८७५ शरणार्थीको सूची बनाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ, पैसा असुल्ने शक्तिशालीलाई कानुनी फन्दा

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २१,

मुलुकमा भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै ८ सय ७५ नेपालीबाट १० देखि ५० लाखसम्म ठगी गर्ने गिरोहसँग मिलेमतो गर्ने राजनीतिक तथा प्रशासनिक नेतृत्व कानुनी पकडमा तानिएको छ । नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेपछि उनीहरूबाट बरामद प्रमाण तथा बयानका आधारमा प्रहरीले थप अनुसन्धान गरेको हो । प्रहरीले आरोपितहरूको बैंकिङ कारोबारलाई पनि पछ्याउँदै अनुसन्धान गरिरहेको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई मंगलबार र गृह हुँदै अहिले उपराष्ट्रपति कार्यालयमा पुगेका सरकारका सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेका छन् । तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने छोरा सन्दीपलाई बुधबार साँझ प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको छ । तत्कालीन गृहमन्त्रीका सल्लाहकार राई मंगलबार पक्राउ परेपछि तत्कालीन गृहसचिव पाण्डे, एमाले सचिवसमेत रहेका पूर्वमन्त्री रायमाझी र छोरा सन्दीपविरुद्ध थप प्रमाण जुटेको प्रहरी अधिकारीहरूको भनाइ छ । मन्त्रीको सल्लाहकारका रूपमा गृह मन्त्रालयभित्र बसेर गिरोहको योजनाअनुसार नीतिगत निर्णयमा प्रभाव पार्दै आएका राईले भित्रका सबै सूचना र दस्ताबेज गिरोहलाई उपलब्ध गराउँदै आएको आरोप छ । राईसहितको गिरोहले तत्कालीन नेकपा नेता रायमाझीलाई पनि साथमा लिएर नीति निर्माणमा प्रभाव पार्दै आएको थियो । कार्यदलले काम गरिरहेकै बखत राजनीतिक संरक्षण प्राप्त गिरोहले नक्कली शरणार्थीको सूची बनाएको थियो । गृहको प्रतिवेदन अझै सार्वजनिक भएको छैन । तर सरकारी र राजनीतिकस्तरबाटै प्रतिवेदन हात पारेको गिरोहले प्रतिवेदनमा ‘छुटेका शरणार्थी’ र ‘तेस्रो देशमा शरण लिन चाहने’ शीर्षकमा उपसूची थप गरी पैसा संकलन गरेको थियो । यही आधारमा झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङलगायत जिल्लाबाट रकम संकलन गरी ८७५ को नक्कली शरणार्थी सूची बनाइएको थियो । धेरैजसो भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गरिए पनि केही शरणार्थी अझै अलपत्र छन् । छुटेका शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्न भन्दै गिरोहले नै कार्यदल गठन गर्ने गुरुयोजना बनाएको थियो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २९ असार २०७६ मा सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । अमेरिकी सपना देखाएर सर्वसाधारण नेपालीबाट पैसा संकलन गर्ने गिरोह र राजनीतिक नेतृत्वको साँठगाँठको समाचार कान्तिपुरले गत चैत २४ मा प्रकाशित गरेको थियो । समाचारमा गिरोहका नाइकेहरूसँग एमाले सचिव तथा अर्घाखाँचीका सांसद रायमाझीले हेलिकोप्टरमा गोसाइँकुण्ड ‘सयर’ गरेको तस्बिर मात्र होइन, उनका छोरा सन्दीपका नाममा गिरोहका सदस्यले काटेको डेढ करोडको चेकको प्रतिलिपि पनि प्रकाशित भएको थियो । रायमाझीले दुलाल, भण्डारीसँग निकट सम्बन्ध रहेको र उनीहरूलाई ‘अन्जानवश’ सहयोग गरेको बताइसकेका छन् । ‘शरणार्थी शिविरमा बाँकी रहेका भुटानीलाई छुट दर्ता वा नयाँ दर्ता गराएर अमेरिकासहितका मुलुकमा लगिनुपर्छ भन्दै दुलाल, भण्डारीसहितको टोली आएपछि मानवीय सन्दर्भमा सहयोग गरेको हुँ,’ उनले कान्तिपुरसँग भनेका थिए, ‘यसैक्रममा शरणार्थी समस्या समाधान गर्न कार्यदल बनेको थियो । त्यसका संयोजक पन्थीजीसँग पनि भेटघाट गरेर छलफल गरेको थिएँ । दुलालहरूले काम अड्कियो भन्दा फुकाइदिन सहयोग गरेको हुँ ।’ गिरोहका सदस्य अशोक पोखरेलले नबिल बैंकमा रहेको खाताको चेकबाट २०७६ जेठ १९ सन्दीपका नाममा चेक काटेका थिए । टोपबहादुरले पनि पोखरेलसँग चिनजान रहेको र विभिन्न विषयमा सहयोग गरेको बताइसकेका छन् । उनले कान्तिपुरसँग भनेका थिए, ‘इटहरीका अशोक पोखरेललाई नजिकबाट चिनेको छु, विभिन्न काममा धेरै सहयोग गरेको छु ।’ गत वर्षसम्म इटहरीमा एपेक्स हस्पिटल सञ्चालन गर्दै आएका पोखरेल अहिले अस्पताल बिक्री गरेर अमेरिका पुगेका छन् । सभामुख घिमिरे र सांसद रायमाझी बुधबार राति ९ बजे भैरहवाबाट काठमाडौं फर्कने गरी बुद्ध एयरको टिकट काटिएको थियो । सभामुख निर्धारित समयमै विमानस्थल पुगे पनि राममाझी भने गएनन् । ‘विमानस्थलमा पक्राउ पर्न सक्ने सम्भावना देखियो, त्यसैले सडकमार्गबाटै काठमाडौं लाग्नुभएको छ,’ उनीनिकट नेताहरूले भने । यो गिरोहको सञ्जाल पछ्याउने क्रममा बुधबार राति बुटवलबाट सन्दीप पक्राउ परेका हुन् । प्रहरीको अनुरोधमा काठमाडौं जिल्ला अदालतले बुधबार अपराह्न पक्राउ पुर्जी जारी गर्दा टोपबहादुर भने गृहजिल्ला अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसहितको कार्यक्रममा सरिक थिए । उनले पक्राउ पुर्जीबारे आफूलाई जानकारी नरहेको प्रतिक्रिया दिएका थिए । रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोबारे पार्टीको आधिकारिक धारणा बनिनसकेको एमाले प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वी सुब्बा गुरुङको भनाइ छ । ‘प्रहरीले आशंकाका भरमा पक्राउ पुर्जी जारी गरेको मात्रै हो, आरोप पुष्टि भइसकेको छैन,’ उनले कान्तिपुरसँग भने, ‘यसबारेमा उहाँ (रायमाझी) सँग पनि कुराकानी भएको छ । तर, पार्टीको आधिकारिक धारणा बनिसकेको छैन ।’ तर, तत्कालीन गृहमन्त्री खाँणले भने त्यो चलखेल र रकम असुलीबारे आफू जानकार नरहेको प्रतिक्रिया दिएका छन् । ‘एउटा सरकारी कार्यदलको दस्ताबेजमा त्यसरी नाम थपेर कसैलाई बाहिर पठाउने कुरै सम्भव छैन, यो पत्याउन नसकिने कुरा हो,’ खाँणले गत साता कान्तिपुरसँग भनेका थिए, ‘यसबारेमा मलाई जानकारी थिएन ।’ ओलीलाई प्रतिस्थापन गर्दै शेरबहादुर नेतृत्वको सरकार आएपछि पनि गिरोहको धन्दा जारी थियो । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा गृह मन्त्रालय ल्याइएका सचिव पाण्डेले नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहलाई सहज बनाउने काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘सचिव पाण्डेले दुलाल, भण्डारीसहितलाई मन्त्रालयमै बोलाएर शरणार्थी बन्न पाऊँ भन्ने फारम भर्न इच्छुकबाट जनही ५ लाख रुपैयाँ उठाउन निर्देशनसमेत दिएका थिए भन्ने जानकारी आएको छ । छोटो समय गृहसचिव रहेकै बेला उनले पेप्सीकोलामा नयाँ घर किनेको विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ,’ गृहकै एक अधिकारीले भने । हिरासतमा रहेका गिरोहका नाइकेहरूले धन्दाका धेरैजसो काम इटहरीको गोकुलम् रिसोर्ट, कलंकीको क्राउन इम्पेरियल र सानेपाको इन्टरनेसनल क्लबमा बसेर गरेको बयान दिएका छन् । यी ठेगानामा बसेर नक्कली कागजातको काम गर्ने तथा पैसा असुलउपर गर्ने गरेको उनीहरूको भनाइ छ । गृह मन्त्रालयबाट आवश्यक नीतिगत प्रबन्ध गर्न र कागजी निर्णय गर्न राजनीतिक तथा प्रशासनिक अधिकारीहरूले साथ दिएको पनि उनीहरूले बताएका छन् । भुटानी शरणार्थी समस्या समाधानमा स्थायी उपाय पहिल्याउन गृहका तत्कालीन सहसचिव पन्थीको संयोजकत्वमा गठित कार्यदलका सदस्य गणेश केसीसहितले गिरोहका नाइकेहरू केशव दुलाल र सानु भण्डारीसँग झापादेखि काठमाडौंसम्म उठबस गरेको विवरण प्रहरीले प्राप्त गरेको छ । ललितपुरको महांकाल गाउँपालिकामा माओवादीबाट निर्वाचित अध्यक्ष गणेश केसीले पनि यो गिरोहका नाइकहरूसँग शरणार्थी शिविरमा निकै पटक भेट भएको स्विकारेका छन् । ‘त्यसबेला म माओवादी नेताहरू पम्फा भुसाल, वर्षमान पुनसहितको सहयोगमा शरणार्थी समस्या समाधानको कार्यदल सदस्य बनेको थिएँ,’ उनले कान्तिपुरसँग भने, ‘पछि काम गर्दै जाँदा सानु भण्डारीले केही काम अघि बढेको छैन, यत्रो पैसा खर्च भइसक्यो भनेपछि मैले के–कहाँ खर्च भयो भनेर प्रश्न गरेको थिएँ । के तपाईंलाई यहाँ नियुक्ति दिलाउने काम सित्तैमा भएको छ भन्ठान्नुभएको हो भनेपछि म झसंग बनेको थिएँ ।’ भुटानी शरणार्थीका नाममा अमेरिका उडाउने भन्दै सर्वसाधारणबाट १० देखि ५० लाख रुपैयाँ असुल गरिएको भन्दै उजुरी परेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले पहिलो पटक गत चैत १२ मा यसका नाइके केशव दुलाल (मोरङ), सानु भण्डारी (ललितपुर) र टंक गुरुङ (पाँचथर) लाई ललितपुरबाट पक्राउ गरेको थियो । उनीहरूको बयान र उजुरीका आधारमा सागर थुलुङ राई (मोरङ), सन्देश शर्मा पोखरेल (दाङ), डा. इन्द्रजित राई, टेकनारायण पाण्डे र सन्दीप रायमाझी पक्राउ परिसकेका छन् । संगठित अपराधअन्तर्गत अघि बढेको यो मुद्दामा ६० दिनसम्म प्रारम्भिक अनुसन्धान गरेर अदालतमा लैजाने सरकारी वकिल कार्यालयको तयारी छ । तत्कालीन गृहमन्त्री थापाका सल्लाहकार इन्द्रजित राईका छोरा निरज फरार छन् भने थापाका छोरा प्रतीक र पूर्वगृह सचिव महेश्वर न्यौपानेलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ । थापा गृहमन्त्री रहेका बेला सचिव रहेका प्रेमकुमार राई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त छन् । राईले पनि त्यसबेला ‘इन्द्रजित राईसहितले भुटानी शरणार्थीका नाममा पैसा उठाइरहेको बारे सुइँको पाएर राईलाई बोलाएर यसबारेमा सोधपुछ गरेको’ कान्तिपुरलाई मंगलबार बताएका छन् । गिरोहका नाइके भनिएका केशव दुलाल, सानु भण्डारीलाई गृहमा छँदा कहिल्यै नभेटेको राईको भनाइ छ ।

Like