कम्बोडियाका प्रधानमन्त्रीलाई लुम्बिनीको कालानमक चामल उपहार

Share to:

रासंसा/रुपन्देही, बैशाख १६,

मुलुकमा बुद्धकालीन समयको ‘कालानमक’ चामल उपहारस्वरूप कम्बोडिया लगिने भएको छ । २५६७औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश कुमार त्रिपाठी)ले कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई उपहारस्वरूप कालानमक चामल प्रदान गर्ने भएका हुन । कार्यक्रममा सहभागी हुन जानुअघि शुक्रबार भिक्षु मेत्तेयलाई लुम्बिनी एग्रो टुरिजम एण्ड रिसर्च सेन्टरका तर्फबाट चन्द्रप्रकाश पाठकले कलानामक धानको चामल प्रदान गरेा थिए । यही वैशाख १९ गते (मे २ तारिख) का दिन कम्बोडियामा हुने अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा बुद्धजन्मस्थलको रैथाने कालानमक चामल कम्बोडियाका प्रधानमन्त्रीकै मागअनुसार उपहारस्वरूप प्रदान गरिने भिक्षु मैत्तयले बताए । बुद्धजन्मस्थल लुम्बिनीमा रहेको सेन्टरले विगत चार वर्षदेखि लोप हुने अवस्थामा पुगेको बुद्धकालीन कालानमक धानको संरक्षण र बजारीकरण गर्दै आएको छ । बौद्ध धर्म मान्ने मुलुक कम्बोडियाका प्रधानमन्त्रीले बुद्धकालीन कालानमक धानको चामल माग गर्नुले बौद्ध परम्परामा यो चामलको महत्त्व उजागर गरेको कोषका भिक्षु मैत्तयले बताए । कपिलवस्तु, लुम्बिनी र नवलपरासीमा उत्पादन हुने यो धानको चामललाई कम्बोडियाका प्रधानमन्त्रीलाई राज्य उपहारका रूपमा दिएसँगै कम्बोडियामा पनि प्रचार हुने उनको भनाइ छ । “कम्बोडियाका प्रधानमन्त्रीले लुम्बिनीबाट कालानमक धानको चामल माग गर्नुभएको छ, यो हाम्रो लागि असाध्यै खुसीको कुरा हो”, उनले भने, “हामीले उपहारस्वरूप कालानमक चामल दिन लागेका हौँ ।” बुद्धकालमा राजप्रासाद तिलौराकोट बाहिर असार पूर्णिमामा कालानमक रोपेर धान मङ्गलोत्सव गरिने इतिहासमा उल्लेख छ । बुद्धकालीन महत्त्व भएकाले यसको संरक्षण गर्न कम्बोडियाका प्रधानमन्त्रीले माग गर्नुले पुष्टि गरेको भिक्षु मैत्तयले बताए । खाँदा नरम, स्वादिलो र मगमग बास्ना आउने कालानमक धान र चामल मानव स्वास्थ्यका लागि असाध्यै राम्रो मानिन्छ । बौद्ध सम्पदासँग जोडिएका कपिलवस्तु, रुपन्देही र नवलपरासीका दक्षिणी क्षेत्रका किसानले यो धान लगाउन छाडेका छन् । बुद्धकालीन यो धान लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई स्वाद चखाउन सके यसको संरक्षणसँगै किसानले लाभ लिन सक्ने छन् । कम्बोडियाका प्रधानमन्त्रीसँग कोषका उपाध्यक्ष भिक्षु मैत्तयले भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको विकास र यसलाई विश्वकै महत्त्वपूर्ण ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको क्षेत्रका रूपमा विकास गर्न छलफल गर्ने छन् । साथै दुई देशका जनताबीचको सम्बन्ध, पर्यटन, शान्ति र विकासका लागि सहकार्यका विषयमा छलफल हुने उनले बताए । यो चामलमा पोटासियम, प्रोटिन, फाइबर, भिटामिन बी, आइरन र एन्टीअसिक्डेन्टको मात्रा बढी हुन्छ । त्यसैले यो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले कालानमक धान बुद्धकालीन मानिने हुँदा शुद्धोदन कालानमक उन्नत जातको धानको बीउ विकास गरेको छ ।

Like