उपनिर्वाचनका विषयमा सत्तारूढ गठबन्धनमा खटपट
रासंसा/काठमाण्डौ, चैत्र २२,
मुलुकमा आगामी १० वैशाखमा हुने उपनिर्वाचनको विषयलाई लिएर सत्तारूढ गठबन्धन विभाजित भएको छ भने मन्त्रिपरिषद्को विषयमा पनि सत्तारूढ दलमा खटपट सुरु भएको छ । गठबन्धनमै रहेका र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएका अन्य दल उपनिर्वाचनको विषयलाई लिएर असन्तुष्ट छन् । उनीहरूले छुट्टाछुट्टै रणनीति बनाउनुका साथै मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सत्तारूढ गठबन्धनभित्र रहेका नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) रहेका छन् । १० वैशाखमा हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न पाँच दलले मंगलबार संयुक्त अपिल गरेका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड, कांगे्रस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुरले संयुक्त अपिलमा हस्ताक्षर गर्दै साझा उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका छन् । तर, सत्तारूढ गठबन्धनमै रहेका अन्य दलले सो निर्णयलाई अस्वीकार गरेका छन् । गठबन्धनमै रहेका डा. सीके राउत नेतृत्वको जनमत पार्टी, रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आमजनता पार्टी (आजपा), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले सो अपिलमा हस्ताक्षर गरेका छैनन् । यस्तै, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने तयारी गरेको राष्ट्रिय स्वतन्त्र पार्टीसमेत गठबन्धनको सो निर्णयबाट असन्तुष्ट छ । पाँच दलले जारी गरेको अपिलमा बारा–२ मा जसपाका उम्मेदवार उपेन्द्र यादव, चितवन–२ मा कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराईलाई समर्थन गर्दै विजयी बनाउन पार्टीका नेता, कार्यकर्ता एवं सर्वसाधारणलगायत स्थानीय मतदातासँग आग्रह गरिएको छ । ‘गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टीपंक्ति एकीकृत रूपमा परिचालित हुन आवश्यक छ,’ साझा अपिलमा भनिएको छ, ‘गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्था÷संगठनका साथीहरू तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरिन्छ ।’ पाँच दलले साझा उम्मेदवारलाई विजयी बनाउन अपिल जारी गरेपछि गठबन्धनमै रहेका अन्य दलले बारा–२, चितवन–२ र तनहुँ–१ मा आ–आफ्नै दलबाट उम्मेदवार उठाएका छन् । बारा–२ मा जनमतले शिवचन्द्र कुशवाहा, आजपाले अधिवक्ता अरुण ज्ञवाली, रास्वपाले रमेश खरेल, नाउपाले कमरुल्लाह अन्सारीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा जसपा, जनमत र आजपाबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । उता, तनहुँ–१ मा रास्वपाबाट स्वर्णिम वाग्ले र नाउपाबाट भीमबहादुर सुनार उम्मेदवार छन् । पाँच दलका बीचमा उपनिर्वाचन भइरहेका तीन क्षेत्रमध्ये एक जसपा र दुई कांग्रेसले लिएको छ । तर, सत्तारूढ गठबन्धनभित्र छलफल नै नगरी सिटको बाँडफाँट गरिएकाले आफ्नो पार्टीले छुट्टै उम्मेदवारी दर्ता गराएको आजपा प्रवक्ता सीबी साहले बताए । यसैगरी, चितवन–२ मा रास्वपाका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय जनमोर्चाका जनकराज शर्मा, नाउपाबाट राजेश अधिकारी उम्मेदवार रहेका छन् । सरकारलाई समर्थन गरेका रास्वपा अध्यक्ष लामिछाने आफैं यस क्षेत्रबाट उम्मेदवार छन् । पाँच दलको अपिलप्रति लामिछानेले असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्टि व्यक्त गर्दै जनमत पार्टी संघीय सरकारबाट बाहिरिसकेको छ । यद्यपि, सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आजपाले समेत गठबन्धनको बैठकमा भएको सहमतिनुसार सरकार विस्तार नभएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएको छ ।
