राष्ट्रिय एकतालाई मजबुत बनाउने पहल गर्छु – नवनिर्वाचित उपराष्ट्रपति यादव
रासंसा/काठमाण्डौ, चैत्र ३,
मुलुकमा नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवद्र्धन गर्न आफू लाग्ने बताएका छन्। उनले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए। शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पुर्याउन बाँकी रहेको भन्दै त्यसलाई निस्कर्षमा पुर्याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने बताए। शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवद्र्धन गर्नमा मेरो इमान्दारिताकासाथ भुमिका रहनेछ। मुलुक समृद्ध रुपमा अघि बढोस्। शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पुर्याउन बाँकी छ, त्यसलाई निस्कर्षमा पुर्याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ। हाम्रो क्षेत्रका जनताकै मतका कारण यहाँसम्म आइपुगेको हो। उहाँहरुसहित देशका सबै जनतालाई हार्दिक धन्यावाद र आभार व्यक्त गर्छु।’ नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भुमिका खेल्ने जनता र सांसहरुप्रति धन्यवाद प्रकट गरे।
