सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण, नयाँ नागरिकता ऐन तत्काललाई कार्यान्वयनमा रोक

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २२,

मुलुकमा सर्वोच्च अदालतले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको ऐन तत्काल कार्यान्वयनमा रोक लगाएको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आइतबार नयाँ ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि विधेयक कार्यान्वयनमा रोक लगाएको हो। रिट निवेदनमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, संघीय संसद प्रतिनिधिसभा, राष्ट्रियसभा र सभामुखलाई विपक्षी बनाइएको छ। अदालतले रिटका दुवै पक्षलाई छलफलमा बोलाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार यससम्बन्धी विधेयक ‘निष्क्रिय’ भएको आठ महिनापछि गत बुधबार प्रधानमन्त्री कार्यालयको पत्रका आधारमा प्रमाणीकरण गरेका थिए। उक्त विधेयक राजपत्रमा प्रकाशन भई आइतबारदेखि कार्यान्वयन हुन थालेको थियो। वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणसँग सम्बन्धित पत्राचार एवं कार्यहरू अवैधानिक भएको दाबी गर्दै शुक्रबार रिट निवेदन दायर गरेका थिए। उक्त रिटमाथि आइतबार सुनुवाइ गर्दै सर्वोच्चले विधेयक यथास्थितिमा राख्न आदेश दिएको हो। सर्वोच्च अदालतबाट आइतबार साँझ मात्र आदेश आएको छ। अब केही समय नागरिकता वितरण रोकिन्छ। वितरण भइसकेको नागरिकताको विषयमा अहिले केही भन्न सकिँदैन। संवैधानिक रूपमा निस्क्रिय भइसकेकोे विधेयकलाई मन्त्रिपरिषद्ले मान्यता दिन र प्रमाणीकरणका लागि पेस गर्न नमिल्ने दाबी रिट निवेदनमा गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विधेयक प्रमाणीकरणका लागि यही जेठ १२ गते राष्ट्रपति पौडेलसमक्ष पत्र पठाएको थियो। राष्ट्रपतिले संविधानको धारा ६१ का उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तबमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो। संविधानका धारा ६१ र ६६ प्रयोग गरेर विधेयक प्रमाणीकरण गरेको कार्य आधारहीन र अवैधानिक भएको दाबी रिट निवेदनमा गरिएको छ। सर्वोच्चले अल्कालीन अन्तरिम आदेश दिएसँगै नयाँ नागरिकता ऐनका आधारमा जन्मसिद्धका सन्तानलाई नागरिकता दिने कार्य रोकिएको छ। ‘सर्वोच्च अदालतबाट बेलुका मात्र आदेश आएको छ। अब केही समय नागरिकता वितरण रोकिन्छ’, गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले अन्नपूर्ण पोस्ट्सित भने, ‘वितरण भइसकेको नागरिकताको विषयमा अहिले केही भन्न सकिँदैन।’ ‘सबै जिल्ला प्रशासन कार्यालयबाट यकिन विवरण पठाउन माग गरेका छौं। आइतबार बेलुकासम्म सबै विवरण आइसकेको छैन। सोमबारसम्म आउला’, उनले भने। झापाबाहेक अन्य कति जिल्लाबाट कति जनालाई नागरिकता वितरण भयो भन्ने यकिन विवरण आइनसकेको प्रवक्ता बस्नेतले बताए। उनका अनुसार जिल्ला प्रशासन कार्यालय झापाले ३३ जनालाई नयाँ ऐनअनुसार नागरिकता प्रदान गरेको छ। मन्त्रालयले नयाँ ऐनअनुसार नागरिकता वितरण गर्न शुक्रबार निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा आइतबार विभिन्न जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण भएको हो। झापामा जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन सुरु गरिएको थियो। वरिष्ठ अधिवक्ता भण्डारीले सर्वोच्चको आदेशले नयाँ ऐनका आधारमा नागरिकता वितरणको कार्य तत्कालका लागि रोकिएको बताए।

Like