मोहन र रेजिना कलाकारको अध्यक्षमा भिड्दै

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २९,

मुलुकमा नेपाली कलाकारको साझा संस्था चलचित्र कलाकार संघमा यतिबेला चुनावी सरगर्मी बढेको छ । संघको १९ औं महाधिवेशनको मिति (४ चैत) नजिकिँदै गर्दा नेतृत्वका आकांक्षीहरु चुनावी रस्साकस्सीमा छन् । महाधिवेशन ४ चैतमा हुने भए पनि शनिबार कार्यसमितिको विभिन्न पदका लागि उम्मेदवारी दर्ता तोकिएको थियो । जसमा अध्यक्षमा २, उपाध्यक्षमा ७, महासचिवमा ५, सचिवमा २, कोषाध्यक्षमा २, सहकोषाध्यक्षमा २ र सदस्य पदका लागि २६ जनाको उम्मेदवारी परेको छ । केही उमेम्दवार प्यानल सहित अगाडि आउने तरखरमा छन् भने कोही एकल प्रतिस्पर्धामा विश्वस्त देखिएका छन् । कतिपय भने राजनीतिक पार्टीको लाइन अनुुसार अगाडि बढ्नुपर्ने अवस्थामा छन् । कलाकार संघमा आफ्नो पक्षको नेतृत्व ल्याउन संघभन्दा बाहिर व्यक्ति पनि सक्रिय देखिएका छन् । केही दिनयता बागबजार, डिल्लीबजार, अनामनगर, ज्ञानेश्वर लगायतका क्षेत्रमा कलाकार झुन्डझुन्ड भेटिने गरेका छन् । जसमा चुनावी विषयमा छलफल हुने गरेको छ । त्यस्तै दुई उपाध्यक्ष पदका लागि धनबहादुर बम्जन (डीबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजाल गरेर ७ जनाले उम्मेदवारी दिएका छन् । एक उपाध्यक्ष सहित ३ मनोनित र एक निवर्तमान अध्यक्ष गरेर २१ जनाको कार्यममिति हुने कलाकार संघमा अहिले विभिन्न पद गरेर १७ जनाका लागि निर्वाचन हुन लागेको हो । जसका लागि विभिन्न पद गरेर ४६ जनाले उम्मेदवारी दिएका छन् । शनिबार कार्यसमिति निर्वाचनका लागि सबै उम्मेदवारको मनोनयन दर्ता गरेका हुन् । जसमा एक अध्यक्ष पदका लागि मोहन निरौला र रेजिना उप्रेती गरी दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् । एक महासचिवका लागि भने ५ उम्मेदवारी परेको छ । जसमा सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, पनाह अधिकारी र उत्तम केसी छन् । एक सचिव पदका लागि रामेश्वर बुर्लाकोटी र जीवन थापाको उम्मेदवारी परेको छ । त्यस्तै ७ सदस्य पदमा २६ जनाले उम्मेदवारी दिएका छन् जसमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, सञ्जोग राणा, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, लक्ष्मण चौलागाईं, रञ्जना खड्का, सुनिलकुमार पुरी, नम्रता खरेल, गोपीलाल तामाङ, दिलकुमार दोङ, पुकार भट्टराई, दिनेश अवाल, खिन्नबहादुर भण्डारी, रामशरण जंगम, रामकुमार कार्की, राजेश गोसाईं, सरिता राजोपाध्याय, नीतु कोइराला गौतम, ईश्वरबल्लभ उप्रेती, भीमसेन बजगाईं, समीर लामा तामाङ, निर्मल स्याङतान, बबिता ढकालले उम्मेदवारी दिएका छन् । यस्तै एक कोषाध्यक्ष लागि नोदकुमार भट्टराई र सुनिल कटुवाल र एक सहकोषाध्यक्षका लागि रोहित रुम्बा र पवित्रा आचार्यले उम्मेदवारी दिएका छन् । अन्ततः कलाकारको महाधिवेशनमा अध्यक्षका लागि मोहन निरौला र रेजिना उप्रेतीको भिडन्त हुने भएको छ । नेतृत्वका लागि दुई उम्मेदवार भएपछि आ–आफ्नो प्यानल खडा हुनु स्वाभाविक हो । एक प्यानलको नेतृत्व मोहन निरौलाले गर्दैछन् भने अर्काे प्यानलको नेतृत्व रेजिना उप्रेतीले गर्नेछिन् । अध्यक्षका उम्मेदवार मोहन निरौलाले आफ्नो प्यानलमा सदस्यबाहेक अन्य पदका लागि उम्मेदवार टुङ्गो लगाएको बताए । जसमा उपाध्यक्ष पदका लागि धनबहादुर बम्जन (डीबी), कविता गेलाल, महासचिवमा सबिन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्र्लाकोटी, कोषाध्यक्ष सुनिल कटुवाल र सहकोषाध्यक्ष पवित्रा आचार्य छन् । सदस्य पदका लागि भने टुङ्गो लाग्न बाँकी रहेको र छलफलमै रहेको निरौलाको भनाइ छ । कुनै एक पदका लागि दुईभन्दा बढी उम्मेदवारी समेत परेको छ । ती पदका लागि यी दुवै प्यानलमा नपर्ने उम्मेदवार भने स्वतन्त्र रुपमा चुनावी मैदानमा भिड्दैछन् । त्यस्तै अध्यक्ष पदकै उम्मेदवार रेजिना उप्रेतीको भने प्यानल अझै टुङ्गो लागेको छैन । उनी आफ्नो प्यानल टुङ्ग्याउने कसरतमा छिन् । आफ्नो प्यानल चैत १ वा २ गते सार्वजनिक हुने उनी बताउँछिन् । महासचिवमा उम्मेदवारी दिएका उत्तम केसी भने कुनै पनि प्यानलमा नरही स्वतन्त्र उम्मेदवार बन्ने बताउँदै आएका छन् । २६ सदस्य भने प्यानलमा रहने वा स्वतन्त्र उठ्ने भन्ने निश्चित भएको छैन । यीमध्ये पनि १४ जना दुई प्यानलमा अटाउने कोसिसमा छन् भने बाँकी स्वतन्त्र लड्ने भन्दै आफ्ना लागि भोट मागिरहेका छन् । उनको प्यानलमा दुई मात्र उम्मेदवारी परेका सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा मोहन निरौलाको प्यानलमा नरहेका उम्मेदवार जीवन थापा, नोदकुमार भट्टराई र रोहित रुम्बा रहने पक्कापक्की छ । उपाध्यक्ष मोहन निरौलाको प्यानलमा नगरेका शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजालमध्ये दुई छान्न उनलाई धौधौ परेको छ । त्यस्तै महासचिवमा पनि निरौलाको प्यानलमा नपरेका सञ्जय खतिवडा, धर्मानन्द आचार्य, पनाह अधिकारी र उत्तम केसीमध्ये एक जना छान्न गाह्रो परिरहेको छ । ४ चैतको महाधिवेशन भव्य बनाउन कलाकार संघले आन्तरिक तयारी सकेको छ । जसका लागि संघले वर्तमान कार्यसमितिका सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट पनि गरेको छ । महाधिवेशनका लागि स्काई दरबार पार्टी प्यालेस बुकिङ भएको छ । मञ्च व्यवस्थापनमा लागि संघका उपाध्यक्ष सानु ताम्राकारलाई जिम्मेवारी दिइएको छ । निर्वाचन कमिटीमा राजेन्द्र सलभ, शम्भु निरौला र बिजयरत्न तुलाधर छन् । महाधिवेशनको पहिलो सेसनका लागि अहिले अतिथिलाई निम्तो बाँड्ने काम भइरहेको संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।

Like