विद्यार्थी  विश्वविद्यालयमा किन घट्दै छन् ?

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २९,

मुलुकमा मानविकी, शिक्षालगायत संकायमा विद्यार्थी कम भइरहेका बेला व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ र मेडिकल शिक्षामा समेत भर्ना घट्न थालेको छ । अपेक्षित आवेदन नआएपछि त्रिभुवन विश्वविद्यालयका आंगिक र निजी क्याम्पसले दोहोर्‍याएर प्रवेश परीक्षा सञ्चालन गरेका छन् तर पनि कोटाअनुसार विद्यार्थी पाउन सकेका छैनन् । कक्षा १२ मा नै थोरै विद्यार्थी उत्तीर्ण भएका छन् । स्नातक पढ्न विदेश जाने प्रवृत्ति बढेको मात्र छैन, विदेशी सम्बन्धनमा चलेका कलेजमा स्वदेशमै पढ्न पाइने अवसर पनि छ । यता, देशभित्रका विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक प्रणाली भद्रगोल हुँदा पनि विद्यार्थीको आकर्षण घट्दै गएको हो । उच्च शिक्षा पढ्नेमध्ये करिब ७६ प्रतिशतले त्रिभुवन विश्वविद्यालय रोज्छन् । तर, यही विश्वविद्यालयमा पनि विद्यार्थी घट्दै छन् । त्रिविको व्यवस्थापन संकायले नै पुनः प्रवेश परीक्षा (सीम्याट) सञ्चालन गरेको छ । व्यवस्थापन संकायका सीम्याटबाट भर्ना पाउने विभिन्न विषय र कार्यक्रममा करिब ८ हजार कोटा छ । ‘केही विषयमा त पहिले कोटा पूरा हुँदैनथ्यो,’ डिन शर्माले थपे, ‘यसपालि निजीतिर अलि धेरै खाली छ भन्ने सुनेको छु, यकिन भइसकेको छैन ।’ त्रिविको व्यवस्थापन संकायका डिन डिल्लीराम शर्माले स्नातक तहको पहिलो प्रवेश परीक्षामा विद्यार्थी संख्या कम भएकाले पुनः प्रवेश परीक्षा सञ्चालन गर्नुपरेको बताए । दोहोर्‍याएर सीम्याट सञ्चालन गर्दा पनि १३ हजार विद्यार्थी मात्रै सम्मिलित भएको उनको भनाइ छ । ‘पहिलो वर्ष एकै पटक १५ हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिन्थे, यसपालि दुई पटकमा १३ हजारले मात्रै दिए,’ उनले भने, ‘परीक्षा दिएका विद्यार्थी पनि भर्ना नभएको गुनासो आइरहेको छ, रजिस्ट्रेसन फाराम भरेपछि कति कोटा खाली भयो थाहा हुन्छ ।’ चैत ५ मा हुने स्ववियु निर्वाचनका लागि त्रिविले स्नातकका सबै संकायमा भर्ना रोकिसकेको छ । कोटा खाली रहेका कलेजले निर्वाचनपछि फेरि भर्ना खोल्ने तयारी गरेका छन् । उपत्यकाका त्रिचन्द्र, शंकरदेव, नेपाल कमर्स, पाटन, सरस्वती, पब्लिक युथलगायत आंगिक क्याम्पसमा नै व्यवस्थापन संकायमा विद्यार्थी अपुग भएको छ । विद्यार्थीको अत्यधिक चाप हुने काठमाडौं उपत्यकाका नेपाल कमर्स क्याम्पस, शंकरदेव, पाटन संयुक्त, पद्मकन्या, पब्लिक युथ, भक्तपुर, रत्नराज्यलक्ष्मीमा विद्यार्थीको चाप घटेको क्याम्पस प्रमुखहरूले जनाएका छन् । विद्यार्थी थोरै भए पनि तलबभत्तालगायत शीर्षकमा सरकारले करोडौं अनुदान पठाइरहेकै छ । विद्यार्थी कम भएर क्याम्पस घाटामा जाँदा राज्यले अनुदान बढाउनुपर्ने स्थिति पनि आएको छ । त्रिविका ६२ आंगिक क्याम्पसमध्ये दुईमा मात्रै १० हजारभन्दा बढी विद्यार्थी छन् । पोखराको पृथ्वीनारायणमा १० हजार ८ सय र वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा १० हजार २ सय विद्यार्थी छन् । यसअघि त्रिविका दर्जनभन्दा बढी क्याम्पसमा १० हजारभन्दा बढी विद्यार्थी हुन्थे । स्ववियु निर्वाचनको मतदाता नामावलीअनुसार २३ आंगिक क्याम्पसमा एक हजारभन्दा थोरै विद्यार्थी छन् । पहिले एक हजारभन्दा थोरै विद्यार्थी रहेका आंगिक क्याम्पस विरलै भेटिन्थे । उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवालले सरकारी र निजी दुवै कलेजमा विद्यार्थी घटेको बताए । समग्रमा कलेजहरूको ५० देखि ६० प्रतिशत कोटा मात्रै पूरा भएको उनले जानकारी दिए । ‘सबै विश्वविद्यालय र संकायका राम्रा भनिएका विषयमा पनि विद्यार्थी छैनन्,’ उनले भने । यस्तो अवस्थालाई राज्यले नै सम्बोधन गर्नुपर्ने उनले सुझाव दिए । ‘सकभर विद्यार्थी विदेश जान खोज्छन्, नेपालभित्रै पनि प्रवेश परीक्षा पास भएर भर्ना नहुने प्रवृत्ति बढेको छ, किन हो अनुसन्धान नै गर्नुपर्ने भएको छ,’ उनले थपे, ‘विश्वविद्यालय र क्याम्पसले विद्यार्थी आकर्षणको उपाय खोज्नुपर्छ । गुणस्तर, पाठ्यक्रम, पठनपाठन प्रक्रिया सुधार गर्नुपर्छ ।’ विद्यार्थी अभावको अझै बढी मारमा निजी कलेज परेको हिसानको भनाइ छ । क्याम्पस प्रमुख कोइरालाले भने, ‘पहिले क्षमताभन्दा बढी विद्यार्थी भर्ना हुँदा सानो बच्चालाई ठूलो भारी बोकाएजस्तो हुन्थ्यो, अहिले विद्यार्थी भर्ना सन्तोषजनक छ तर उच्च शिक्षामा भर्ना हुन चाहने विद्यार्थीको संख्यामा कमी आएकै हो ।’ कक्षा १२ सक्नेबित्तिकै अध्ययन र कामका लागि विदेश जान चाहने कारण विद्यार्थी संख्यामा गिरावट आएको उनले अनुमान गरे । प्राविधिक शिक्षामा विद्यार्थीको रुचि देखिएका कारण पनि सामान्य विषयमा घटेको हुन सक्ने उनले बताए । व्यवस्थापनको बीबीएसमा मात्रै करिब एक लाख विद्यार्थी अध्ययन गरिरहेका छन् । बीबीए, बीबीएम, बीआईएम, बीएचएमलगायत विषयका लागि मात्रै प्रवेश परीक्षाबाट विद्यार्थी छनोट गरिन्छ । स्नातक तहमा भर्ना हुने विद्यार्थीको संख्या घटे पनि स्नातकोत्तर तहमा नघटेको डिन कार्यालयले जनाएको छ । सम्बन्धनमा सञ्चालित निजी क्याम्पसमा विद्यार्थी अभाव रहेको डिन कार्यालयका एक प्राध्यापकले बताए ।त्रिविकै सबैभन्दा बढी विद्यार्थी चाप रहेको पोखराको पृथ्वीनारायण क्याम्पसका प्रमुख सरोज कोइरालाले विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा विद्यार्थी संख्या न्यून भइरहेको सुनाए । ‘पीएन क्याम्पसमा क्षमताभन्दा बढी विद्यार्थी भर्ना गर्नुपर्ने बाध्यता थियो, अहिले कोटा बराबर मात्रै भर्ना हुने अवस्था आएको छ,’ उनले कान्तिपुरसँग भने । गत वर्ष बीबीएसमा १ हजार ८ सय विद्यार्थी भर्ना भएकामा यसपालि १ हजार मात्रै भर्ना भएका छन् । एमबीएसमा गत वर्ष ६ सयले परीक्षा दिएकामा यो वर्ष ३ सय जना मात्रै भर्ना भएको क्याम्पसले जनाएको छ । पाटन संयुक्त क्याम्पसमा बीएस्सी, एमएस्सीमा वार्षिक एक सयभन्दा बढी विद्यार्थी भर्ना हुन्थे । गत वर्ष ४० विद्यार्थी मात्र भर्ना भए । यो वर्ष ४० जना पनि नपुग्ने अवस्था आएको क्याम्पस प्रमुख लक्ष्मणसिंह कुँवरले बताए । ‘सबैभन्दा बढी विज्ञानमा घटेका छन्, सोचेभन्दा धेरै विद्यार्थी अपुग हुने अवस्था छ,’ उनले भने । ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जका प्रमुख उमेशप्रसाद चौरसियाले व्यवस्थापनमा यो वर्षसम्म विद्यार्थी अभाव नरहे पनि विज्ञान र मानविकीमा विद्यार्थी घट्दै गएको बताए । ‘विज्ञान र मानविकीमा विद्यार्थी पाउनै मुस्किल छ । बीएस्सीमा मुस्किलले सय विद्यार्थी पुग्ने क्याम्पसको तथ्यांक छ । बीआईटीमा ३६ जनाको कोटा भए पनि १६/१७ जना मात्रै भर्ना हुन्छन्,’ चौरसियाले भने । व्यवस्थापन र मानविकीमा विद्यार्थी घटे पनि कोटा पूरा हुने अवस्था रहेको पाटनका प्रमुख कुँवरको भनाइ छ । ‘पहिले स्नातक सकेर विदेश जाने गर्थे, पछिल्ला वर्ष कक्षा १२ सकेपछि नै जाने बढी भए,’ उनले भने, ‘विद्यार्थी रोक्न र बढाउन सरकारले नै प्राथमिकता दिनुपर्छ ।’ शैक्षिक प्रणाली भद्रगोल भएका कारण स्वदेशमा अध्ययन गर्न रुचि नदेखिएको कुँवरको विश्लेषण छ । भर्ना क्षमताअनुसार विद्यार्थी नपुगेपछि त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातक तहमा गत वर्ष नै पुनः प्रवेश परीक्षा सञ्चालन गरेको थियो । त्यसो गर्दा पनि कतिपय क्याम्पसको कोटा पूरा हुन सकेन । संस्थानका सहायक डिन महेन्द्र महर्जनले सबैजसो क्याम्पसमा विद्यार्थी कम रहेको जानकारी दिए । नाम चलेको र पुरानो काठमाडौंको अमृत साइन्स कलेज (अस्कल) मा विज्ञान, प्रविधिका कतिपय विषयमा कोटा पूरा हुन सकेको छैन । ‘अस्कलले नै विद्यार्थी पाएको छैन, अरू क्याम्पसमा विद्यार्थी घटेका छन्,’ उनले भने, ‘गत वर्ष विद्यार्थी नपुगेर रि–इन्ट्रान्स गर्‍यौं, यो वर्ष पनि भर्ना हुने विद्यार्थीको तथ्यांक लिँदै छौं, अपुग भए परीक्षा लिएर भर्ना गर्नुपर्छ ।’ स्नातक तहमा पुनः प्रवेश परीक्षा लिनुपर्ने अवस्था आए पनि हालसम्म स्नातकोत्तर तहमा त्यस्तो अवस्था नरहेको डिन कार्यालयले जनाएको छ । नर्सिङ, बी–फार्मेसीलगायत विषयमा पनि कोटा पूरा हुन सकेको छैन । मेडिकल कलेजको एकै वर्ष दुई पटक प्रवेश परीक्षा गरेर विद्यार्थी भर्ना लिन पाउनुपर्ने माग सञ्चालकहरूको छ । चिकित्सा शिक्षा आयोगका पदाधिकारीले भने कुल कोटाभन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सफल भए पनि छात्रवृत्ति पाए मात्र भर्ना हुने प्रवृत्तिका कारण संख्या अपुग भएको टिप्पणी गरे । मेडिकल शिक्षामा गत वर्ष नै विद्यार्थी कम भएकाले प्रवेश परीक्षाको मापदण्ड परिवर्तन गरिएको थियो । नयाँ मापदण्डअनुसार ५० प्रतिशत विद्यार्थी भर्ना हुन योग्य हुने बनाइए पनि मेडिकल कलेजहरूको सिट खाली रहेको सञ्चालकहरूको भनाइ छ । पोखरा, पूर्वाञ्चललगायत विश्वविद्यालयका कलेजमा पनि इन्जिनियरिङमा समेत कोटा खाली जाने गरेको कलेज सञ्चालकहरूले बताए । त्रिविमा इन्जिनियरिङतर्फ विद्यार्थी संख्या घट्दै गए पनि कोटा नै खाली हुने अवस्था नरहेको डिन शशिधरराम जोशीले बताए । ‘आंगिकमा विद्यार्थी कोटा पूरा भएको छ, गत वर्षदेखि निजीमा अलि घटेको हो कि जस्तो देखिएको छ तर अभाव नै भयो भन्ने अवस्था छैन,’ उनले भने । ११ हजार जनाले प्रवेश परीक्षा दिएकामा डिन कार्यालयले ७ हजार जनाको सूची सार्वजनिक गरेको थियो । त्रिविमा इन्जिनियरिङ पढ्न साढे ४ हजारको कोटा तोकिएको छ । कोटाभन्दा बढी विद्यार्थी भर्ना सूचीमा समावेश भए पनि निजी कलेजमा भर्ना नहुने गरेका हुन् । पहिलो वर्षमा करिब तीन लाख विद्यार्थी स्नातक तह पढ्न योग्य हुन्थे । विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को गत भदौमा सार्वजनिक नतिजामा ४८ प्रतिशत अर्थात् १ लाख ७४ हजार विद्यार्थी मात्रै उच्च शिक्षामा भर्ना हुन योग्य ठहरिएका थिए । नतिजाअनुसार ५२ प्रतिशत अर्थात् १ लाख ८८ हजार विद्यार्थी ननग्रेडिङ (एनजी) मा परेका थिए । तीमध्ये १ लाख ३० हजारले ग्रेड वृद्धि परीक्षा दिन पाए, सबैले स्नातकमा भर्ना पाएनन् । एक कलेज सञ्चालकले विद्यार्थी संख्या घटेका कारण लगानी नै डुब्ने जोखिम बढ्दै गएको बताए । ‘नेपालका विश्वविद्यालयले सम्बन्धन दिएका कलेजमा विद्यार्थी भर्ना गर्न कोटा तोकिएको छ, विदेशी सम्बन्धनमा चलेका कलेजले जति पनि विद्यार्थी भर्ना गर्न पाउँछन्,’ उनले भने, ‘स्वदेशी कलेजमा तोकिएको कोटा पूरा गर्नै धौ–धौ छ ।’ राज्यकै नीतिका कारण विश्वविद्यालयहरू विद्यार्थीविहीन बन्न लागेको उनको गुनासो छ । अन्य विश्वविद्यालयको मेडिकल र व्यवस्थापन संकायमा पनि कोटाअनुसार विद्यार्थी भर्ना भएका छैनन् । काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेले समग्र उच्च शिक्षामा विद्यार्थी भर्नाको अवस्था निराशाजनक रहेको बताए । ‘करिब दुई लाख विद्यार्थी मात्रै उच्च शिक्षामा भर्ना पाउन योग्य भएका थिए, तीमध्ये पनि आधाजसोले विदेश जान एनओसी (वैदेशिक अध्ययन अनुमतिपत्र) लिएका छन्,’ उनले थपे, ‘यहाँका विश्वविद्यालयमा भर्ना हुने भनेका त्यही एक लाख हाराहारी विद्यार्थी हुन् । देशभरै विद्यार्थी कमी भएको छ ।’ विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजमा करिब २० हजार विद्यार्थी भर्ना भएको अनुमान छ । शिक्षा मन्त्रालयले मनोमानी सम्बन्धन बाँडेका यी कलेजमा भर्ना हुन प्रवेश परीक्षा दिनुपर्दैन । मापदण्ड नपुगेका कलेजबाट पढाइ पूरा गरेपछि त्रिविले समकक्षता दिने गरेको छ ।काठमाडौं विश्वविद्यालयमा कोटाको १९ प्रतिशत कम विद्यार्थी छन् । इन्जिनियरिङ, व्यवस्थापनमा चाप रहे पनि अन्य संकायमा विद्यार्थी न्यून रहेको रजिस्ट्रार वाग्लेले जनाए । ‘गुणस्तरीय शिक्षा नभएको र पढाइपछिको रोजगारी सुनिश्चित नभएको हुनाले विद्यार्थीको आकर्षण घटेको हो,’ उनले भने, ‘जसरी पनि विदेश जाने प्रवृत्तिले पनि विद्यार्थी घटेका छन् ।’ गत आर्थिक वर्षमा १ लाख १४ हजार विद्यार्थी विदेश पढ्न जान अनुमतिपत्र लिए । चालु आर्थिक वर्षको ७ महिनामा करिब ४१ हजार विद्यार्थीले विदेश जान अनुमति लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ । भारतमा उच्च शिक्षा लिनका लागि भने एनओसी लिइरहनुपर्दैन । पूर्वाञ्चल र पोखरा विश्वविद्यालय मातहतका कलेजमा पनि विद्यार्थीको भर्ना दर खस्केको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले इन्जिनियरिङ र मानविकी संकायमा निजी कलेजहरूमा कोटा खाली रहेको जनाए । ‘निजीको विस्तृत विवरण आइसकेको छैन, आंगिकमा भर्ना ठीकठीकै छ, कानुन र व्यवस्थापनमा सबैभन्दा राम्रो छ,’ उनले भने । देशभरका सबैजसो क्याम्पसमा भर्ना दर घटेको उनले बताए । अर्यालले भने, ‘मानविकी संकायमा जहिल्यै विद्यार्थी पुग्दैन, यो संकाय खारेज नै गर्नुपर्ने अवस्था आइसकेको छ ।’ पोखराका ८ आंगिक र ५८ निजी क्याम्पसमा ३० हजारभन्दा बढी विद्यार्थी छन् । पोखराको स्कुल अफ इन्जिनियरिङमा कोटा अपुग भएपछि पहिला आउनेलाई भर्ना गरिने सूचना विज्ञान तथा प्रविधि संकायले गरेको थियो । पूर्वाञ्चलको मेडिकल, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि संकायका कलेजले गत वर्षदेखि कोटाअनुसार विद्यार्थी भेट्न सकेका छैनन् ।

Like