‘विश्वासको संकट समाधान भयो’ – प्रधानमन्त्री प्रचण्ड

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २१,

मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतलाई लिएर राजनीतिक नेतृत्व तहमा रहेको विश्वासको संकट यसपटकको भ्रमणले समाधान गरेको बताएका छन् । चारदिने भारत भ्रमण सकेर फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग बोल्दै दाहालले यस्तो बताएका हुन् । दाहालले २०१९ देखि अफ्ठ्यारो भएको नेपाल-भारत सम्बन्धमा सुधार भएको पनि बताए । साथै भारतसँग भएको पारवहन सन्धि पनि आफ्नो भ्रमणको उपलब्धि भएको उनले बताएका थिए । ‘प्रेस मिटमा तपाईंहरुले मोदीजी र मेरो मुखबाट पनि सुन्नु भयो । उहाँले नेपालसँगको सम्बन्धलाई हिमाल जतिको उच्च बनाउने भन्नुभयो,’ दाहालले भने, ‘२०१४ मा नेपालको संसदमा बोल्दा जुन उत्साह थियो त्यसलाई स्मरण गर्दै त्यसलाई हिट भन्नु भएको थियो । अब सुपरहिट गर्नुपर्छ भनेर भन्नु भएको छ । त्यसले पनि विश्वासको वातावरण बन्दै छ भन्ने देखाएको छ ।’ ‘हाम्रो धेरै छलफल नेपालको व्यापार घाटा कम गर्न र कृषि उपजलाई वृद्धि गर्न साथै भन्सारमा सहजिकरण गर्ने विषयमा केन्द्रित रह्यो,’ दाहालले भने, ‘यस विषयमा भारतीय प्रधानमन्त्री मोदीसँग राम्रोसँग छलफल भयो । त्यसले पनि यो भ्रमण विगतको भन्दा फरक मात्रै नभएर परिणाममुखी पनि भयो ।’ दाहालले छलफलको परिणाम आउन लागेको समयमा वातावरण बिगार्ने गरी नकारात्मक कुरा गरेर नेपाललाई धेरै फाइदा नहुने बताएका थिए ।

Like