मिटरब्याजपीडितमाथि जब लाठी बर्सियो
रासंसा/काठमाण्डौ, बैशाख ६,
मुलुकमा ‘त्रिपालमुनि सुतिरहेको थिएँ। बर्दी लगाएको सिपाही (प्रहरी) कुददै आयो। गाली गर्दै पिठियुँ र हातमा तीन लाठी हान्यो। हात भाँचिदियो। घाउ लगाइदियो।’ मिटरब्याजपीडित ७० वर्षीय रामकवल चमारको दुखेसो हो यो। भने, ‘गाउँमा साहुले मिटरब्याज लगाएर लुट्यो। न्याय माग्न काठमाडौं आएँ। यहाँ त सरकारले पुलिस लगायो।’मिटरब्याजपीडित ७० वर्षीय रामकवल चमारले भने, ‘गाउँमा साहुले मिटरब्याज लगाएर लुट्यो। न्याय माग्न काठमाडौं आएँ। यहाँ त सरकारले पुलिस लगायो।’ उनी बुढेसकालमा साहुले उठिबास लगाएपछि चरम पीडा त छन् नै, त्यसमाथि सरकारले न्याय दिनुको साटो बल प्रयोग गर्यो। काठमाडौं शान्तिवाटिकामा बसिरहँदा सोमबार प्रहरीले मिटरब्याजपीडितविरुद्ध बल प्रयोग गरेको थियो। त्यस क्रममा ‘हात भाँचिए’ पछि चमार दर्दले छटपटिएका छन्। नवलपरासी प्रतापुरका उनी बुढेसकालमा साहुले उठिबास लगाएपछि चरम पीडा त छन् नै, त्यसमाथि सरकारले न्याय दिनुको साटो बल प्रयोग गर्यो। उनीहरू सोमबार शान्तिवाटिकाबाट भद्रकाली हुँदै सिंहदरबारतिर मार्च पास गर्न लाग्दा प्रहरीले रोकेको थियो। त्यसैक्रममा प्रहरी–पीडत धकलाधकेल भयो। चमार भने हिँड्न नसकेर मार्च पासमा नगई आराम गरिरहेको थिएँ। प्रहरीले बल प्रयोग गर्दा उनीसहित ४३ पीडित घाइते भए। अधिकांश पीडितको शरीरमा निलडाम रहेको मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले जनाए। ५ जनाको हात र ५ जनाको टाउको फुटेर उनीहरू गम्भीर घाइते अवस्थामा छन्। उनी न्याय खोज्दै काठमाडौं आएको यो तेस्रोपटक हो। उनीसहित तराईका २० जिल्लाका सयौं मिटरब्याजपीडत किसान, मजदुरहरू काठमाडौंमा छन्। मिटरब्याजी साहुलाई जेल हाल्नुपर्ने, नक्कली तमसुक खारेज गर्नुपर्ने, हड्पिएको जग्गा फिर्ता गर्नुपर्नेलगायत ६ बुँदे मागसहित दुई सातादेखि उनीहरू आन्दोलन गरिरहेका छन्। तर, सरकारले माग सम्बोधन गरेको छैन। ‘वृद्ध उमेरमा यो के दिन देख्नु परेको ? हे भगवान्’ मंगलबार रामकवलले धरधरी रुँदै भने, ‘कुरो २०६७ सालको हो। छोरो रमेशलाई विदेश पठाउनुपर्ने थियो। हातमा पैसा थिएन। साहु जगदीश बनियाँसँग ८० हजार कर्जा लिएँ। उसले ४ कट्ठा घरबारी दृष्टिबन्धक गरायो। छोरोले विदेशमा कमाएर पठाएको रकम साहुले लियो। तापनि १ लाख ७० हजार अझै मागिरहेको छ। अहिले मुद्दा हालेको छ।’ उनले ८० हजार साँवाको तीन वर्षमै ९ लाख तिर्दा पनि साहुको दृष्टिबन्ध गरेको जग्गा फुकुजा गर्न नमानेको उनले बताए। प्रहरीले लाठी हान्दा सप्तरीको वीरेन्द्रबजारकी ५० वर्षीया राजोदेवी रामको टाउको फुटेको छ। जहाँ ९ टाँका लागेको छ। मार्चमा जान शान्तिवाटिका गेटमा धक्कामुकी भइरहेको थियो। ‘भीडबाट निस्किएर छेउमा के उभिएँ प्रहरीले पछाडिबाट आएर टाउकोमा लाठी बर्सायो’, उनले भनिन्, ‘टाउकोबाट रगत बग्न थाल्यो। म भुइँमा लडेँ।’ यसपालि न्याय नपाई घर नफिर्किने उनको अडान छ। ‘सरकार हाम्रो रक्षक भएको भए यो गति आज हाम्रो हुँदैनथ्यो’, उनले भने, ‘जहाँ गयो त्यही हामी गरिबलाई दशा लाग्छ।’ उनको १२ जनाको परिवार छ। भएको जग्गा पनि साहुकै हातमा छ। परिवार कहाँ बस्ने ? उनलाई चिन्ताले पिरोलिएको छ। ‘धेरै दुःख भइरहेको छ। के गरौं। कहाँ जाऊँ ? सरकारले न्याय नदिएसम्म घर फर्किदैनौं’, उनले भने। उनले न्यायको खोजीमा आउँदा पीडितले रगत बगाउनुपरेको सुनाइन्। उनका अनुसार प्रहरीले घाइते भएकाहरूलाई नियन्त्रणमा लिएर पनि कुट्यो। ‘हामी तोडफोड गर्न हिँडेका थिएनौं। हामी हाम्रा माग सरकारलाई सुनाउन हिँडेका थियौं। प्रहरीले शान्तिवाटिका गेटबाट निस्किन दिएन। त्यसपछि हामीले ठेल्दा गेट खुलेको थियो’, उनले भनिन्, ‘अनि प्रहरी हाम्रो पालभित्र पसेर तानितानी हामीलाई कुट्यो। उपचार गर्न लान्छु भनेर गाडीमा राखेर पनि कुट्यो। हाम्रो टाउको फुटेर रगत बग्दा पनि प्रहरीले चौकीमा लगेर थुन्यो। रगत बगिरँदा पनि हस्पिटल लगेन। हतकडी लगाउने भन्यो। दुई जनालाई हतकडी नि लगायो। पुलिस चौकीभित्र पनि कुट्यो।’राजोदेवीले गाउँकै साहु सत्यनारायण पण्डितसँग छोरो र पतिलाई विदेश उडाउन ५ लाख लिएकी थिइन्। साहुले २२ लाख पर्ने ११ धुर जग्गा पास गराएर ऋण दिएको थियो। ऋण लिएको एक वर्ष नबित्दै साहुले ३० लाख माग्दै छ। उनका श्रीमान् र छोरो कमाउन तीनपटक विदेश गए। तर, काम नपाएर फर्किए। ऋणको दलदलमा फसेकी उनलाई मिटरब्याजले सताएको छ। तैपनि उनले चलन चलतीको साँवा र ब्याज साहुलाई तिर्नेभन्दा पनि धेरै रकम मागेको उनले बताइन्। सोमबार साँझ ५ बजे मात्रै अस्पताल लगेको उनले सुनाइन्। ‘टाँका लगाएर फेरि हामीलाई पुलिस चौकी लग्यो। अनि मात्रै छोड्यो। हाम्रो माग पूरा नभएसम्म काठमाडौंबाट फर्किदैनौं। चाहे जे होस्’, उनले भनिन्। उनले अर्का साहु किसन मण्डलबाट घर खर्च चलाउन २ लाख ४० हजार लिएकी थिइन्। ‘डेढ वर्षमै उनले पाँच लाख लिइसके। अझ १५ लाख माग्दै छन्। साहु घरमै कुट्न आउँछन्। गाली गर्छन्’, उनले भनिन्, ‘सरकारलाई दुःख सुनाउन काठमाडौं आएको थिएँ। उल्टै सरकारले प्रहरी लगाएर टाउको फुटायो। हाम्रो न्याय नपाएसम्म हामी फर्किंदैनौं।’ नवलपरासीको बर्दघाट सु्स्तापश्चिमका कुलबहादुर थापाको सोमबार दोस्रोपटक प्रहरीले टाउको फुटायो। उनको टाउकोमा ७ टाँका लागेको छ। उनले भने, ‘हामी शान्तिवाटिको गेटमै प्रहरीले मलगायत धेरै साथीहरूको टाउको फुटायो।’ मिटरब्याजकै पक्षमा सरकार, प्रहरी र प्रशासन रहेको आरोप उनले लगाए। सरकारले सुदखोरलाई साथ दिएर पीडितलाई मार्नै खोजेजस्तो लागेको थापाको गुनासो छ। ‘नेताहरूलाई चुनाव लड्न साहुमहाजनले नै सहयोग गर्छ। उनीहरूले दिएको पैसोको बिटोमा नेताहरू चुनाव लड्छन्’, उनले भने, ‘गरिब जनता भोटर हो हामीसँग भोट दिएर नेताहरू सरकारमा जान्छन्। हामीलाई प्रहरी लगाएर कुटाउँछन्।’ हर्षका छिमेकी कर्णसिंह थापा मगर राम्ररी आँखा देख्न सकिरहेका छैनन्। प्रहरीले लाठी प्रहार गर्दा उनको दाहिने आँखामा गहिरो चोट लागेको छ। ‘शान्तिवाटिकालाई प्रहरीले बिहानैदेखि घेराबन्दी गरेको थियो। हामी बाहिर जान खोज्यो। त्यसैमा प्रहरीले हामीमाथि लाठी हान्यो। मेरो दाहिने आँखामा घाउ लागेको छ’, उनले भने। नवलपरासीका ६० वर्षीय हर्षबहादुर विश्वकर्मा पनि टाउको फुटेर पीडामा छन्। ‘शान्तिवाटिकाबाट हामी शान्तिपूर्ण रूपमा गइरहेका थियौं। अचानक प्रहरी हामीमाथि पानीको वर्षासँगै लठीको बर्सा गरायो। प्रहरी र सरकारले हामीलाई मारिदिए पनि हामी सहन्छौं। किन भने हामी दुःखमा छौं। उहाँहरू सरकारमा हुनुहुन्छ। हाम्रो माग पूरा नभएसम्म हामी जाने बाला पनि छैनौं। डराएर भाग्नेवाला पनि छैनौं’, उनले भने। उनले छोरोलाई विदेश उडाउन साहुसँग २ लाख ऋण लिएका थिए। साहुले ७ लाख आफ्नो खातामा लेख्यो। ‘सबै तिरेर ६० हजार मात्रै तिर्नु थियो। एकाएक साहु सम्पर्कविहीन बन्यो’, उनले भने, ‘ऋण दिँदा साहुले उसको ९ कट्ठा खेत पास गराएको थियो। जुन जग्गाको मूल्य ३० लाख पर्छ। त्यही साहु खोजी गरेर जग्गा फिर्ता गराइदिनुस् भन्न सरकार भेट्न काठमाडौं आएको छु। यहाँ आँखनै फोरिदियो। के भन्नु अब योभन्दा दुःखको कुरो।’ उनले घरको छत बनाउन गाउँकै वसन्त कुँहारसँग ९ लाख कर्जा लिएका थिए। एक वर्षमै जग्गा बिक्री गरेर १८ लाख फिर्ता दिए। तर, साहुले ऋण दिँदा आफ्नो नाममा पास गराएको १२ कट्ठा जग्गा फर्काउन नचाहेको उनले बताए। उनका अनुसार बजारबाट मागेर ल्याएको चामल, दाल, सागसब्जी, ग्यास सिलेन्डर प्रहरीले सबै लग्यो। देशमा सरकार छैन जस्तो लाग्यो। ‘प्रधानमन्त्रीलाई भन्न चाहन्छु हामीलाई न्याय दिलाउनुस्। दलालहरूलाई कारबाही होस्’, उनले भने। नवलपरासीकै ७८ वर्षीय पे्रमनारायण कोइरी पनि घाइते भएका छन्। ‘घाम धेरै भएर म आन्दोलनमा जान सकिँन। खाना खाएर म टेन्टमा बसेको थिएँ। एक्कासि प्रहरीले त्रिपालमुनि पसेर लठ्ठी बर्सायो। दुई लठ्ठी लगायो। सरकारले किन यस्तोे गरायो ? म बुझ्न सकेको छुइन’, उनले भने। सरकारले गठन गरेको वार्ता टोली र गृहमन्त्रीसँग पाँचपटक वार्ता भए पनि आफूहरूको मागप्रति सरकारले चासो नदेखाएको कुशवाहाको भनाइ छ। वार्ताबाट ठोस रूपमा समस्याको समाधान नभएपछि सडक संघर्षमा उत्रिँदा सरकारले आन्दोलनमा हस्तक्षेप गरेर दबाउन खोजेको उनले बताए। गृहमन्त्रीले वार्ताका क्रममा पीडितहरूलाई घर फर्किन आग्रह गरेका थिए। उधारो घर नफिर्ने भन्दै संघर्ष समिति वार्ता भंग गरेर आन्दोलनमै उत्रिएको थियो। ‘राज्य समस्यालाई समाधानतिर नलागेर आन्दोलनलाई दबाउन र पीडितलाई दमन गर्नतिर लाग्यो। सोमबार बिहानीदेखि सरकारले पुलिसका सीआईडीहरू पठाएर हामीलाई शान्तिवाटिकामा नजर बन्दमा राखेर यातना दियो’, उनले भने, ‘शान्तिपूर्ण आन्दोलनमा आम शोषित, पीडित किसान मजदुरमाथि सरकारले बर्बर दमन गरेको छ।’null