४८० नेपाली साउदीको जेलमा
एजेन्सी,
विश्वमा नेपालमा रोजगारी नपाएर युवा बिदेसिने क्रम उच्च छ। केहीले विभिन्न मुलुक गएर श्रम गर्दै राम्रो आम्दानी पनि गरेका छन्। केही जहाजमा गएर बाकसमा फर्किएको तितो यथार्थ छ भने, केही विभिन्न मुलुकका जेलमा छन्। जेलमा पर्नुको कारण छोटो समयमा धेरै पैसा कमाउने लोभमा त्यहाँको कानुनविपरीतको काम गर्नु नै हो। अहिले साउदी अरेबियाको जेलमा ४ सय ८० नेपाली रहेको दूतावासको तथ्यांकले देखाउँछ। यो हालसम्मको तथ्यांक हो। साउदी अरबस्थित दूतावासमा आउने उजुरीमध्ये सबैभन्दा धेरै पारिश्रमिक नदिएको छ भने कम्पनीले समयमा अस्थायी बसोबासको कागजपत्र (अकामा) उपलब्ध नगराउने, आपतकालीन अवस्थामा घर जान बिदा नदिने, लामो समय काममा लगाउने, जोखिमयुक्त क्षेत्रमा काममा लगाउने तथा सम्झौताविपरीत काममा लगाउने उजुरी परेको छ। जेल पर्नेमध्ये ८० प्रतिशत मदिरा बनाउने र ओसारपसारको आरोपमा कैद सजाय भोगिरहेका छन्। बाँकी भने, साउदीको नियमविपरीत काम गरेर जेल परेको दूतावासले जनाएको छ। साउदीमा अवैधानिक तरिकाले कार्यरत कम्पनी छोडेर भाग्ने नेपालको संख्या पनि दैनिक बढ्दो दरमा रहेको छ। दूतावासका अनुसार विभिन्न सेवा सुविधा र तलबको लोभमा परी हालसम्म कम्पनी छोडेर भाग्ने नेपालीको संख्या १२ हजारभन्दा बढी छ। साउदीमा बिना जानकारी सम्बन्धित कम्पनीबाट भागेमा साउदीको नियम र कानुनअनुसार कामदारले पाउने सेवा सुविधाबाट बञ्चित रहने छन्। जबसम्म सम्बन्धित कम्पनीले भागेका कामदारमाथि एक्जिट लगाउँदैन तबसम्म स्वदेश फिर्ता हुन पाउँदैनन्। एक्जिट लगाएको २ महिनाभित्र स्वदेश फिर्ता नभए साउदीको नियमअनुसार १–२–३ हजार जरिवाना थपिँदै जान्छ। साउदीमा रक्सी ओसारपसारमा कार्यमा जेल परेकाहरूलाई र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पुनःसाउदी अरेबिया फर्कन नसक्ने गरी बन्देजसमेत गरिन्छ भने लागुऔषधमा पनि साउदीमा कडा नियम रहेको छ। घटनाको अवस्था हेरेर मात्राअनुसार मृत्युदण्ड सजायसमेत रहेको छ। गएको वर्ष मात्रै साउदीले लागुऔषधसम्बन्धी अपराधमा ३० जनालाई मृत्युदण्डको सजाय दिएको थियो साथै रक्सीको केसमा पनि ६ महिनादेखि पाँच वर्षसम्मको सजाय हुने र जरिवानासमेत तिर्नुपर्ने नियम रहेको छ। दूतावास रियाद र वाणिज्य दूतावास जेद्दाका अनुसार बहिर्गमन भिसा फारम भर्नेको संख्या दैनिक रूपमा बढ्दो छ। दूतावास रियाद र वाणिज्यदूत जेद्दाले बहिर्गमन भिसा पाउने नेपालीको नामावली आफ्नो फेसबुक पेजमा सार्वजनिक गर्दै आएको छ भने बाँकी बहिर्गमन भिसाका लागि आवश्यक कार्य भइरहेको जानकारीसमेत गरेको छ। बहिर्गमन भिसा पाउनेले भिसा जारी मितिले ६० दिनभित्र साउदी अरेबिया छोडिसक्नुपर्ने छ। जुलाई महिनाभित्रमा नेपाली दूतावासको सहयोगमा साउदी अरेबियामा अवैध रूपमा कार्यरत अकामी नवीकरण नगरेका १ सय ३८ जना नेपालीका लागि साउदी सरकारले बहिर्गमन भिसा जारी गरेको छ। साउदीमा रोकिएका उनीहरू अब स्वदेश फिर्ता हुने भएका छन्। दूतावास रियाद र वाणिज्य दूतावास जेद्दाका अनुसार बहिर्गमन भिसा फारम भर्नेको संख्या दैनिक रूपमा बढ्दो छ। दूतावास रियाद र वाणिज्यदूत जेद्दाले बहिर्गमन भिसा पाउने नेपालीको नामावली आफ्नो फेसबुक पेजमा सार्वजनिक गर्दै आएको छ भने बाँकी बहिर्गमन भिसाका लागि आवश्यक कार्य भइरहेको जानकारीसमेत गरेको छ। बहिर्गमन भिसा पाउनेले भिसा जारी मितिले ६० दिनभित्र साउदी अरेबिया छोडिसक्नुपर्ने छ। दूतावासका अनुसार साउदी अरेबिया आउने क्रममा कामदारले आउने कम्पनीका बारेमा बुझ्ने, सम्झौता गर्दा राम्रोसँग पढेर मात्रै सहमति जनाउने, साउदीमा काम गर्ने कामका बारेमा दक्ष भएर आउने, मेनपावरलाई रकम बुझाउने क्रममा सरकारले तिरेको रकम मात्र दिने, आफू आउने देशको नियम कानुनबारे जानकारी लिनुपर्ने बताएको छ।