डोल्पालिबासीको प्रश्न खोइ त गाउँ–गाउँमा ‘सिंहदरबार’ ?

Share to:

रासंसा/सुर्खेत, ज्येष्ठ ३१,

मुलुकमा डोल्पाको मुड्केचुला गाउँपालिका जिल्ला सदरमुकामदेखि २० कोश टाढा छ । हालै एक कार्यक्रममा सहभागी हुन प्रदेश राजधानी सुर्खेत आएका गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाही संघीयताका नाममा ‘गाउँ–गाउँमा सिंहदरबार’ भनिए पनि व्यवहारतः कार्यान्वयन नभएको गुनासो पोखे । उनका अनुसार व्यक्तिको नेतासँगको सम्बन्धका आधारमा गाउँमा विकास जान्छ । त्यो विकास नभई विकासका नामको बेतिथि हो भन्ने उनलाई लाग्छ । अधिकार सारा ‘सिंहदरबार’ मा राखेर गाउँ–गाउँमा ‘सिंहदरबार’को नारा लगाउनु सार्थक नहुने उनको जिकिर थियो । उनले प्रदेश र केन्द्र सरकारबाट कुनै प्रकारको सहयोग, समन्वय नहुने बताए । विकास निर्माण र सहकार्य पालिकासँग भन्दा बढी व्यक्ति (पात्र) अनुसार हुने गरेको अनुभव पनि उनले सुनाए । अहिले सरकारले जनसंख्यालाई आधार मानेर बजेट दिइरहेको छ । अध्यक्ष शाहीले बजेट भूगोल र आवश्यकताका आधारमा दिनुपर्ने बताउँछन् । अहिले दिइरहेको बजेट र सार्वजनिक खरिद ऐनबाट हिमाली जिल्लाका पालिकाहरु ठगिएको उनले बताए । प्रदेश सरकारबाट गाउँमा गएका कतिपय ५—१० लाखका योजनाहरु कार्यकर्ता संरक्षणका लागि मात्र जाने गरेको उनको आरोप छ । उनी संघीयता बलियो बनाउने भए स्थानीय तहलाई अधिकार सम्पन्न गराइनुपर्ने तर्क गर्छन । भन्छन्,‘साझा अधिकारका कुरा छन् । तर, अधिकार जति केन्द्रमा राखेर गाउँमा ‘सिंहदरबार’ भनिएको छ ।’ उनले उदाहरण दिँदै भने,‘सुर्खेतबाट खरिद गरेको कुनै सामग्री डोल्पा पु¥याउने बजेटले सुर्खेतमा १ किलोमिटर सडक कालोपत्रे हुन्छ । सुर्खेतको पालिका र डोल्पाको पालिकाको एउटै मापदण्डमा रहेर काम गर्नुपर्दा भौगोलिक रुपमा विकट भएका पालिकाहरु ठगिएका छन् ।’ दक्ष जनशक्ति उत्पादन र त्यसका लागि शैक्षिक गुणस्तर नै पहिलो कुरा हो भन्ने मनन गर्दै आफू आइसकेपछि दुईवटा माध्यामिक विद्यालयलाई प्लस टु सम्म सञ्चालनमा ल्याएको बताए । त्यस्तै, प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर जनतालाई सेवा दिइरहेको जनाए । उनका अनुसार डोल्पाको मुड्केचुलाबाट पहिला जस्तो सामान्य उपचार अनि भिडिओ एक्सरेका लागि चौरजहारी, जाजरकोट, जुम्ला पुग्नु पर्दैन ।

Like