राष्ट्रपति अरू दललाई दिन ओलीजी मान्नुनै हुन्न प्रधानमन्त्री प्रचण्डले कांग्रेस शीर्ष नेतासँग भने:

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन ८,

मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताबीच राष्ट्रपति चयन बारे छलफल भएको छ। प्रधानमन्त्री र कांग्रेस नेताबीच आगामी राष्ट्रपति चयनका विषयमा खुलेरै कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ। कांग्रेस नेताहरूले विगतमा भएको समझदारी अनुसार राष्ट्रिय सहमतिको वातावरण मिलाउन राष्ट्रपति कांग्रेसबाट बन्नुपर्ने बताएका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला बालुवाटार गएका थिए। राष्ट्रपतिका आकांक्षी नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि राष्ट्रपति कांग्रेसबाटै हुनुपर्ने बताएका थिए। सभापति देउवाले कांग्रेसले वर्तमान सरकारलाई सघाएको भन्दै सत्ता साझेदार र संसदमा रहेका दलसँग सहमति जुटाउने पहल गर्न आग्रह गरेको स्रोतले जनाएको छ। कांग्रेस नेताहरूले नेकपा माओवादी केन्द्रले पनि राष्ट्रपति बारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका थिए। जवाफमा प्रचण्डले आफू दृढ भएर लागेको बताउँदै पार्टीको आधिकारिक निर्णय लिन पदाधिकारी बैठक बोलाएको र बैठकबाटै औपचारिक घोषणा गर्ने बताएका थिए। कांग्रेस नेताको कुरा सुनेपछि प्रधानमन्त्री प्रचण्डले आफूले सकेको प्रयास गरिरहेको बताएका थिए। प्रधानमन्त्रीको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘म एमालेसँग कुरा गरिरहेको छु। मेरो प्रयास जारी छ। मैले एमाले अध्यक्ष केपी ओलीसँग पटक पटक छलफल पनि गरेको छु। ओलीजी राष्ट्रपति अरु दललाई दिन मान्नुनै हुन्न।’ नयाँ राष्ट्रपति चयन गर्न आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ।

Like