभामुख महराको २२ र छोराको २३४ पटकसुन तस्करसँग फोन संवाद
रासंसा/काठमाण्डौ, श्रावण २८,
मुलुकमा माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलको ९ किलो सुन भित्र्याउने तस्करसँगको सम्बन्ध पुष्टि भइसक्दासमेत अनुसन्धान नहुँदा सरकार तथा खासगरी गृह प्रशासन र अनुसन्धानकारी निकायमाथि नै अविश्वास पैदा भएको छ । महरा र उनका छोराको सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ । राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ । हाल फरार असिन भनिएका अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार रहेका अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेको देखिन्छ । यो सञ्जालसँग पटक–पटक सम्पर्क भए पनि महरा बाबुछोरा अनुसन्धानको दायरामा अझै आएका छैनन् । त्यसैगरी राहुलले विमानस्थलका भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई एकपटक टेलिफोन गरेका थिए । श्रेष्ठले प्रहरीलाई दिएको बयान अनुसार राहुलले तस्करीको उक्त सुनबारे चासो राख्दै लिलामीको प्रक्रियाबारे जानकारी लिएका थिए । तर उनीहरूमाथि अनुसन्धान भने भएको छैन । अनुसन्धान र अभियोजनमा संलग्न स्रोतका अनुसार कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले किटान गरेर प्रतिवेदन तयार पारेको छ । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराको अर्का छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको देखिन्छ । महराकै पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री छन् । तर, उनीहरू पार्टी र सरकारका अनुसन्धानकारी निकायबाट थप छानबिन गराउन अनदेखा गरिरहेका छन् । ‘महरामाथि कुनै अनुसन्धान अघि नबढ्दा आम जनमानस र प्रमुख प्रतिपक्ष दलमा यो सरकारले निष्पक्ष अनुसन्धान गरिरहेको छैन भन्ने शंकालाई पुष्टि गरिरहेको छ,’ एक मन्त्री भन्छन्, ‘निष्पक्ष रूपमा काम गरिरहेको भनेर आम समुदायलाई विश्वासमा लिनका लागि भए पनि छानबिन हुनैपर्ने देखिन्छ ।’ यसले अनुसन्धानकारी निकायमाथि थप शंका पैदा गर्ने सरकारका एक मन्त्रीको भनाइ छ । महरामाथि छानबिन हुनैपर्ने दुई आधार उनले औंल्याए । ‘पहिलो त प्रधानमन्त्री तथा गृहमन्त्रीले भ्रष्टाचारका सबै फाइल खोतल्ने र दोषी देखिए कसैलाई पनि नछाड्ने भन्ने उद्घोष गरिसकेका छन् । भ्रष्टाचारविरुद्धको नेतृत्व उनीहरूले गरेको हो भनेर दाबी गर्ने र जस लिने हो भने महरालाई पनि उन्मुक्ति दिन मिल्दैन,’ ती मन्त्रीले भने, ‘दोस्रो आधार, हाल विभिन्न आरोप लागेका अन्य नेता भटाभट पक्राउ परिरहेका छन् । अनुसन्धान गर्दै जाँदा महरा निर्दोष देखिन सक्लान् । त्यसो भए त तस्करसँग संलग्नता देखिइसकेपछि सरकारले झन् चाँडो अनुसन्धान गरेर मुद्दा किनारा लगाउनुपर्ने होइन र ?’ ८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबु–छोरा संलग्न भएको भनेर प्रहरीको सीआईबीको प्रतिवेदनमा टेलिफोन नम्बरसहित किटान गरिएको छ । इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लुईसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबु–छोराले उनलाई सहयोग पुर्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट शक्तिको दुरुपयोग गरी उक्त सुन लिलाम गरी बिक्री गर्नेसम्मको योजना थियो । प्रहरीले कल डिटेल रेकर्डसहित बाबु–छोराको विवरण मात्रै खुलाएर अन्य आरोपितमाथि गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । त्यसको एक महिना बितिसक्दासमेत प्रहरी, गृह प्रशासन र अभियोजन गर्ने निकायले उनीहरूमाथि सामान्य सोधपुछसमेत गरेका छैनन् । सुन तस्करीमा महराको नाम जोडिएपछि प्रधानमन्त्री दाहालले गृहमन्त्री श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख किरण वज्राचार्यसँग छलफल भने गरेका थिए । ‘तर उनीमाथि अनुसन्धान गर्नू भनेर स्पष्ट निर्देशन भने दिएनन्,’ स्रोतले भन्यो, ‘त्यसका बाबजुत भेप प्रकरणमा अदालतमा मुद्दा दायर भए पनि अनुसन्धानको बाटो खुलै रहेकाले यो विषय अझै पनि सीआईबीले सूक्ष्म रूपमा हेरिरहेको छ ।’ महरा सुन तस्करसँग जोडिएका समाचार बाहिरिएपछि सत्ता र शक्तिको आडमा छानबिन नगरेको भन्दै सरकारमाथि चौतर्फी आलोचना भइरहेको छ । सरकारमा भएका दलका शीर्ष नेता जोडिएको विषयमा अनुसन्धान र अभियोजन पनि नहुने, सम्बन्धित दलबाट पनि सोधपुछसम्म नहुनुले प्रहरी, गृह प्रशासन र अभियोजन गर्ने निकायकै निष्पक्षतामा प्रश्न उठेको छ । महराको सम्बन्धमा माओवादी पार्टीबाट समेत प्रश्न उठेको छैन । पूर्वसभामुख तथा सत्तारूढ माओवादी प्रवक्ता अग्नि सापकोटाले यस विषयमा आफूले पार्टीमा बुझेर मात्रै भन्न सक्ने प्रतिक्रिया दिए । ‘म हालै नयाँ जिम्मेवारीमा आएको छु । यस विषयमा बुझ्न पाइसकेको छैन,’ उनले कान्तिपुरसँग भने, ‘अहिले कुरै नगरौं, बुझेर मात्रै भन्न सकिन्छ ।’ गृहमन्त्री श्रेष्ठ भने सीआईबीले अनुसन्धान गरिरहेको बताउँछन् । ‘निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न निर्देशन दिइएको छ । सीआईबीले अनुसन्धान गरिरहेको पनि होला,’ उनले भने, ‘दोषी देखिए जोसुकै परुन् कारबाहीको दायरामा आउनुपर्छ, आउँछन् । अनुसन्धान क्रममा जो पर्छन् परुन्, व्यक्ति को हुन् भनेर हेरिएको छैन ।’ सरकारी वकिल कार्यालयले भने यो प्रकरणमा अनुसन्धानको काम जीवित नै राखेर तथ्य र प्रमाणले देखिएका व्यक्तिमाथि मुद्दा चलाइएको जनाएको छ । सुन भित्र्याउने तीन जना चिनियाँ फरार रहेका कारण उनीहरूलाई कानुनी दायरामा ल्याउँदा हाल निगरानीमा रहेका अरू व्यक्तिमाथि थप अनुसन्धान अघि बढाइने कार्यालयको भनाइ छ । केही दिनअघि कान्तिपुरसँगको कुराकानीमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले ९ केजी सुन प्रकरणको मुद्दामा अनुसन्धान खुलै राखेर पक्राउ परेका ९ जनाविरुद्ध अदालतमा अभियोजन गरिएको बताएका थिए । सुन भित्र्याउने व्यक्ति फरार रहेका कारण नेपालमा उनीहरूसँग सम्पर्कमा रहेका केही निगरानीमै रहेको उनको भनाइ छ । भन्सारले नियन्त्रणमा लिएका भेप लिलामी प्रक्रियामा लैजान सुरसार गरेपछि गिरोहकै एक व्यक्ति आएर ‘यो खास किसिमको भेप हो, हामी आफैं सकार्छौं’ भनेपछि भन्सार प्रमुख अरुण पोखरेलले थप सोधपुछ र अनुसन्धान गर्दा मात्रै त्यसमा सुन लुकाएर ल्याइएको तथ्य खुलेको थियो । तर, त्यो बेलासम्म गिरोहले सुन भएको भेप फुत्काएर अरू नै भेप गोदाममा राखेको पोल खुल्यो । त्यसपछि मात्रै पोखरेलले यसमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिएका थिए । ब्युरोको अनुसन्धानपछि मात्रै यो प्रकरणमा चिनियाँ गिरोहले भेपका नाममा भित्रिएको सुन छुटाउन महरा बाबु–छोरा परिचालन गरेको पोल खुलेको थियो । तर, सुन भएको भेप भन्सारले नियन्त्रणमा लिएपछि दुबईबाट आएको तेस्रो दिन ली पुस १३ मा विदेश भागिसकेका थिए । अर्का एक चिनियाँ गत वैशाख १५ मा विदेश भागेको अनुसन्धानबाट खुलेको छ । तस्करीको सुन व्यवस्थापन जिम्मा पाएका गिरोहका अर्का सदस्य चिनियाँ नागरिक, सुन व्यवस्थापनमा काठमाडौंमै रहेका अरू तीन चिनियाँ र उनीहरूका सहयोगीसमेत अहिले फरार छन् । फरार रहेका दाओजिन वाङसँग आफ्नो पुरानै चिनजान र सम्पर्क रहेको पूर्वसभामुख महराले स्वीकार गरेका छन् । सुन तस्करीमा यसलाई जोडेर नहेर्न उनले आग्रह गरेका छन् । तर, उनको दाबीविपरीत तस्करीको नेटवर्कसँग महरा, उनका छोरा राहुल र गिरोहका अरू सदस्यबीच भन्सारले भेप नियन्त्रणमा लिएपछि सामान छुटाउन पटक–पटक कुराकानी भएको देखिन्छ । चिनियाँ नागरिक ली हानसोङ २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएका थिए । भेप जाँचपासका क्रममा शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार गोदाममा राखेर थप अनुसन्धान अघि बढेको थियो । सामान करिब डेढ महिना भन्सार गोदाममै थन्किएको थियो । त्यहीबीच केही कर्मचारीलाई हातमा लिएर गिरोहले भन्सारमा सुन रहेका भेप उम्काएर बजारबाट किनेर ल्याएर फेरबदल गरेको थियो । सामान साटफेर हुनुअघि सुन भएको भेप छुटाउन महरा बाबु–छोराले कर्मचारी, गिरोहका सदस्य र बिचौलियासँग पटक–पटक टेलिफोन संवाद गरेको तथ्य अनुसन्धानबाट खुलिसकेको छ । तर, यो प्रकरणमा भेप चोरी गरेर सुन बेच्ने गिरोहमाथि मात्रै मुद्दा चलेको छ । भेपको आवरणमा भएको सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित गिरोहका सदस्यहरू दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, भारतीय नागरिक साहेब राव पाण्डुरङ मरगले, निर्मलकुमार विक, दीपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापाविरुद्ध मात्रै संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ । प्रहरी स्रोतले सुन ल्याउने गिरोहमाथि अनुसन्धान जारी रहेको र त्यसको कनेक्सनमा भएका व्यक्ति निगरानीमै रहेको बताएको छ । ‘यसअघि भेपको सुन चोरेर बिक्री गर्नेमाथि मुद्दा दायर भएको हो । अहिले सुन ल्याउने व्यक्ति र तिनको नेटवर्कमा रहेकामाथि अनुसन्धान जारी छ,’ अनुसन्धान स्रोतले भन्यो । सुन ल्याउने चिनियाँ गिरोहका लीले पूर्वसभामुख महरालाई फोन गरेको देखिन्छ । अर्का सुन तस्कर दाओजिन वाङसँग पनि उनको पटक–पटक कुरा भएको अनुसन्धानले देखाएको छ । त्यसपछि लीको लोकेन्द्र पौडेल र श्याम शाहसँग सम्पर्क हुन्छ । यो बीच वाङले पौडेल, शाह, असिन र महराका छोरा राहुलसँग सम्पर्क गर्छन् । राहुलको आसिन र पौडेलसँग पनि पटक–पटक सम्पर्क भएको देखिन्छ । यो नेटवर्कमा रहेकामध्ये लीको महरा, वाङ, पौडेल, शाह, असिन र खुवाप्रसाद न्यौपानेसँग सम्पर्क देखिन्छ । लीले वाङसँग फेरि कुरा गरेपछि नेपालमा भएका गिरोहसँग अर्को नेटवर्कमा कुरा हुन्छ । प्रहरी अनुसन्धानमा उनीहरूको सम्पर्क सुन बेचबिखनमा रहेको समूह (पक्राउ परी मुद्दा दायर भइसकेको) का रेवन्त खड्का, दिनेश बस्नेत, निर्मल विक, दीपेश बस्नेत, गोपाल सुवेदी लगायतसँग भएको देखिन्छ । प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले भेपमा लुकाएर ल्याएको सुन प्रकरणको अनुसन्धानको काम अझै भइरहेको बताए । ‘पक्राउ परेका आरोपितको हकमा अनुसन्धानको समयसीमाका कारण तोकिएको समयभित्र प्रतिवेदन बुझाउने र अभियोजन गर्नुपर्ने बाध्यता हुन्छ, नौ केजीको हकमा पनि त्यही भएको हो,’ उनले भने, ‘बाँकी अनुसन्धान निरन्तर चलिरहेको छ । तथ्य र प्रमाणले भेटेसम्म संलग्नलाई कारबाहीको दायरामा ल्याइन्छ ।’ उनले पछिल्लो समय भेप, ब्रेक सुलगायतको आवरणमा सुन लुकाएर ल्याउने गिरोह र यसअघिका सुन प्रकरणसँग पनि कनेक्सन देखिन सक्ने भएर त्यतातिर पनि नजर लगाएर अनुसन्धान जारी रहेको उनले बताए ।