कांग्रेस बैठकमा बालकृष्ण खाँणको बचाउ
रासंसा/ललितपुर, श्रावण ८,
मुलुकमा कांग्रेसका संस्थापन पक्षधर नेताहरूले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रिय सदस्य बालकृष्ण खाँणको बचाउ गरेका छन्। नीतिगतरुपमै कानुन बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको भन्दै कोइरालाले हाल संसदमा रहेको ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक (२०८०)’ तत्काल खारेज गरिनुपर्ने बताए। नक्कली शरणार्थी प्रकरणबारेको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनीहरूले केन्द्रिय समितिले त्यसबारे थप निर्णय गर्नुपर्ने आवश्यकक्ता नरहेको जिकिर गरेका छन्। संस्थापन ईतर पक्षधर नेताहरू भने खाँणलाई निलम्वन गरेर नक्कली शरणार्थी प्रकरणको छानविनमा सहयोग गर्नुपर्ने तर्क गरिरहेका छन्। प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेताहरूलाई खुइल्याउने काम नगर्न आग्रह गरे। ‘सामाजिक सञ्जालबाट नियोजित किसिमले विरोध गर्ने कुरा कसैले कहीँबाट पनि गर्न हुँदैन,’ उनले भने, ‘हाम्रो पार्टीको मिसन छ। हामी हाम्रो पार्टीप्रति गर्व गर्छौं। उच्च मनोबलका साथ जनतामा जान्छौं।’ महतले अगाडि भने, ‘हामी त खत्तम भइसक्यौं। हाम्रो अब भविष्य छैन। फलानोले गर्दाखेरी पार्टी यो ठाउँमा पुग्यो। ऊ ठाउँमा पुग्यो भन्ने मानसिकताबाट प्रस्तुत हुन्छौं भने जतिसुकै, जतिवटा कार्यक्रम गरे पनि हामीले हाम्रो जनआधार जुन विस्तार गर्ने लक्ष्य राखेका छौं एक्लै निर्वाचन जित्ने लक्ष्य राखेका छौं। त्यो पूरा हुन सक्दैन। अनावश्यक किसिमको गालीगलौज, सामाजिक सञ्जालबाट नियोजित किसिमबाट विरोध गर्ने कुरा नभएकोलाई पनि भएको जस्तोगरी प्रस्तुत गर्ने कुरा हामी कहीँकतैबाट, कसैले पनि गर्नु हुँदैन। त्यो नगरेर हामी एक मनले, एक चित्तले पार्टी संगठनमा लाग्यौं भने, जनताको बीचमा गयौं भने नेपाली कांग्रेसलाई कसैले रिप्लेस गर्न सक्दैन।’ महतले भने। आइतबारको बैठकमा सहमहामन्त्री किशोरसिंह राठोरले पार्टी अप्ठ्यारो अवस्थाबाट गुज्रेका बेला महामन्त्रीहरू सभापतिलाई असफल भन्दै खुइल्याउन खोजिरहेको आरोप लगाए। उनले भने, ‘पार्टीमा एक मत भएन। महामन्त्री पद भनेको के हो ? महामन्त्रीले सभापतिसँग असहमति गरेर जान खोज्ने भनेको मिथ्या कुरा हो।’ उनले पार्टीभित्र अनुशासनको आवश्यकता रहेको भन्दै पार्टीमा मतभिन्नताहरू हुन सक्छन् भन्दै अगाडि भने, ‘एक अर्कालाई कतिपय अवस्थामा मन पराउँला नपराउँला। तर, संकटका बेला कुनै पनि विषयलाई अदालतले पुष्टि नगरी त्यो विषयको निचोडमा पुगेर आफ्नै साथीभाइ माथि खनिने प्रवृत्ति पनि गलत हो।’ पार्टीका साथीलाई कुनै आरोप लागेमा पक्षमा उभिने कि नउभिने भन्दै उनले भनिन्, ‘आफ्नै साथी थुनामा पर्दै गर्दा पक्षमा उभिने कि नउभिने ? जिल्लामा कुनै साथीलाई कुनै आरोप लाग्दा पक्षमा उभिने कि नउभिने ?’ कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले अदालतमा रहेको विचाराधीन मुद्दालाई बहसको विषय बनाइएको भन्दै पार्टी भित्रैबाट आफ्ना नेताहरूलाई जबरजस्ती फसाउने काम भएको बताएकी छन्। उनले खाँणमाथिको आरोप प्रमाणित गराउन पार्टीकै नेताहरूले दबाब दिएको बताइन्। उपाध्यायले भनिन्, ‘हाम्रो एकजना साथीलाई आरोप लगाइएको छ। न्यायालयमा मुद्दा विचाराधीन छ। तर, हाम्रै पार्टीका साथीहरू आरोपलाई प्रमाणित गराउन दबाब दिइरहनुभएको छ।’ न्यायलयलाई प्रभावमा राख्ने काम भएको भन्दै उपाध्यायले भनिन्, ‘यो कार्यप्रति पार्टीले सचेत हुनुपर्छ। पार्टी साथीहरूलाई जबरजस्ती फसाउन किन लाग्नुभएको छ ?’ केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले भुटानी शरणार्थी प्रकरणमा अदालतको अन्तिम फैसला नआएसम्म थुनामा रहेका नेतालाई कारबाही गर्न नहुने बताएका छन्। केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै साउदले कांग्रेस नेता बालकृष्ण खाँणलाई लक्षित गर्दै अनुसन्धानमा सघाउँदै आएको व्यक्तिलाई कारबाही गरे पार्टीको हित नहुने बताए। केन्द्रीय समितिको बैठकमा बोल्दै सहमहामन्त्री महेन्द्र यादवले खाँणलाई राज्यले फसाएको बताएका छन्। यादवले भने, ‘हाम्रो आदरणीय नेता बालकृष्ण खाँणजीलाई राज्यले फसाएको छ। उहाँप्रति राज्यले ठूलो अन्याय गरेको छ।’ उनले खाँणमाथि ठगीमा मात्र नभई राजद्रोहको मुद्दा लगाइएको पनि बताए। ‘उहाँको नाम कसैले पोलेको थिएन। प्रमाण पनि थिएन। ठगी मात्र होइन राजद्रोहकै मुद्दा लगाइएको छ।’ उनले भने, ‘ठगीमा राजद्रोहको मुद्दा लगाउने हो भने दिनमै १०–२० मुद्दा लगाउन मिल्छ।’ बैठकमा भुटानी शरणार्थी प्रकरणको चर्चा गर्ने क्रममा साउदले अनुसन्धानलाई पार्टीले पनि सघाउनु पर्ने बताएका थिए। ‘अनुसन्धानलाई पार्टीले सहयोग गर्नुपर्छ। अदालतको निर्णय पर्खिनुपर्छ। अदालतको प्रक्रिया नपर्र्खीकन हामीले हतारमा एक र दुई वा तीन जनालाई कारबाही गर्ने विषय होइन’ साउदले भने, ‘बाहिर आएको आधारमा केही मानिसको बारेमा लेखेको आधारमा कारबाही गर्दा पार्टीको हित गर्दैन।’ उनले खाँणमाथि अहिले अभियोग मात्र लागेको बताए। पूर्वगृहमन्त्री खाँण नक्कली भुटानी शरणार्थी मुद्दामा कारागारमा छन्। ‘उहाँको मुद्दा अन्तिम नभएसम्म केही नगरौं। उहाँले धेरै दुःख गर्नुभएको छ। सके सहयोग गरौं नसके दुःख नदिऔं।’ उनले भने, ‘मलाई विश्वास छ उहाँ निर्दोष भइ आउनुहुनेछ।’ केन्द्रीय सदस्य श्याम घिमिरेले कांग्रेसभित्र अन्तरकलहले मुलुकमै क्षति पुगेको बताउँदै भने, ‘कांग्रेसभित्र अन्तरकलह चुलिँदा पार्टी मात्र होइन मुलुक र लोकतन्त्रलाई क्षति पुगेको छ। समग्र एकताको अवस्था कसरी सिर्जना गर्न सकिन्छ भन्नेतर्फ नेताहरूको ध्यानाकर्षण गराउनु चाहन्छु।’ कुनै अभियोग लागेको मान्छे अन्तिममा निर्णय नभएसम्म कसुरदार नहुने यादवले बताए। ‘संविधानको धारा २० मा भनेको छ। कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिने छैन।’ उनले भने, ‘यो हामीले बनाएको संविधान हो। अन्तिममा निर्णय नभएसम्म उहाँ कसुरदार हो भनेर हामीले बाहिर बोलिदिनु भएन। उहाँ हाम्रै परिवारको साथी हो।’ पार्टीभित्रको अन्तरकलहका असर पार्टीको जगैसम्म पुगिसकेको भन्दै घिमिरेले भने ‘पार्टीमा एउटाले टिकट पाउँछ। अरु सबै हराउन लाग्ने प्रवृतिको विकास भएको छ। यो हामीमा मौलाएको गुटगत प्रवृतिका कारण हो। पार्टीभित्रको समस्या समधानका लागि विधि र विधानको पालना पहिलो सर्त भएको घिमिरेले भने, ‘पार्टीको विधानमा समस्या भए संशोधन गरौं। तर, अब पार्टीलाई विधानअनुसार चलाऔं।’ केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अहिले कांग्रेसलाई गठबन्धनबारे समीक्षा गरेर बस्ने समय नभएको भन्दै गठबन्धन गरेर ठिक वा बेठिक भयो भनेर अहिले समीक्षामा समय खर्चनु नहुने बताए। कोइरालाले भने, ‘सरकारको कामकाज समीक्षा र प्रभावकारिताबारे अहिले भनिहाल्नुपर्ने समय हैन। तर, गठबन्धनको मर्मअनुसार सरकार सञ्चालन भएको छ कि छैन वा मन्त्रीहरूले स्वतस्फूर्त काम गर्न पाएका छन् कि छैनन् भन्ने विषयमा भने सोच्नुपर्ने बेला आएको छ।’ उनले सभापति शेरबहादुर देउवाको अनुभव, उपसभापति पूर्णबहादुर खड्काको कुटनीति र महामन्त्री गगन थापाको ऊर्जा पार्टीको पुँजी भएको भन्दै सही ढंगले परिचालन गर्नुपर्ने बताए। उनले स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म सहभागी कांग्रेस प्रतिनिधिहरूबाट जनअपेक्षा अत्यन्त बढी रहेको र त्यसअनुरुप जनतालाई चित्त बुझाएर काम गर्न नसक्दा पार्टीको भविष्य मात्र अन्धकार हुने भन्दै नेपालको लोकतन्त्र पनि कमजोर र दिशाहिन हुन जानेतर्फ सबै सचेत हुनुपर्ने बताए। अर्का केन्द्रीय सदस्य डा. शशांक कोइरालाले पार्टीभित्रका एजेण्डा भुलेर कांग्रेस खाली एक अर्काको खेदो खन्नमा लागि परेको भान जनतालाई भएको भन्दै राम्रो मान्छे चुनेर मात्रै पार्टीको क्रियाशील सदस्यता दिनेतर्फ पार्टी लाग्नुपर्ने बताएका छन्। क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित नहुने धारणा राखे। कांग्रेसको नीति ठीक हो भनेर मनैदेखि नलागेसम्म क्रियाशील सदस्य बढाउन नहुने उनको धारणा थियो। यस्तै, नेता कोइरालाले राज्यका जिम्मेवार निकायहरूकै कारण देशमा पछिल्ला दिनहरूमा दण्डहिनता बढ्दै गएको बताए। नीतिगतरुपमै कानुन बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको भन्दै उनले हाल संसदमा रहेको ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक (२०८०)’ तत्काल खारेज गरिनुपर्ने बताए।
