निजी गाडी बने ‘सार्वजनिक’ नियमनकारी निकाय चुपचाप !

Share to:

रासंसा/दार्चुला, चैत्र १,

मुलुकमा दार्चुला जिल्लाको दोस्रो मुख्य ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर बजारमा रातो नम्बर प्लेटका निजी गाडीले सार्वजनिक यातायातले झै यात्रु ओसारपसार गर्न थालेका छन् । सवारीको क्षमताअनुसार यातायात कार्यालयले सवारी अनुसार यात्रु बोक्ने क्षमताको स्वीकृति दिएको भए पनि गोकुलेश्वरबाट यात्रु बोकेर जिल्लाका अन्य ठाउँमा जाने रातो नम्बर प्लेटका जिपले क्षमताभन्दा बढी हुलका हुल यात्रु हालेर यात्रुलाई दुःख दिने गरेका छन् । भाडामा यात्रु बोक्ने सवारीसाधन फरक भए पनि रातो प्लेटले रिजर्भका नाममा यात्रुलाई लुट्नसम्म लुटेका छन् । निजी सवारीसाधनले भाडाका यात्रु बोक्न नपाउने नियम छ । तर, गोकुलेश्वरमा रातो नम्बर प्लेटका निजी गाडीले भाडा लिई धमाधम यात्रु बोकिरहेका छन् । निजी जिपहरू गोकुलेश्वर बजारबाट यात्रु बोकेर झरकाँडा, बोहरीगाउँ, मार्मा, गन्ना, धुलीगडा, लेकमको रिठाचौपातलगायत जिल्लाका अन्य ठाउँमा जाने गरेका छन् । निजी जिपले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको स्थानीयको भनाइ छ । यहाँ अधिकांश रातो प्लेटका सवारीसाधनले सवारी बोक्दा कालो प्लेट अर्थात् भाडाका सवारीसाधन मारमा पर्ने गरेका छन् भने राज्यलाई समेत राजस्वमा घाटा हुने गरेको छ । रातो नम्बर प्लेटका सवारीले भाडाका यात्रु बोक्दा कालो नम्बर प्लेट अर्थात् सार्वजनिक यातायातका सवारीधनी पनि मर्कामा पर्ने गरेका छन् । रातो प्लेटका सवारी भाडामा प्रयोग गर्दा स्वयं यात्रुलाई पनि समस्या हुने गर्छ । सार्वजनिक सवारीसाधनमा यात्रुको बिमादेखि औषधि उपचारको व्यवस्थासमेत हुन्छ । तर, निजीमा यो कुनै व्यवस्था हुँदैन । जसले गर्दा यात्रु पनि असुरक्षित हुन्छन् । कालो प्लेटका सार्वजनिक सवारीसाधनले रुट परमिटबापतको कर, जाँचपास र तोकिएको रुट परमिट बेगर सडकमा सवारी सञ्चालन गर्न राजस्व तिर्नुपर्ने हुन्छ । तर, रातो नम्बर प्लेटका सवारीसाधनलाई नेपालभर सञ्चालन अनुमति हुने हुँदा कर तिर्नुपर्ने बाध्यता छैन । गोकुलेश्वरमा चल्ने अधिकांश जिपका कागजपत्रसमेत नभएको पाइएको छ । यति हुँदासमेत सम्बन्धित निकायले चासो दिएको पाइँदैन । अस्थायी ट्राफिक प्रहरी पोस्ट गोकुलेश्वरका इन्चार्ज नवीन ठगुन्ना भने रातो नम्बर प्लेटका सवारीसाधन भाडामा प्रयोग गर्न नपाइने बताए । ‘हामीले भाडामा लगेका रातो प्लेटका सवारीसाधनलाई कारबाही गरिरहेका छौं,’ ठगुन्नाले भने, ‘पटकपटक यस्तो गरिएको पाइएमा गाडीलाई पक्राउ गरेर यातायात व्यवस्था कार्यालयलाई बुझाउनेछौं ।’ ट्राफिक प्रहरीले पटकपटक कारबाही गर्दासमेत निजी सवारीसाधनका धनीले विभिन्न बहानामा भाडामा चलाउने गरेका छन् ।

Like