‘सिंहदरबार र बालुवाटारभित्रै भएका थिए करोड–करोडका लेनदेन’ नक्कली शरणार्थी प्रकरणमा बयान
रासंसा/काठमाण्डौ, ज्येष्ठ १०,
मुलुकमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रपञ्चमा लागेको गिरोहका नाइके सानु भण्डारीले सरकारी तहबाट काम गराउन सिंहदरबारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको दाबी गरेका छन् । गिरोहका सदस्यले बयान दिँदा तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी नैनकला, तत्कालीन गृह सचिव प्रेमकुमार राई र तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश वज्राचार्य तथा सल्लाहकार अजयक्रान्ति शाक्यको पनि नाम लिएका छन् तर प्रहरीले उनीहरू कसैलाई पनि आरोपित बनाएको छैन । नक्कली भुटानी शरणार्थी बनाउन मन्त्री, सचिव र मन्त्रीका सल्लाहकारलाई सोझै र निकटस्थमार्फत रकम बुझाएको बयान उनले दिएका छन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी नैनकला, छोरा प्रतीक, सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृह सचिव प्रेमकुमार राई, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, त्यस बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश वज्राचार्य तथा सल्लाहकार अजयक्रान्ति शाक्य, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, उनका स्वकीय सचिव नरेन्द्र केसी, गृह सचिव टेकनारायण पाण्डेलगायतलाई रकम बुझाएको भण्डारीको भनाइ छ । तत्कालीन गृह सचिव प्रेमकुमार राईलाई इन्द्रजितमार्फत १ करोड रुपैयाँ गाडीमा राखिदिएको भण्डारीको दाबी छ । तत्कालीन गृहमन्त्री थापाले छोरा प्रतीकमार्फत मन्त्री क्वार्टरमै बोलाएर ३ करोड लिएको उनको दाबी छ । त्यसमध्ये १ करोड थापा पत्नी नैनकलाले बुझेको उनले बताएका छन् । यस्तै प्रतीकले २०७६ असारमा नक्सालको एक होटलमा छुट्टै १ करोड रुपैयाँ लिएको दाबी गरिएको छ । नक्कली शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि प्रतीक फरार छन् । पूर्वगृहमन्त्री थापा मौन छन् । इन्द्रजितमार्फत ५ करोड ५० लाख रुपैयाँ बुझाएको भण्डारीले प्रहरीलाई बताएका छन् । इन्द्रजितका छोरा नीरजले पनि १ करोड ५० लाख रुपैयाँ बुझेको उनको बयान छ । नीरज अहिले फरार छन् । प्रहरी अधिकारीहरूका अनुसार तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका स्वकीय सचिव लीला जीसीमार्फत २०७६ असोजमा प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर ओलीका स्वकीय सचिव वज्राचार्यलाई १ करोड रुपैयाँ बुझाएको भण्डारीको बयान छ । अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितले भने पुल्चोकस्थित मन्त्री क्वार्टरमा जनही १/१ करोड लिएको उनले प्रहरीलाई बताएका छन् । तत्कालीन गृह सचिव राईले अवकाश पाएपछि गृह मन्त्रालयमा महेश्वर न्यौपाने आएका थिए । न्यौपानेपछि गृह सचिव बनेका टेकनारायण पाण्डेले मन्त्रालय र सिंहदरबार परिसरमा पटक–पटक गरी १ करोड २४ लाख ५० हजार रुपैयाँ बुझेको गिरोहको बयान छ । त्यसमध्ये अंगरक्षकमार्फत २५ लाख बुझेको दाबी छ । तत्कालीन गृहमन्त्री खाणलाई ३० लाख दिएको र गृह सचिव पाण्डेमार्फत मन्त्रीसहितलाई मिलाउन भनेर थप ८९ लाख ५० हजार रुपैयाँ दिएको भण्डारीले प्रहरीलाई बताएका छन् । खाणका स्वकीय सचिव केसीलाई ५ लाख दिएको उनको भनाइ छ । पूर्वउपप्रधानमन्त्री रायमाझीलाई १ करोड ६० लाख र उनका छोरा सन्दीपमार्फत थप ४० लाख दिएको भण्डारीको दाबी छ । अर्का नाइके केशव दुलालले भने सहकर्मी भण्डारीको बयानसहित सम्पूर्ण आरोप अस्वीकार गरेका छन् । उनले नेपालीलाई अमेरिका पठाउन नक्कली शरणार्थी बनाउन खोजेको, पैसा उठाएको र जिम्मेवार पदाधिकारीलाई दिएको सबै आरोप असत्य भएको दाबी गरेका छन् । अरू आरोपितले पनि यस्तै बयान दिएका छन् । भण्डारीले नाम लिए पनि तत्कालीन गृहमन्त्री थापा, उनकी पत्नी नैनकला, तत्कालीन गृह सचिव राई, तत्कालीन प्रधानमन्त्री ओलीका सल्लाहकार शाक्य र स्वकीय सचिव वज्राचार्यसहितका व्यक्तिले पैसा बुझेको प्रमाण फेला नपरेको भन्दै मुद्दा चलाउन नपर्ने निष्कर्ष प्रहरीले निकालेको छ । पछि तथ्य र प्रमाणले खुलेबमोजिम मुद्दाको अनुसन्धान हुने विकल्प भने प्रहरीले खुलै राखेको छ । तर, गिरोहका नाइके भण्डारीले सरकारी वकिलको रोहवरमा प्रहरीलाई दिएको बयानमा नाम लिएकामध्ये पूर्वमन्त्री खाण, उनका स्वकीय सचिव केसी, तत्कालीन गृह सचिव पाण्डे, तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, पूर्वउपप्रधानमन्त्री रायमाझी र उनका छोरा सन्दीप पक्राउ परिसकेका छन् । १७ जना भने अझै फरार छन् । उनीहरूमाथि अनुसन्धान टुंग्याएर तीन कसुरमा मुद्दा दायर गर्नुपर्ने र थप २ कसुरको अनुसन्धानका लागि लेखी पठाउनुपर्ने रायसहितको प्रतिवेदन तयार पारेर प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । भण्डारीको बयानसँग मिल्दोजुल्दो भनाइ प्रहरीले अडियो रेकर्डमा पनि प्राप्त गरेको छ । जसमा दुलालले भनेका छन्, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सहायक राजेश वज्राचार्य, तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनका सल्लाहकार इन्द्रजित राईका छोरा नीरज, थापाका छोरा प्रतीक, तत्कालीन गृह सचिव प्रेमकुमार राई, पछि गृह सचिव भएका महेश्वर न्यौपाने, राजेश्वर स्थापित, डा. अजय क्रान्तिलाई पनि पैसा दिएको हुँ ।’ जेठ २ मा जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराइएका पूर्वगृहमन्त्रीलाई उनको घरबाट बरामद डायरीसहितका सामान देखाउँदै उनको अक्षर पहिचान गर्न भनिएको थियो । तर उनको जवाफ थियो, ‘यो बारेमा मैले भोलि मात्र स्पष्ट भन्न सक्छु ।’ एमाले अध्यक्ष ओलीका स्वकीय सचिव वज्राचार्यले भने भण्डारीलाई आफूले नचिन्ने दाबी गरे । ‘नक्कली भुटानी शरणार्थीबारे मलाई थाहा छैन,’ उनले भने, ‘कसैले बदनाम गराउन बयानमा आरोप लगाएको देखियो । समग्रमा एमालेलाई बदनाम गराउन खोजिएको छ ।’ यो प्रकरणमा प्रतिशोध लिन खोजिएको उनको भनाइ छ । अर्को दिनको बयानमा यही प्रसंगमा पहिलो प्रश्न सोधिएको थियो । जसमा डायरीको अक्षर आफ्नै हो भनी पुष्टि गरेका थिए । तर पक्राउ पर्दाको बखत उनले च्यातेको कागज प्रहरीले जोडेर पढ्न लायक बनाएको थियो । सम्भवतः आफ्ना सहयोगी नरेन्द्र केसीलाई सम्बोधन गर्दै खाणले लेखेका थिए, ‘नरेन्द्रजी, ओली वा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीका मुख्य प्रतिवादीहरूलाई मात्र मुद्दा दायर गर्ने र अब थप आरोपित व्यक्तिलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रूप लिन्छ, नभए जटिल मोडमा राजनीति पुग्ने अवस्था छ ।’ दुलालले बोलेको एउटा अडियोमा प्रस्ट भनिएको छ, ‘गृह मन्त्रालयमा रहेको गृहमन्त्रीको गोप्य कोठामा ३० लाख, उनका सहयोगी नरेन्द्र केसीलाई ५ लाख दिएको छु । त्यस्तै सचिव टेकनारायण पाण्डेमार्फत १ करोड २४ लाख ५० हजार पनि मन्त्रीलाई दिएको छु ।’ खाणले उक्त रकम लिएको पुष्टि सचिव पाण्डेले पनि गरेका छन् । यसरी सर्वसाधारणबाट पैसा संकलन गर्ने गिरोहका सदस्यलाई मात्र पक्राउ गर्न र आफूहरूसम्म आए देशको राजनीति संकटमा पर्ने चेतावनी उनले दिएका थिए । यो बारेमा सोधिएको प्रश्नमा खाणले यति मात्र भनेका छन्, ‘यस सम्बन्धमा मलाई जानकारी भएन ।’ तत्कालीन गृह सचिव पाण्डे र गिरोहका नाइके केशवप्रसाद दुलालबीचको ह्वाट्सएप र भाइबर संवादमा भुटानी शरणार्थीसम्बन्धी पटकपटक भएको प्रमाण प्रहरीले प्रस्तुत गरेको छ । कुराकानीमा गिरोहले ‘फाइनान्सियल एरेन्ज’ गरेपछि मात्र मन्त्रीलाई भेट्न पाएको खुलेको छ । त्यस्तै खाणका सहयोगी केसीबाट पनि प्रहरीले कागज बरामद गरेको थियो । त्यसअघि नै पक्राउ परेका सचिव पाण्डेले हिरासतबाटै लेखेको पत्र भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । पाण्डेले हिरासतबाटै पत्र लेखेर दुलालको बयान फेराउनै पर्न दबाब दिएका थिए । जसमा लेखिएको छ, ‘दुलालको पुनः बयान गराएर पुरानो कुरा सच्याउनुपर्यो । नभए मन्त्रीज्यूसमेतको मुद्दा जान सक्छ, अदालतमा गएर इन्कारी बयान दिएर हुँदैन । मन्त्रालयमा मन्त्री, सचिव र अन्य कसैसँग पनि लेनदेनको विषयमा कुनै कुराकानी नै भएको छैन । एक हप्ताको म्याद थप भएको छ, यही अवधिमा जुनसुकै हालतमा सच्याइ बयान हुनुपर्छ । पार्टीभित्र र विशेषतः आफ्नै गुटका नेताहरू मन्त्री किन अहिलेसम्म नल्याएको भनेर फलोअप गरिरहेका रहेछन् । नेपाली नागरिकलाई भुटानी बनाई विदेश पठाइदिने भन्दै ठगी गरेको रकममध्येबाट दुलालले मन्त्रालयमै आएर १ करोड २४ लाख ५० हजार रुपैयाँ मन्त्रीलाई मन्त्रालयमा दिएको हो भनी स्पष्ट खुलाइदिएका छन् । पाण्डेले बयान दिएका छन्, ‘दुलाल गिफ्टसहित गृह मन्त्रालयमा आएका हुन् । मैले सचिवालयमार्फत मन्त्रीज्यूलाई भेटाइदिएको हुँ । उनी र मन्त्रीज्यूबीच सिधै सम्पर्क भएको हो, रकम सिधै मन्त्रीज्यूलाई दिए वा सचिवालयमार्फत अन्य कसैलाई जिम्मा दिइयो र सो सम्बन्धमा सचिवालय वा मन्त्रीज्यूबाट खुल्नेछ ।’ एक हप्ताको म्याद थप भएको छ, यही अवधिमा जुनसुकै हालतमा सच्याइ बयान हुनुपर्छ । पार्टीभित्र र विशेषतः आफ्नै गुटका नेताहरू मन्त्री किन अहिलेसम्म नल्याएको भनेर फलोअप गरिरहेका रहेछन् ।’ खाणले भने यो पत्रका बारेमा पनि इन्कारी बयान दिएका छन् । नक्कली शरणार्थी प्रकरणमा तानिएका १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने १७ जना अझै फरार छन् । १ सय १३ जनाका तर्फबाट प्रहरीमा परेका २३ वटा जाहेरीमा करिब साढे २७ करोड रुपैयाँ ठगी भएको उल्लेख छ । त्यही रकमलाई नै बिगो कायम गरेर ३३ जनाविरुद्ध राज्यविरुद्धको अपराध, संगठित अपराध र ठगीमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । सकेसम्म बुधबार नै अदालतमा मुद्दा दायर गर्ने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको तयारी छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपितलाई थप दुई दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । यसअघि थपिएको म्याद अपुग भएकाले आरोपितलाई हिरासतमा राख्ने समय दुई दिन बढाइएको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीले गिरोहका केशव दुलाल, सानु भण्डारी र सागर थुलुङ राईलाई पक्राउ गरेको २ महिना पुग्न लागेको छ । सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेर अदालतले थुनछेक बहस गर्छ । त्यसपछि आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर वा साधारण तारेखमा छाड्ने आदेश हुन सक्छ । शरणार्थी प्रकरणका १६ आरोपित प्रहरी परिसर टेकु, प्रहरी वृत्त सिंहदरबार, सोह्रखुट्टे, दरबारमार्ग, कालीमाटीलगायत युनिटका हिरासतमा छन् । पक्राउ परेका १६ र फरार १७ गरी ३३ जनाविरुद्ध राज्यविरुद्धको अपराध, संगठित अपराध र ठगीको कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदन अध्ययन र अभियोगपत्र तयार पार्न सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदल अभियोगपत्र लेखनमा जुटेको सरकारी वकिल कार्यालयले जनाएको छ । उनीहरूकै बयान र प्राप्त प्रमाणका आधारमा पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलगायत पक्राउ परेका थिए । यो प्रकरणमा तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक, सुरक्षा सल्लाहकार राईका छोरा नीरज, गिरोहकै नाइके अशोक पोखरेललगायत फरार छन् ।