विश्व बजारमा विश्वविद्यालयबाट उत्पादित जनशक्ति प्रतिस्पर्धा गर्नसक्ने हुनुपर्छ, प्रधानमन्त्री
रासंसा/कञ्चनपुर, चैत्र २६,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तव्य पूरा गर्नसक्ने हुनुपर्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा आइतबार आयोजित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तब्य पूरा गर्नसक्ने हुनुपर्ने बताएका हुन् । सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा कुलपतिका हैसियतले सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । यस दीक्षान्त समारोहमा हाम्रो आमन्त्रणलाई स्वीकार गरी प्रमुख अतिथिका रूपमा उपस्थित भइदिनु भएकोमा मित्रराष्ट्र भारतको उत्तरप्रदेश राज्यस्थित महात्मा ज्योतिबा फुले रुहेलखण्ड विश्वविद्यालय, बरेलीका कुलपति प्रा. के. पी. सिंहज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । लोकतान्त्रिक मान्यताका पक्षमा दह्रो ढंगले उभिने, नवीनतम खोज, अनुसन्धान र विकासको गतिलाई पक्रिँदै नेपाललाई सुहाउँदो विकासको मार्गचित्र, अर्थतन्त्रको ढाँचाको खोजी, समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्नसक्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । यसका लागि विश्वविद्यालयको शिक्षा समेत सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवम् प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको हुनुपर्ने बताउँदै उनले विश्वको शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दै अघि बढ्नु जरूरी रहेको बताए । यस दीक्षान्त समारोहको अवसरमा सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन, विकास र प्राज्ञिक क्षेत्रमा योगदान पु¥याउनुहुने प्राध्यापक, शिक्षाविद्, पदाधिकारी, कर्मचारी, विद्यार्थी, अनुसन्धानकर्ता, अभिभावक, समाजसेवी, चन्दादातालगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । साथै, भविष्यमा यस विश्वविद्यालयको भौतिक तथा प्राज्ञिक विकासको क्षेत्रमा यहाँहरूबाट निरन्तर सहयोगको अपेक्षा गरेको छु । यस दीक्षान्त समारोहमा विश्वविद्यालयका विभिन्न विषय र तहका उच्च उपाधि प्राप्त गर्ने विद्यार्थीहरू लगायत यस समारोहमा उपस्थित हुनु हुने विद्यार्थी, शोधकर्ता एवम् अभिभावकज्यूहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै विद्यार्थीहरूको सफल एवम् सुन्दर भविष्यको लागि शुभकामना व्यक्त गर्दछु । आज यस समारोहमा सहभागी भइरहँदा मलाई निकै गौरवको अनुभूति भइरहेको छ । यो संयोग नै भनौं, यो विश्वविद्यालयको स्थापनाको काम पहिलोपटक प्रधानमन्त्री हुँदा मैले नै अघि बढाएको थिएँ । मलाई सम्झना छ, सधै उपेक्षामा पर्दै आएको सुदूरपश्चिमाञ्जल क्षेत्र र यसक्षेत्रका जनताको दूरगामी भविष्यको परिकल्पना गरेर हामीले विश्वविद्यालय स्थापनाको निर्णय गरेका थियौं । मेरो दोस्रो कार्यकालमा यो विश्वविद्यालयको नीतिगत तथा संरचनागत सुधारका लागि समेत कतिपय निर्णय भए । आज म यही आफैले निर्णय गरेर स्थापना भएको विश्वविद्यालयको कुलपतिको हैसियतमा यहाँ तपाईहरुमाझ सम्बोधन गर्ने गौरव प्राप्त गरेको छ । राज्यका स्रोत र साधनबाट वञ्चितिकरणमा परेको वास्तविकताको सामना गर्दै छोटो समयमा नै विश्वविद्यालयलाई लोकप्रिय बनाउन सफल हुनु भएकोमा म विश्वविद्यालय नेतृत्वलगायत सम्पूर्ण परिवारको प्रशंसासहित धन्यवाद दिन चाहन्छु । अहिले शैक्षिक संस्थाहरू निरपेक्षरूपमा विकास हुन सम्भव छैन । सूचना, प्रविधि र ज्ञानको क्षेत्रमा भएको अभूतवपूर्व विकास र विश्वव्यापीकरणको प्रक्रियाले हामी नेपालको यो सुदूरस्थानमा रहेको भएपनि विश्व प्राज्ञिक मञ्चको अंग बनेका छौं । विश्वका हरेक कुनामा विविध क्षेत्रमा भइरहने परिवर्तन र विकासलाई हामीले आत्मसात गरेर सोहीअनुरूप आफूलाई अनुकूलनतामा ढाल्नुपर्ने चुनौती हामीसामु छ । उच्चशिक्षा प्राप्त गर्न राजधानी काठमाडौं तथा भारतका सीमावर्ती क्षेत्रमा जानुपर्ने नियति बोकेका सुदूरपश्चिमका जनताको उच्चशिक्षामा पहुँच कायम गर्न यस विश्वविद्यालयले विगत एक दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । यसले एकातिर उच्च शिक्षामा बाहिर जानुपर्ने परनिर्भरताको अन्त्य र त्यसका लागि आर्थिक भारको चेपुवामा पर्ने बाध्यताको अन्त्य गरेको छ भने अर्कोतर्फ विभिन्न विधामा गुणस्तरीय जनशक्ति उत्पादन गरी देशका लागि आवश्यक दक्ष जनशक्तिको खाँचो पूरा गर्नसमेत सहयोग पु¥याएको छ । निम्न तथा मध्यम आय भएको परिवारका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षाप्रदान गरी उनीहरूको जीवनमा पु¥याएको योगदान प्रसंशनीय छ । त्यसैले विश्वविद्यालयको नेतृत्वले भौतिक एवम् शैक्षिक सुधार, विद्यार्थी कल्याणसम्बन्धी कार्यहरूको विस्तार गरी विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै आफूलाई एउटा उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्न आवश्यक छ । विश्वविद्यालयले प्राज्ञिक गुणस्तर उच्च राख्न अध्ययन अनुसन्धानको आकर्षणको केन्द्र बन्दै सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले एक आपसमा सहकार्य, सहयोग र सद्भावलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्ने खाँचो छ । विश्वविद्यालयको स्तरोन्नति गर्न आवश्यक सहयोगका लागि नेपाल सरकार सदैव सकारात्मक रहेको छ । स्थापनाको छोटो अवधिमा यस विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमहरूका रूपमा मानविकी तथा सामाजिकशास्त्र, शिक्षाशास्त्र र व्यवस्थापन जस्ता पारम्परिक विषयहरूमा स्नातकोत्तर र पिएचडीसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको र हाल विज्ञान तथा प्रविधि इन्जिनियरिङ, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि, कृषि विज्ञान, कानून तथा स्वास्थ्य विज्ञानजस्ता व्यवसायिक र प्राविधिक विषयहरू थप गर्दै लगेकोमा मलाई खुसी लागेको छ । विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभइ व्यवहारिक, जीवनोपयोगी तथा समाजको रूपान्तरणका लागि सहयोगी हुनुपर्दछ । विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तब्य पूरा गर्नसक्ने हुनुपर्दछ । लोकतान्त्रिक मान्यताका पक्षमा दह्रो ढंगले उभिने, नवीनतम खोज, अनुसन्धान र विकासको गतिलाई पक्रिँदै नेपाललाई सुहाउँदो विकासको मार्गचित्र, अर्थतन्त्रको ढाँचाको खोजी, समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्नसक्नुपर्दछ । यसका लागि विश्वविद्यालयको शिक्षा समेत सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवम् प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको हुनुपर्दछ । यो आवश्यकतालाई आज दीक्षित हुने र भविष्यमा दीक्षित हुने प्रत्येक विद्यार्थीले पूरा गर्नुपर्नेछ । आजको प्रतिस्पर्धी विश्वको शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दै अघि बढ्नु जरूरी छ । यस क्रममा नेपाल सरकारले २०७८ माघ १० गते डडेल्धुरामा यस विश्वविद्यालयको आङ्गिक क्याम्पस खोल्ने र डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक सङ्कायको रूपमा रहनेगरी स्वास्थ्य मन्त्रालय, शिक्षा तथा विज्ञान एवम् प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबिच त्रिपक्षीय सम्झौता भएको स्मरणीय नै छ । उक्त क्याम्पसको स्थापनाबाट चिकित्सा विज्ञान शिक्षामा स्थानीय जनताको पहुँच विस्तार र विशेषज्ञ उपचार सेवामा पहुँच सुनिश्चित गर्न सकिने छ । क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारका तर्फबाट पूर्ण सहयोग रहनेछ । विश्वविद्यालयमा एम.फिल र पीएचडी.जस्ता अनुसन्धान तहका कार्यक्रमहरू सञ्चालन भई विदेशी प्राध्यापक अनुसन्धानकर्ताहरूले समेत यस विश्वविद्यालयबाट उच्च प्राज्ञिक उपाधि आर्जन गर्न लागेको विषयले हामीलाई गौरवान्वित तुल्याएको छ । यस पृष्ठभूमिमा आउँदा केही वर्षमा विश्वविद्यालयले प्राविधिक एवम् व्यवसायमूलक तथा गुणस्तरीय उच्चशिक्षा प्रदानगर्ने मुलुककै एक प्रतिष्ठित विश्वविद्यालयको रूपमा स्थापित हुने छ भन्ने मैले विश्वास लिएको छु । निकट भविष्यमा विश्वविद्यालयले वन विज्ञान एवम् हर्बलसाइन्सजस्ता कार्यक्रम पनि सञ्चालनमा ल्याउँदैछ र विश्वविद्यालयले जीवनोपयोगी शिक्षाका विभिन्न विधाहरूमा कार्यक्रमहरू विस्तार गर्दै जानेछ । हर्बलसाइन्स र कृषिका कार्यक्रमहरूले प्रत्यक्ष रूपमा समाजको आर्थिक अवस्था सुधार गर्ने गरी शैक्षिक ज्ञानलाई खेती, खेतीलाई उत्पादन, उत्पादनलाई निर्माण एवम् उपभोक्तासम्म जोड्ने गरी विकास केन्द्रहरू मार्फत बढ्नसके यो प्रदेशको रोजगारीमा ठूलो योगदान पु¥याउन सकिने छ । त्यसतर्फ विश्वविद्यालयको उच्च शिक्षा उन्मुख हुनेछ भन्ने आशा गरेको छु । आज यहाँहरू दीक्षित हुँदै हुनुहुन्छ । यो तपाईको परिवार र जीवनमा सामान्य घटना कदापि होइन । आजको दिनसम्म आइपुग्न तपाईहरूले परिवारले र आफूले साँचेका सपना पूरा गर्न कैयौँ रहर र इच्छाहरू तिलाञ्जली दिनुभएको छ । कठिन र संघर्षमयी क्षणहरू बिताउनुभएको छ । अक्षर चिन्न प्रारम्भ गरेदेखि आजको दिनसम्मका सबै ती संघर्षमयी क्षणहरू सम्झेर अब तपाईहरूले आफ्ना, परिवारका सपना र देशलाई तपाईहरूबाट राखेको अपेक्षा पूरा गर्नुपर्ने छ । एकजना दार्शनिकले भनेका थिएँ– साथी हो, सपना देख्नुहोस् । मैले पनि आज तपाईहरुलाई भन्छु– तपाईहरु सपना देख्नुहोस् । त्यो सपना तपाई हाम्रो सुन्दर जीवनको सपना हुनेछ । सुन्दर सुखी नेपालीको सपना हुनेछ । कुनै बेला म तपाईहरूजस्तै शैक्षिक परीक्षामा सहभागी हुँदा मैले पनि सपना देख्ने गर्दथेँ । त्यतिखेर एकातिर परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण हुने सपना हुन्थ्यो । तर बिस्तारै मैले अन्याय, गरिबी, शोषण, विभेदको अन्त्य गर्ने सपना देख्न थालेँ । कोही ठूलो कोही सानो, कसैले पढ्न पाउने, कसैले भर्ना हुन पनि नसक्ने, कोही उपचार नपाएर मर्ने, कतै जातीय, कतै लैंगिक विभेद, यस्तो समाज परिवर्तन गर्ने सपना देखेर म परिवर्तनको लामो र कठिन यात्रामा होमिएँ । आज मैले देखेको सपना कति पूरा भयो या भएन, त्यसको समीक्षा इतिहासले गर्ला । तर कहिलेकाहिँ लाग्छ, त्यतिखेर हामीले परिवर्तनको ती सपना नदेखेको भए आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुग्न सक्दैनथ्यौं कि ? अझ भनौं, यति सजिलै यही विश्वविद्यालय पनि स्थापना गर्न सक्थ्यौं या सक्दैनथ्यौं ? त्यसैले जसरी यो दीक्षित हुने बेलासम्म तपाईहरूले आफूलाई हरेक परीक्षामा उत्तीर्ण गर्नुभयो । अब फेरि तपाईहरूले आफ्ना लागि, परिवारका लागि, समाजका लागि र देशका लागि पाइला पाइलामा परीक्षा दिनुपर्ने हुन्छ । तपाईहरूका अबका परीक्षाको परिणामले हाम्रो समाज र देशको भविष्य निर्धारण गर्दछ । यसले हाम्रा भावी सन्ततिहरूको भविष्य निर्धारण गर्नेछ । मैले यो राजनीतिक उपलब्धि प्राप्त गरेपछि पनि सपना देख्न छोडेको छैन । मैले बारम्बार भन्ने गरेको छु, मेरो अबको बाँकी जीवन समृद्ध नेपालको निर्माण गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्ने हो । म अहिले यही सपनाका लागि अहोरात्र भूमिका निर्वाह गरिरहेको छु । अब यो सपनामा तपाईहरुको साथ चाहिन्छ, यहाँहरुको सपना जोडिनुपर्छ । आज दीक्षित हुनुभएका विद्यार्थीहरूले आफूलाई समाजमा सभ्य, शिष्ट र इमान्दार नागरिकका रूपमा स्थापित गर्दै आफ्नो राष्ट्रप्रतिको कर्तब्यलाई जिम्मेवारीका साथ पूरा गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै सबैको सुखद् एवम् सुन्दर भविष्यको कामना गर्दछु । यस दीक्षान्त समारोहको पुनीत अवसरमा आफ्नो महŒवपूर्ण समय दिएर पाल्नुभएका प्रमुख अतिथिज्यू एवम् समस्त अतिथिगण लगायत दीक्षान्त समारोह सफलताका साथ सम्पन्न गर्न खटिनुहुने सुदूरपश्चिम विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी, प्राध्यापक तथा कर्मचारी वर्ग र विद्यार्थीहरूमा धन्यवाद व्यक्त गर्दछु । त्यसैले म आज तपाई दीक्षित हुनुहुने सबैलाई पुनः भन्न चाहन्छु, अब शैक्षिक जीवनका एउटा अध्यायमा उत्तीर्ण भएका यहाँहरु अब परिवारले, आफूले साँचेका सपना पूरा गर्न र समृद्ध नेपालको निर्माणका लागि देशलाई तपाईहरुको अपेक्षा पुरा गर्न सपना देख्नुहोस् । ती सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नुहोस् । यी सपना पूरा गर्दा कैयौँ चुनौतीको सामना गर्नुपरे पनि हिम्मत नहार्नुस् । आँधीबेहरीसँग जुधेर सफलताको चुचुरोमा पुग्न सक्नु नै सही अर्थमा जीवन हो भन्ने मलाई लाग्दछ । जीवन त वेगवान हुनुपर्छ, गतिशील हुनुपर्छ । चुनौतीसँग जुध्न सक्नुमा नै हाम्रो सफलता निहित रहन्छ । एउटा बुझ्न्पर्ने कुरा के हो भने, हामीले समृद्ध नेपालको निर्माण गर्न सक्यौं भने मात्रै हामीले देखेका सुखी जीवन, सुखी समाजका सपनाहरू सही अर्थमा पूरा हुन सक्दछन् । म कामना गर्न चाहन्छु, तपाईंले आजपर्यन्त आर्जन गर्नुभएको ज्ञान र सीप अबका दिनमा सामाजिक न्यायसहितको समृद्ध नेपालको निर्माणको कोशेढुंगा बनोस् ।