पौने ८ लाख जनसंख्या जनगणनामा छुटे
रासंसा/काठमाण्डौ, आषाढ २८,
मुलुकमा राष्ट्रिय जनगणना २०७८ मा झन्डै पौने ८ लाख छुटेको देखिएको छ। जसमा सहरी क्षेत्रमा धेरै छुटेको देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार २०७८ मंसिर ९ गतेको सन्दर्भ बिन्दुमा प्रकाशित कुल जनसंख्यामा ७ लाख ७१ हजार ९ सय ९८ जना छुटेको देखिन आएको छ। अघिल्ला दशकका जनगणनाको आधार जनगणनाको गुणस्तरमा क्रमिक सुधार हुँदै गएको राष्ट्रिय तथ्यांक कार्यालयको भनाइ छ। तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार २०६८ को जनगणनामा ३.६ प्रतिशत छुटेको थियो। त्यस्तै २०५८ मा ५ प्रतिशत र २०४८ मा १० प्रतिशत छुटेको थियो। जनगणना २०७८ मा २.६ प्रतिशत छुटेका हो। जसअनुसार सहरी क्षेत्रमा ५ लाख ८५ हजार ७ सय ८२ र ग्रामीण क्षेत्रमा १ लाख ८६ हजार २ सय १६ जना छुटेको अनुमान गरिएको छ। निर्देशक लामिछाने जनसंख्याको प्रभावकारिता पत्ता लगाउन गरिने ‘गणना जाँच सर्र्वेेक्षण (पीईएस)ले गरिने गरेको बताउँछन्। जनगणनालगत्तै गणना जाँच सर्र्वेेक्षण गरिन्छ। राष्ट्रिय जनगणना २०७८ अुनसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ हो। तथ्यांकमा छुटेको नथपिने तथ्यांक कार्यालयले जनाएको छ। निर्देशक लामिछाने नेपालको जनसंख्या अबको १० वर्षसम्म २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ नै उल्लेख हुने बताउँछन्। गणना जाँच सर्र्वेेक्षणले जनगणनामा कुनै तोकिएको गणना क्षेत्र, घरपरिवार र परिवार सदस्यको गणनामा समेटिने दर अथवा पूर्णतामा भएको कमी, कमजोरीको दोहोरो प्रणाली मापन विधिका आधारमा मापन गरी देशको वास्तविक जनसंख्या निर्धारण गर्ने गरिएको छ। राष्ट्रियस्तरमा ९६.२ प्रतिशत जनसंख्याको गणना जाँच सर्र्वेेक्षण र मूल जनगणना दुवैमा हुबहु मिलान हुने गरी गणना भएको देखिएको छ। दुवै गणना भएकाहरूको हुबहु मिलान दर सहरी क्षेत्रमा केही कमी देखिन्छ। सहरी क्षेत्रमा ९६.१ प्रतिशत देखिएको छ। राष्ट्रियस्तरमा २.०९ प्रतिशत जनसंख्या गणना जाँच सर्वेक्षणमा गणना भएको तर मूल जनगणनामा गणना नभएको देखिएको छ। यो दर सहरी क्षेत्रमा २.४४ प्रतिशत मापन गरिएको छ। समग्र मुलुकको ०.३२ प्रतिशत र सहरी क्षेत्रको ०.३४ प्रतिशत जनसंख्या जनगणनामा गणना भएको तर गणना जाँच सर्वेक्षणमा नसमेटिएको देखिएको छ। जाँच सर्वेक्षणले जनगणनाको बेलामा र हाल सोही स्थानमा अक्सर बसोबास भएका घरपरिवार र परिवार सदस्यलाई मात्रै समेटेको छ। सर्वेक्षणमा संस्थागत आवास जस्तैः विद्यालय छात्रावास, होटल, वृद्धाश्रम, ब्यारेक आदिमा बसोबास गर्ने परिवारलाई समेटिएको छैन। घरपरिवार र परिवार सदस्यको जनगणनाको बेला र हालको अक्सर बसोबासको अवस्थाका आधारमा सर्वेक्षण गरिएको हो। जनगणनाको समय र हाल पनि सोही ठाउँँमा बसिरहेको, जनगणना पछि बाहिर गएको, जनगणना पछि बाहिरबाट आएको र जनगणना पछि जन्मिएको आधारमा सर्वेक्षण गरिन्छ। जनगणनामा गणना हुनबाट छुटेको संख्यामा एक सयमा २.५८ जना भएको निक्र्योल जाँच सर्वेक्षणले गरेको छ। जसमा सहरी क्षेत्रमा २.९५ प्रतिशत र ग्रामीण क्षेत्र १.८५ प्रतिशत मापन गरिएको छ। आठ क्षेत्रअनुसार गणनाको खुद छुटदर काठमाडौंं उपत्यकामा सबैभन्दा बढी छ। काठमाडौंंको छुट ४.४२ प्रतिशत छ। राष्ट्रिय जनगणना २०७८ मा समग्रमा प्रति १०० जनामा ०.१५ जनाको गणना एकभन्दा बढी ठाउँँबाट भएको अनुमान गरिएको छ। दोहोरो गणनाको प्रवृत्ति पनि ग्रामीणभन्दा सहरी क्षेत्रमा निकै उच्च देखिएको छ भने यसको दर गण्डकी प्रदेश, काठमाडौं उपत्यका र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय औसतभन्दा धेरै र कोसी प्रदेशमा सबैभन्दा कम मापन गरिएको छ। त्यसपछि लुम्बिनी प्रदेशमा २.९९ प्रतिशत देखिएको छ। सबै आठ विश्लेषण क्षेत्रमा जनगणनाको खुद छुट दर ग्रामीणभन्दा सहरी क्षेत्रमा उच्च पाइएको छ। जनसंख्याको उमेरअनुसार हेर्दा गणनाको खुद छुटदर ८० वा सोभन्दा पाको उमेरको सबैभन्दा बढी छ। यो उमेरको छुटदर ४.१ प्रतिशत छ। त्यसपछि २० देखि २४ वर्षमा ३.९ र २५ देखि २९ वर्षमा ३.८ प्रतिशत देखिएको छ। खुद छुट दर र दोहोरो गणना दरको योगफल कुल त्रुटि वा छुट दर मानिन्छ। राष्ट्रिय जनगणना २०७८ मा समग्रमा प्रति १०० जनामा २.७३ जनाको गणनामा कमि कमजोरी वा त्रुुटि देखिएको छ जसमा वास्तविक गणना हुनुपर्ने व्यक्ति त्रुटिपूर्ण तवरले छुटेकाको संख्या २.५८ प्रतिशत छ भने एकभन्दा बढी ठाउँबाट दोहोरिएर गणना हुनेको संख्या ०.१५ प्रतिशत छ। कुलत्रुटिदर पनि ग्रामीणमा १.९६ प्रतिशत छ भने सहरीमा क्षेत्रमा ३.१३ प्रतिशत छ। ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा १.१७ प्रतिशत बढी छुटेको पाइएको छ। जनगणनामा प्रत्येक व्यक्तिको पूरा भएको उमेर उत्तरदाताले बताएअनुसार टिपोट गर्ने चलन छ। जस अनुसार राष्ट्रिय जनगणना २०७८ मा उमेर साथै जन्ममिति पनि खुलाउनु पर्ने व्यवस्था अनुरूप उमेरको टिपिएको थियो। जसले गर्दा अघिल्ला जनगणनाका तुलनामा यो गणना जाँच सर्वेक्षणमा भन्दा पनि निकै सुधार भएको देखिएको तथ्यांक कार्यालयको दाबी छ। उमेरको शुद्धताको मापन प्रचलनमा भएका विधिहरू ह्विपल इन्डेक्स, मेयर्स ब्लेन्डेड इन्डेक्स र यूएन उमेर शुद्धता सूचकका आधारमा गरिएको छ। गणनामा कुन त्रुटिदर सबैभन्दा बढी काठमाडौं उपत्यका छ। काठमाडौंमा ४.६० प्रतिशत त्रुटिदर मापन गरिएको छ भने सबैभन्दा कम कोसी प्रदेशमा १.९८ प्रतिशत मापन भएको छ। लामिछाने जनगणनामा शतप्रतिशत सही नहुने बताउँदै नेपालमा मात्रै होइन, भारत र अमेरिकाजस्ता देशमा छुुट्ने गरेको बताउँछन्। समग्रमा यो गणना जाँच सर्वेक्षणले देशमा पहिलोपटक जन्मस्थान, उमेर, लिंग, वैवाहिक अवस्था, साक्षरताजस्ता व्यक्तिका वैयक्तिक विशेषताको टिपोट वा गणनामा देखिएको फरक दर अथवा विसंगति दरलाई पनि मापन गरी प्रस्तुत गरेको छ। सबै सूचकमा यदि मापन गरिएको आंकडा २० भन्दा कम आएमा फरक दर वा विसंगति दर न्यून भएको मान्य हुने स्थापित मापदण्डअनुसार उल्लेखित विषयमा विसंगति दर कम अर्थात् नतिजा राम्रो देखिएको तथ्यांक कार्यालयको दाबी छ। त्यस्तै निरक्षरभन्दा साक्षर बढी छुटेका छन्। साक्षरताका आधारमा हेर्दा जनगणनामा निरक्षर २.६ प्रतिशत छुटेका छन् भने साक्षर २.९ प्रतिशत छुटेको पाइएको छ। यो जनगणनामा पुरुष धेरै छुटेका छन्। खुद छुटदर महिलाको २.३ प्रतिशत छ भने पुरुषको २.९ प्रतिशत बढी देखिएको छ। त्यस्तै विवाहितभन्दा अविवाहित बढी छुटेका छन्। विवाहित २.१ प्रतिशत छुटेका छन् भने अविवाहित ३.० प्रतिशत छुटेको पाइएको छ।