सुडानमा युद्धविराम अवधि थपियो तर हमला रोकिएन
एजेन्सी,
सुडानमा युद्धविरामको अवधि लम्बिएको भए पनि सङ्घर्ष रोकिएको छैन। सुडानी सशस्त्र बल (एसएएफ) र विपक्षी र्यापिड सपोर्ट फोर्सेस (एसआरएफ) अर्को ७२ घण्टा युद्धविराम गर्न सहमति भए पनि राजधानी खार्तुम र डार्फरमा हवाई हमलाका साथै लुटपाट जारी छ। अफ्रिकी सङ्घ, संयुक्त राष्ट्रसङ्घ, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बेलायत र अमेरिकाले एक संयुक्त वक्तव्य निकालेर युद्धविराम गर्न सहमति जनाएकामा त्यसको स्वागत गरेका छन्। उनीहरूले शत्रुतापूर्ण गतिविधि सदाका निम्ति अन्त्य गर्न वार्ता र मानवीय सहायता सुनिश्चित गर्नेतर्फ द्वन्द्वरत पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन्। साउदी अरब र अमेरिकाको दबाबमा द्वन्द्वरत दुवै पक्षले युद्धविराम गर्न सहमति जनाए पनि युद्ध भड्केकामा अन्तरराष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ। उक्त समुदायले युद्ध बन्द गर्ने सहमति पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ। पश्चिमी डार्फुरमा भड्किएको युद्धका कारण कुपोषणको शिकार भएका करिब पचार हजार बालबालिकालाई खाद्य सहायता उपलव्ध गराउन नसकिएको राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले जनाएको छ। सहायता निकायहरूका अनुसार हिंसाका कारण घरभित्रै फसेका धेरै सुडानी खाना, पानी, इन्धन र बिजुलीको अभावमा छटपटाइ रहेका छन्। केही भने ज्यान जोखिममा पारेर सुडानबाट पलायन भएका छन्। चौध दिनअघि युद्ध शुरुभएपछि सुडानबाट १४ हजार नागरिक सुरक्षाको खोजीमा देशबाट पलायन भएका इजिप्टका अधिकारीले बताएका छन्। पचास देशका दुई हजार विदेशीले पनि सुडान छाडेका छन्। बीस हजार सुडानी चाड पुगेका छन्भने चार हजार दक्षिण सुडानमा शरणार्थी भएका छन् तीन हजार पाँच सय जना इथियोपिया पुगेका तथा तीन हजारको हाराहारीमा अन्यत्र पलायन भएका राष्ट्रसङ्घीय निकायले जनाएका छन्। युद्ध जारी रहेमा थप दुई लाख ७० हजार सुडानी मुलुकबाट विस्थापित हुने चेतावनी पनि राष्ट्रसङ्घीय निकायहरूले दिएका छन्।