राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
रासंसा/काठमाण्डौ, चैत्र ५,
मुलुकमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन्। यही चैत ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित भएका थिए। सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको संविधानको भाग २४ धारा २४६ मा संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नु आयोगको प्रमुख कार्य रहने व्यवस्थाबमोजिम आयोगले ती निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्णरूपमा कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिए। प्रमुख आयुक्त थपलियाले गत फागुन २५ मा निर्वाचित भई राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च र गरिमामय पदमा रही महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएकामा राष्ट्रपति पौडेलप्रति बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले लोकतन्त्र परिपक्क हुँदै गएको उल्लेख गरे। उनले यो वर्ष निर्वाचनमय वर्ष रहेको उल्लेख गर्दै गत वर्ष २०७८ माघ १२ गते राष्ट्रियसभाको रिक्त १९ पदको निर्वाचनबाट सुरु भएको यो शिलशिला यही चैत ३ मा उपराष्ट्रतिको निर्वाचन सम्पन्न भएसँगै पूरा भएको उल्लेख गरे। यस कार्यमा नेपाल सरकार, सम्बन्धित निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता र सबै पक्षको सहयोगका लागि आयोगका तर्फबाट धन्यवाद व्यक्त गरे। नेपालको संविधानको धारा ६७ अनुसार नेपालमा एक उपराष्ट्रपति रहने र राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट सम्पादन गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने व्यवस्था छ।