मालपोत कार्यालयका कर्मचारीसहित दुई जना घुस लिएको आरोपमा पक्राउ
रासंसा/पर्सा, चैत्र १९,
मुलुकमा सेवाग्राहीसँग घुस रकम लिएको आरोपमा बाराको मालपोत कार्यालयका एक कर्मचारीसहित दुई जना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाबाट खटिएको टोलीले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको आरोपमा घुस रकमसहित कानु र कुशवाहालाई पक्राउ गरेको अख्तियारको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए। पक्राउ पर्नेहरूमा कलैयास्थित मालपोत कार्यालय बाराको राजश्व फाँटका कर्मचारी रामविश्वास साह कानु र लेखापढी व्यवसायी गौरीशंकर कुशवाहा रहेका छन्। उनका अनुसार जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै एक सेवाग्राहीसँग आइतबार अपराह्न कार्यालय छेउकै एक पसलमा १५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा ती दुवैलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। घुस रकमसहित पक्राउ परेका दुवैलाई आइतबार हेटौंडा स्थित कार्यालयमा राखेर सोमबार काठमाडौंस्थित आयोगमा बुझाइने सापकोटाले जानकारी दिए।