वैदेशिक रोजगारीमा सामाजिक सुरक्षा कार्यक्रम, २२ लाख श्रमिकलाई कोषमा समेट्ने तयारी

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १,

मुलुकमा सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि चैत १ देखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको छ। श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकलाई अनिवार्य रूपमा यो कार्यक्रममा समेट्न लागिएको हो। कोषले म्यानपावर व्यवसायी, स्वास्थ्य संस्था, विभिन्न भाषाका कक्षामा यस कार्यक्रमको प्रचारप्रसार गर्ने तयारी गरेको छ। कोषको कार्यालय वा कोषले तोकेका निकाय, कार्यालय वा कोषको अनलाइन प्रणालीबाट निवेदन दिनुपर्छ। यसमा समावेश हुन श्रमिकको नेपाली नागरिकता वा राहदानीको प्रतिलिपि र श्रम स्वीकृतिको प्रतिलिपि संलग्न गरी अन्य विवरण खुलाई स्वघोषणा गर्नुपर्छ। नियुक्तिपत्र भएमा त्यसको प्रतिलिपि भए पुग्नेछ। यस कार्यक्रमका लागि श्रमिकले मासिक दुई हजार वा वार्षिक एकमुष्ट २४ हजार रुपैयाँ जम्मा गर्नुपर्छ। सरकारले ९० दिन (चैत १ देखि) लागू हुने गरी गत मंसिरमै यससम्बन्धी कार्यविधि घोषणा गरेको थियो। कोषका सूचना अधिकारी डा. रोशन कोजूले वैदेशिक रोजगारमा रहेका श्रमिकले २१ बैंकमार्फत मासिक भुक्तानी गर्न सक्ने बताए। ईसेवा र रेमिट कम्पनीबाट पनि जम्मा गर्न मिल्ने व्यवस्था गर्न लागिएको पनि कोजूले जानकारी दिए। वैदेशिक रोजगारीमा कार्यरत श्रमिकले श्रमस्वीकृति नवीकरण गर्ने क्रममा सामाजिक सुरक्षामा जोडिनु पर्छ। भारतमा रहेका श्रमिक पनि जोडिन सक्छन्। वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिकलाई कोषमा समेट्ने सरकारको तयारी छ। कोषले सबै प्रकारका श्रमिकलाई सुरक्षा कार्यक्रममा समेट्न थालेको छ। अनौपचारिक र स्वरोजगारी क्षेत्रमा वैशाख १ गतेबाट यो कार्यक्रम सुरु हुँदैछ। कोषका अनुसार स्वरोजगारीमा संलग्न १८ लाख, अनौपचारिक क्षेत्रका श्रमिक ४२ लाख, सरकारी अस्थायी तथा करारमा रहेका श्रमिक ४० हजार, निजी र संगठित क्षेत्रका १८ लाख श्रमिक समेट्ने योजना छ। गैरआवासीय नेपाली संघ सन् २००९ देखि वैदेशिक रोजगारीमा रहेका श्रमिकको राहत र उद्धारमा केन्द्रित हुन थालेपछि उनीहरूको हितका लागि सामाजिक सुरक्षा कोष अर्थात् हजारे अभियानको सुरु भएको थियो। प्रतिमहिना एक हजार अनिवार्य र स्वेच्छिक पाँच हजार रुपैयाँ जम्मा गर्नुपर्ने थियो। यो कार्यक्रम सुरु भएपछि एनआरएनए अभियान्ताले खुसी व्यक्त गरेका छन्। यो कार्यक्रमबाट श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धवस्था सुरक्षा योजनाका सुविधा पाउँछन्। सरकारले औद्योगिक क्षेत्रका श्रमिकका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१.३३ प्रतिशत योगदान गर्नुपर्छ। यस्तो योगदान रकम कोषले दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत बाँडफाँट गर्छ। सुविधा पाउनका लागि श्रमिकले १२ महिनामा कम्तीमा ९ महिना योगदान गरेको हुनुपर्छ। गदानकर्ताले निवृत्तिभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ठ लिने वा सो रकमलाई १ सय ६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवनकालभर निवृत्तिभरण लिने रोज्न पाउँछन्। यसका योगदानकर्ता दुर्घटनामा परेर अस्पताल भर्ना भए १ लाख रुपैयाँसम्म उपचार खर्च पाउँछन्। कोषले उपचारको ८० प्रतिशत वा प्रतिवर्ष एक लाख रकमसम्मको खर्च व्यक्तिको खातामा भुक्तानी गरिदिन्छ। दुर्घटनाका कारण उपचार गर्नुपर्ने भई काम गर्न नसक्ने भएको योगदानकर्ताले न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशतबराबरको रकम मासिक रूपमा पाउँछन्। स्थायी असक्षमता भएको योगदानकर्ताले भने ६० प्रतिशतबराबरको रकमलाई शतप्रतिशत मानी जीवनकालभर निवृत्तिभरण सुविधा मासिक रूपमा पाइन्छ। योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले निवृत्तिभरण, सन्ततिलाई शैक्षिक वृत्ति र अन्तिम संस्कार खर्च पाउँछन्। जुनसुकै कारणबाट मृत्यु भएमा पनि न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले जीवनभर निवृत्तिभरण पाउँछन्। वैकल्पिक आम्दानी भएमा वा अर्को विवाह गरेमा भने यो सुविधा पाइने छैन। १८ वर्ष उमेर पूरा नभएको सन्ततिले शैक्षिकवृत्तिबापत न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक पाउँछन्। जुनसुकै कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको अन्तिम संस्कारका लागि हकवालालाई २५ हजार रुपैयाँ एकमुष्ठ उपलब्ध हुन्छ। कोषले १३.२५ प्रतिशत रकमबाट वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्छ। वैदेशिक रोजगारी अन्त्य भएपछि एकमुष्ठ उपलब्ध गराइन्छ। यस्तो रकमलाई निवृत्तभरण योजनामा हस्तान्तरण गर्न पनि सकिन्छ। निवृत्तभरण योजनाअन्र्तगत सुविधा पाउन योगदानकर्ता ६० वर्ष पुग्नु पर्छ। उक्त योजनामा जम्मा भएको रकम र लगानीबाट प्राप्त प्रतिफलको कुल योगलाई १ सय ६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण पाउँछ। विदेशका नेपाली आबद्ध हुन पाउने विदेशमा बस्ने सबै नेपाली (वैदेशिक रोजगारीमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिक) योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेटिन पाउनेछन्। विदेशमा स्वरोजगार रहेका व्यक्तिको लागि पनि यसै कार्यविधिमा समेटिएको छ। निवृत्तिभरण प्राप्त गर्न सुरु गरेपछि योगदानकर्ताको मृत्यु भएमा पति वा पत्नीले ५० प्रतिशतले हुन आउने रकम आजीवन निवृत्तिभरण पाउँछन्।

Like