बिचौलिया बनेका नेताका परिवार, कसरी बन्छन् बिचौलिया ?
रासंसा/काठमाण्डौ, बैशाख २९,
मुलुकमा ‘कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने व्यक्ति नै नेता हुन्’ भनेर नेपाली बृहत् शब्दकोशले अर्थ्याएको छ। अनि, ‘प्रजाको शान्तिसुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने र यस्तै अन्य कार्य गर्ने नीति बनाउने नै राजनीति हो’ भनिएको छ। पहिला नेताका सन्तान र परिवारका सदस्य राजनीतिक विरासतको लागि मरिहत्ते गर्थे। त्यो पदको सम्मान पनि थियो। तर, पछिल्लो समयमा उनीहरू विभिन्न धन्दा र ‘सेटिङ’मा लिप्त हुन थालेका छन्। नेताका छोराछोरी, पत्नी, नातागोता बिचौलियाका रूपमा देखा परेका छन्। तर, पछिल्लो घटनाक्रम हेर्दा केही नेताले सही बाटो देखाउनुको साटो आफैं गलत बाटोमा हिँडिरहेका छन्, राजनीति आफैंले नीति बिर्सिएको छ। त्यतिमात्रै होइन, घरमूली नेता हुँदा तिनैका सन्तानले बिचौलियाको काम गरिरहेको नक्कली शरणार्थी प्रकरणले खुलस्त पारेको छ। पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज, बादलकै छोरा प्रतीकसम्म नक्कली शरणार्थी प्रकरणमा जोडिएका छन्। यो प्रकरणमा अन्य धेरै नेताका छोराछोरी, श्रीमती नातागोता नै मुछिएको प्रहरी अनुसन्धानले देखाउँछ। पहिला नेताका सन्तान र परिवारका सदस्य राजनीतिक विरासतको लागि मरिहत्ते गर्थे। त्यो पदको सम्मान पनि थियो। तर, पछिल्लो समयमा उनीहरू विभिन्न धन्दा र ‘सेटिङ’मा लिप्त हुन थालेका छन्। नेताका छोराछोरी, पत्नी, नातागोता बिचौलियाका रूपमा देखा परेका छन्। पैसा असुली गर्ने, कमिसन खानेसम्मका काममा उनीहरू लागेको पाइएको छ। शक्तिको आडमा वडादेखि संघसम्मै नेताका छोरा, छोरी, आफन्तको राजनीति हाबी भएको छ। नेताले भेट्नु पर्यो, कुनै योजना लिएर जानु पर्यो भने पनि उनीहरूमार्फत मात्रै जानुपर्ने अवस्था रहेको नेताबाटै पीडित बनेकाहरू बताउँछन्। पछिल्लो समयमा शक्तिको आडमा परिवारका सदस्यले जे गरे पनि हुने मनोवृत्ति बढ्दै गएको छ। यो संस्थागत रूपमा नै विकास भइरहेको यो घटनाक्रमले प्रष्ट पार्छ। नेतादेखि कर्मचारीमा परिवारवाद चरम रूपमा देखिन थालेको छ। कमिसन उठाउने काममा परिवारका सदस्य परिचालित भएका छन्। उनले चुनावमा करोडौं खर्च हुने भएपछि यसरी नै नेताहरूले असुली गरिरहेको बताए। ‘यो एउटा प्रकरण हो। पछिल्लो समयमा चुनाव महँगो भएको छ। नेताहरू यसरी करोडौं असुली गरिरहेका छन्,’ उनले भने। राजनीतिक विश्लेषक बराल नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गरेको कार्य राम्रो भएको बताउँछन्। राजनीतिक विश्लेषक लोकराज बराल नेताका वरिपरिका मान्छेले नै पदको दुरुपयोग गर्ने गरेको बताउँछन्। ‘पहिला पनि नेताका छोराछोरी, नातागोताले नै हो, पद र पहुँचको दुरुपयोग गर्ने र अनियमितता गर्ने। अहिले त अझ बढेर गएको छ,’ उनले भने, ‘पञ्चायतकालमा परिवारका सदस्य र वरिपरिकाले नै यस्तो गर्थे। त्यो बेला त्यस्ता घटना लुकाइथ्यो। अहिले बाहिर आयो।’ राजनीतिज्ञ र दलालबीच साँठगाँठ गराउने काम पनि परिवारकै सदस्यबाट हुने गरेको उनको भनाइ छ। अर्का राजनीतिज्ञ लोकेश ढकाल पछिल्लो समय राजनीतिक सैद्धान्तिकभन्दा पनि व्यापारीकरण भएको बताउँछन्। भन्छन्, ‘प्रधानमन्त्रीले नै छोरालाई व्यापारमा लगाउँछन्। नेताका छोराछोरीकै यस्तो कार्यमा दबदबा छ।’ यसरी राजनीतिमा परिवारका सदस्यहरूको दबदबा हुँदा अपराधले प्रश्रय पाएको उनी बताउँछन्। प्रतिव्यक्ति २० देखि ५० लाख रुपैयाँसम्म लिएर नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी भएको भन्दै हालसम्म १ सय ५० जनाभन्दा बढीले उजुरी गरेका छन्। यो प्रकरणमा हाइप्रोफाइलका नेता र प्रशासकहरू पक्राउ परेसँगै राजनीतिक रूपमा हलचल पैदा भएको छ भने राजनीतिक नेतृत्वमा भुइँचालो नै आएको छ। यो प्रकरणमा पनि शीर्ष नेतृत्वका परिवारकै सदस्य मुछिएका छन्। तीमध्ये केही पक्राउ परेका छन् भने केही अझै फरार छन्। यो प्रकरणमा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, पाँचथरका टेक गुरुङ, मोरङका सागर राई र सन्देश शर्मा पक्राउ परिसकेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाँण सबैभन्दा उच्च राजनीतिक व्यक्ति हुन्। खाँण कांग्रेसका प्रभावशाली नेता पनि हुन्। सभापति शेरबहादुर देउवाका विश्वासपात्र खाँण पटकपटक मन्त्री भइसकेका छन्। नेपाल विद्यार्थी संघ र तरुण दलका पूर्वअध्यक्ष पनि हुन् उनी। देउवाका खास मान्छे खाँणकी पत्नी मञ्जुले नक्कली शरणार्थी प्रकरणमा बिचौलियाबाट ६ करोड रुपैयाँ लिएको अडियो नै सार्वजनिक भएको छ। खाँणलाई वैशाख २७ गते प्रहरीले पक्राउ गरिसकेको छ। यो विषयमा मुछिएकी खाँण पत्नी मञ्जु भने फरार छिन्। यो प्रकरणमा पक्राउ परिसके पनि कांग्रेसले बालकृष्णलाई कारबाही गरेको छैन। यो प्रकरणमा पक्राउ परेकी मञ्जुलाई कांग्रेसले कारबाही गर्ने आँट गरेको देखिँदैन। तत्कालीन गिरिजाप्रसाद कोइरालाको निकट रहेका खाँण पार्टी विभाजनपछि देउवासँग निकट भए। देउवा नेतृत्वमा आएसँगै खाँणको प्रभाव बढ्यो। उनले आफ्नो प्रभाव र पहुँचकै बलमा पत्नी मञ्जु खाँणलाई समानुपातिकबाट सांसद पनि बनाएका छन्। अनि पटकपटक मन्त्री हुने अवसर पनि पाएका छन्। २०७९ सालको निर्वाचन भने गृहमन्त्री हुँदाहुँदै खाँण राप्रपाका नेता दीपक बोहरासँग पराजित भए। पराजित भए पनि पार्टीमा उनको शक्ति भने घटेको थिएन। टोपबहादुर रायमाझी एमालेका निलम्बित सचिव हुन्। पक्राउ पुर्जी जारी भएका उनी हाल फरार छन्। उनी माओवादीका पुराना नेता हुन्। डा. बाबुराम भट्टराई माओवादीमा रहँदासम्म टोपबहादुर रायमाझी उनका नजिकका नेता मानिन्थे। डा. भट्टराईले माओवादी छोडे र रायमाझी माओवादीमै रहे। २०७५ साल जेठ ३ मा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्यो। २०७७ फागुन २३ सर्वोच्च अदालतले नेकपा भंग गरेर एमाले र माओवादी केन्द्रलाई बिउँत्याइदियो। मन्त्री रहेका टोपबहादुर एमालेमा नै बसे। २०७९ सालको निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र उनका छोरा सन्दीप दुवै मुछिएका छन्। छोरा सन्दीपलाई प्रहरी पक्राउ गरिसकेको छ। सन्दीप यो प्रकरणमा बिचौलियाका भूमिकामा रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो। टोपबहादुर बिरामी भन्दै फरार छन्। यो प्रकरणमा मुछिएपछि एमालेले उनलाई निलम्बन गरेको छ। सुरक्षाविज्ञको रूपमा माओवादी शान्तिप्रक्रियामा आएँसँगै उनी चर्चित थिए। यो प्रकरणको मुख्य योजनाकार नै राई रहेको बताइएको छ। उनले रामबहादुर थापा बादल गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकारको रूपमा २०७४ फागुन १४ गतेदेखि २०७८ असार २८ गतेसम्म काम गरे। राईले गृहमन्त्री, गृहसचिवलगायतलाई मिलाउनुपर्छ भन्दै गिरोहबाट पटक–पटक गरी पाँच करोड रकम लिएको खुलेको छ। उनका छोरा निरज राईको यो प्रकरणमा संलग्नता देखिएको छ। प्रहरीले निरजविरुद्ध पक्राउ पुर्जी नै जारी गरिसकेकोे छ। तर, उनी फरार छन्। बाबुछोरा नै यो गिरोहसँग मिलेर नक्कली शरणार्थी बनाउने काममा लागेको प्रहरीको अनुसन्धानले देखाएको छ। यो समयमा नै नक्कली भुटानी शरणार्थी बनाउने योजनामा उनको नै मुख्य भूमिका रहेको देखिएको छ। द्वन्द्व विशेषज्ञका रूपमा चिनिने उनलाई प्रहरीले पक्राउ गरिसकेको छ। रामबहादुर थापा ‘बादल’ लामो समय गृहमन्त्री हुनेमध्येका एक नेता हुन्। २०७४ फागुन १४ गतेदेखि २०७८ असार २८ गतेसम्म उनी गृहमन्त्री रहे। वाम गठबन्धनमा यो सरकारमा माओवादी केन्द्रको तर्फ नेतृत्व गर्दै बादल गृहमन्त्री भएका थिए। उनी गृहमन्त्री भएको बेला नै छुट भुटानी शरणार्थीको विवरण संकलन गर्न गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनेको थियो। यो प्रकरणमा बादलका छोरा प्रतीक थापाको नाम पनि जोडिएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको अभियोग उनी माथि छ। उनलाई पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले बताएको छ। बादलकै पालामा नक्कली शरणार्थी बनाउने प्रयास भएको थियो। त्यो काममा बादलकै सुरक्षा सल्लाहकार इन्द्रजित नै लागे। तर, त्यो बेला यो काम सफल हुन सकेन्। कार्यदल प्रतिवेदन तयार गरेर पेस गरिसकेको छ। यो प्रतिवेदनलाई किर्ते बनाउने काम भएको छ। चलखेल गरेर प्रतिवेदन किर्ते गर्ने कार्यमा तत्कालीन गृह मन्त्रालय नेतृत्व र गृहसचिवको भूमिका रहेको प्रहरीको दाबी छ। तर, पछिल्लो समय त्यो कार्यदलको प्रतिवेदन नै गायब बनाइएको छ। राजनीतिक विश्लेषक सुरेन्द्र लाभ परिवारको कुनै सदस्य ठूलो ठाउँमा छ भने छोराछोरी, श्रीमती, आफन्तले जे गरे पनि हुन्छ भन्ने मनोवृत्ति हाबी भएको बताउँछन्। जसरी पनि पैसा कमाउनुपर्छ भन्ने प्रवृत्ति परिवारमा हाबी भएको उनको विश्लेषण छ। पैसा कमाउन अपराधमा नै सन्तानलाई लगाउने प्रवृत्ति हाबी हुने समाज कता गइरहेको भन्ने देखाएको उनले बताए। ‘मेरो बाबु ठूलो मान्छे हो। मैले जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति बढ्यो। परिवार नै पैसा कमाउन अपराध गर्न पछि नपर्ने भए। त्यो प्रवृत्तिले समाज र देशलाई कता पुर्याउने हो भन्ने स्थिति आएको छ,’ उनले भने, ‘देशमा आर्थिक संकट छ। उता भ्रष्टाचारीको घरमा करोडौं थन्किएको छ।’